त्यो रातो स्कुटी !

शनिबारको दिन थियो, चोकमा बसेर साथीलाई कुरी रहेको थिए । एउटा रातो स्कुटी टक्क रोकियो मेरो अगाडि । हेल्मेट खोल्दै एक सुन्दर युवतीले सोधी “दाई यता तिर कतै कोठा खाली भएको थाहा छैन तपाईलाई ?”

मैले पनि मेरो घर तिर देखाउदै भनिदिए “उ त्यो निलो घरमा जानु न, तल्लो फ्ल्याट पुरै खाली छ ।” उसले स्कुटी बटारी र लागि उतै तिर । उ अलिक पर पुगुञ्जेल मैले उसलाई हेरिरहेँ ।

साँझ घर फर्किदा आमाले भन्नुभो “ए कान्छा ! तेरो बाइक राख्ने ठाममा अर्को बाइक अट्छ त ? ” मैले बुझीहालेँ ।

मोरी फिक्स यही बस्ने भइछ । मनमा रातो स्कुटी रोकेर उसले मलाई सोध्दै गरेको सम्झिन थालेँ । “दिन त राम्रै रहेछ ।” होस सम्हाल्दै बोले, “अट्छ, अस्ती बिनोद दाई आउँदा सँगै राख्या हैन र ?

फेरि मनमा लाग्यो, पाहुना पो आउँन लागेका हुन् कि ? कन्फर्म गर्न आमालाई सोधेँ ।

“को पाहुना आउन लाग्या हो र ?”

“पाहुना, साहुना होइन । तल फ्ल्याटको एउटा कोठामा एउटी नानी बस्न आउने भइन्, उनको स्कुटर रहेछ राख्नु पर्‍यो नि ”

मैले नबुझे झै गरे, “ए ए, हुन्छ ।”

मन खुसीले मख्ख पर्यो । त्यै पनि थप कन्फर्म गर्न आमालाई सोधेँ, “कति जना बस्ने रहेछन् ?”

“बिहे नगरेकी केटी एक्लै बस्ने रे ।” आमाले बेलीबिस्तार लाउनु भो “घर ईलाम रहेछ । नर्स पढेर सकेको रे बिराटनगरबाट । जागिर यहीको अस्पतालमा परेछ । बिहेबारी नगरेकी केटी परिछ, केटाहरु आइराख्ने हुन् कि ।”

आमाले केटाहरु आइराख्ने हुन् कि भन्दा मनमा चसक्क भयो । आमाको र मेरो चिन्ता मिल्यो, अरु केटा पो आउँने हुन् कि । पहिलै लभ परिसेकको पनि त हुन सक्छ । तै पनि आमालाई भनेँ, “त्यति राम्री केटीका के धेरै केटा होलान् र केटाहरु भन्नु भएको नि । आमा पनि जो सुकैलाई शंका गरेर बस्ने ।”

“के भन्छ ? तैले चिनेको केटी हो र ? राम्री केटी भन्दै छस् ।” आमाले सोध्नु भयो ।

“कहाँ चिन्नु । नर्सिङ पढेर जागिर सम्म खाइसकेकी भनेपछि त राम्रै होला नि भनेर पो त । पढेर जागिर खाँदा लभ गर्ने फुर्सद के भयो होला र ?” आमाको र मेरो दुवैको मनलाई शान्ति मिल्यो ।

म कोठामा छिरे, आफ्नो अनुहार ऐनामा हेरे र मुसुक्क मुस्कुराउँदै भने – ‘दामी केटी घरमा बस्न आउँने भइ । अब केही हुन्छ ।’

भोलीपल्ट बिहानै म झ्यालबाट बाटो हेरिरहेको थिएँ । त्यही रातो स्कुटर हाम्रो घरमा आएर रोकियो । रातो स्कुटरको उनी पछिल्तिर थिइन्, हाक्ने एउटा केटो थियो । केटो देख्ने बित्तिकै मेरो मुखबाट फुत्कियो, “को भिलेन हो यो फेरि ।” धन्न सानो स्वरमा भनेछु, कसैले सुनेनन् । उनी अघि लागिन् भने केटो हेल्मेट नखोली पछि लाग्यो । दुवैजना हाम्रो घर भित्र झिरे ।

