मोहन शमशेरको सलामी र राष्ट्रिय लम्पसारवाद

नेहरुले भने, “३१ मात्रै होइन, मोहन शमशेरले जति तोपको सलामी चाहन्छन्, त्यतो भन्दा बढ्ता दिएर पनि यो सन्धी हुनै पर्छ ।”

मान्नुस् या नमान्नुस् तर संविधानलाई भारतले ‘स्वागत छ’ वा ‘बधाई छ’ भनिदिनु संविधान र स्थायीत्वको लागि अनिवार्य शर्त हो ।

विवादित १९५० को सन्धी हुँदा नेपालका तत्कालिन प्रधानमन्त्री मोहन शमशेर भारतको राजकिय भ्रमणमा गएका थिए । भ्रमणमा दुवै पक्षको विशेष चासो थियो । भारतलाई केहि दिएर भए पनि मोहन शमशेर राणा शासन जोगाउँन चाहन्थे । भारतका प्रधानमन्त्री जवाहर नेहरु जसरी पनि नेपालसँग भारतको यो दुरगामी सन्धी होस् भन्ने चाहन्थे । सन्धीका लागि भारत गएका मोहन शमशेरको अड्डी गरे । उनलाई पनि राजालाई जस्तै ३१ तोपको सलामी दिइयोस् । नत्र सन्धीवन्धी केहि हुने छैन । प्रोटोकलको समस्या भयो । कुरा नेहरुकोमा पुग्यो । नेहरुले भने, “३१ मात्रै होइन, मोहन शमशेरले जति तोपको सलामी चाहन्छन्, त्यतो भन्दा बढ्ता दिएर पनि यो सन्धी हुनै पर्छ ।” मोहन शमशेरले चाहे जति सलामी र सम्मान दिइयो । १९५० को सन्धी गरियो । मोहन शमशेर सलामीको सम्मानले दंग परे । नेपाल भने त्यसपछि भारतको अर्धऔपनिवेशिक मुलुक जस्तो भयो । नेपालले भारतलाई नसोधी अन्य मुलुकसँग सियो पनि किन्न नपाउँने भयो ।

जगजाहेर छ, भारतले हाम्रो संविधानलाई स्वागत र नेपालीलाई बधाई नगरिदिएकै कारण तराई मधेशमा आन्दोलनका समस्याहरु आएका हुन् । नत्र तराई मधेशका समस्या र मधेशी मोर्चाको आन्दोलनको टाढा टाढासम्म लिनुदिनु छैन । अत: मान्नुस् या नमान्नुस् तर संविधानलाई भारतले ‘स्वागत छ’ वा ‘बधाई छ’ भनिदिनु संविधान र स्थायीत्वको लागि अनिवार्य शर्त हो ।

अहिले सोच्छु, भारतिय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आएका छन् । हाम्रै राष्ट्रपतिको विशेष अनुरोधमा नेपाल सरकारले काठमाण्डौमा उनको सुरक्षा मिलाउँन पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म सरकारी बिदा दियो । काठमाण्डौका सडकमा कर्फ्यु लागे । सम्मान भन्दा निकै पर पुगेर नेपाल सरकार लम्पसारको स्थितीमा छ । प्रतिपक्षी दलहरु त्यसका विपक्षमा चुँसम्म नगरेर सरकारको लम्पसारलाई राष्ट्रिय सहमति बनाएका छन् । के यति लम्पसार परेर प्रचण्डको सरकारले नेहरुले चाहे जति तोपको सलामी दिएर सन्धीमा हस्ताक्षर गराए झै संविधानको स्वागत गराउँन चाहन्छ ? के त्यति पवित्र मनोभावको कुटनीतिक खेल होला त प्रचण्डको सरकार र प्रतिपक्षीको ? बिबिसीले भन्दै थियो, भारतका राष्ट्रपतिले पहिलो पटक संविधान निर्माणका लागि नेपालीलाई बधाई दिए । यसको लिखत कतै आयो ? कतै सार्वजनिकरुपमा मुखर्जीले बोलेका थिए ? मैले देखेको छैन । के बन्द कोठामा कुनै अमुक नेतासँगको कानेखुसीलाई यो बिदा, कर्फ्यु र राष्ट्रिय लम्पसारवादको उपलब्धी मान्न सकिन्छ ?

नेपाल सरकारकै एक वरिस्ठ अधिकारीका अनुसार यो भ्रमणमा कुनै पनि संयुक्त विज्ञप्ती निकालिने छैन । मुर्त राष्ट्रिय लम्पसारवादको उपलब्धी अमुर्त कानेखुसी मात्रै हुने भयो जसलाई सबैले आफ्नो स्वार्थ अनुसारका राग अलाप्ने छन् । आजैदेखि हेर्नुहोस्, केपी ओलीका भजनमण्डलीले भजन गाउँन थालेका छन्, भारतिय राजदुतावासको भोजमा नगएर ओलीले राष्ट्रवाद कायम गरे । तिनले चटक्कै बिर्सेका छन्, भोजमा गएकाले एमालेको पार्टी अफिसमा साँझ परेपछि ढोका लगाउँने मान्छे पनि कोही छैन । प्रचण्ड भजनमण्डलीको अतिथि देवो भव: को स्वर उस्तै उच्चो छ । तिनलाई सम्मान र लम्पसारको भेद पत्तो छैन । अनि कांग्रेस ? भो कुरा नगरौँ । प्रभुको पावन दर्शनले भावविभोर भएर अहिले बोल्न सक्ने अवस्थामा ति कोही छैनन् ।

अन्त्यमा, अब एउटै मात्र उपाय छ । कुनै पनि शर्तमा भारतिय राष्ट्रपतिबाट सार्वजनिक रुपमा वा लिखित रुपमा नेपालको संविधान स्वागत छ भन्न लगाउँने । कथमकदाचित यसो भयो भने नेहरुको स्थानमा प्रचण्ड हुने छन् र मोहन शमशेरको ठाउँमा प्रणव मुखर्जी । हाम्रो संविधानका बाधाहरु केहि फुक्नेछन् । हामी नेपाली चलाख ठानिनेछौँ । प्रचण्ड स्वयम र माओवादी केन्द्रका लागि पनि यो ‘वैतरणी’ तर्ने लगभग अन्तिम मौका हुन सक्छ ।

के बन्द कोठामा कुनै अमुक नेतासँगको कानेखुसीलाई यो बिदा, कर्फ्यु र राष्ट्रिय लम्पसारवादको उपलब्धी मान्न सकिन्छ ?

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)