उनी र त्यो केटो माथि आएको मैले भर्याङको आवाज सुनेर थाहा पाएँ । मनमा सोचेँ, “केटोसँगै छ, के बाहिर जानु । एक्लै भएको भए पो यसो कुरा गर्दै लाइन हान्न पनि हुन्थ्यो । भिलेनको त्यो अनुहार हेरेर के लोदर लगाउँनु ?”

म भित्रैबाट सुनिरहेको थिएँ, उसले आमालाई नमस्ते आन्टी भनि । आमाले अनौठो मान्दै, उ बाबु चै को हो नि भनेर सोध्नु भयो ।

म भित्र कोठामा सुस्तरी बोलेँ, “ठिक्क पर्यो । आमाले भिलेनलाई आउँनै बन्द गर्दिए हुन्थ्यो नि ।”

उसले भनि, “मेरो दाजु, कोठा सर्न गाह्रो हुन्छ होला भनेर आजै इलामबाट आउँनु भको । अहिले चाबी लिइराखुम् भनेर । म भरे अफिस जानु छ । दाइले नै सबै काम सक्दिनुहुन्छ आजै ।”

त्यति सुन्नै बित्तिकै म कुदेर ढोकासम्म पुगेँ । तर झसंग सम्झेर फर्केर ऐनामा हेरेर कपाल मिलाएँ । र केहि नभए जस्तो गर्दै बाहिर निस्केँ । उसको दाईलाई पुलुक्क हेरेर मनमनमा भनेँ, “पछी ज्वाँई भनेर मेरो खुट्टा ढोग्ने निधार त राम्रै रहेछ ।” उनले पनि मलाई पिलिक्क हेरिन् र भनिन्,

“तपाईको नै पो हो घर ?” म लजाएँ । आमाले मलाई छक्क परेर हेर्नु भो । “हिजो बाटोमा कोठा खाली भएको घर सोध्दै हुनुहुन्थ्यो, मैले हाम्रै घर देखाइदिएँ ।” मैले आमालाई हेरेर भनेँ ।

म कोठामा पसेँ । उ आमासँग के के कुरा गर्न थाली र फेरि नमस्ते भन्दै बाटो लागी । मैले झ्यालबाट हेरेँ । दाईले स्कुटी हाक्यो । उ पछि बसि ।
साँझ पर्न लागेको थियो । म बाहिरबाट घर फर्के । उसको कोठाको ढोकामा पर्दा लगाएको थियो । मनमनमा भने, “आइछ । एक पल्ट भेट्नु पर्ला कि ।” ढोका छेउमा पुगेपछि लाग्यो, “आएकै दिन बिनाकारण गयो भने त भाउ नै दिन्न नि । जान हुन्न त्यसै त ।” माथि कोठामा पुगेपछि आमाले भन्नुभयो, “ति नानीलाई गेटको एउटा चाबी दे त । अघि बाबाले बनाएर ल्याइदिनु भएछ । पहिले बसेकासँग चाबी फिर्ता माग्नै बिर्सिएछ ।”
“आइसकि र ?” मैले आमातिर हेरेँ । आमाले मलाई गिज्याउँदै बोली बिगारेर भन्नु भयो, “आइसकि र ? अघि तलबाट आउँदा देखिनस् ढोकामा पर्दा ।”

“खोइ, मैले त यादै गरिनँ” भन्दै म चाबी बोकेर उसको ढोका ढक्काएँ । उसले ढोका खोली । घर बस्ने लुगामा बिछट्टै राम्री देखिएकी ।
चाबी दिदै मैले भनेँ, “हाइ म बिकेश । यो गेटको चाबी ।”

उसले मलाई देखेर मुस्कुराइ र भनी “अस्ती कोठा देखाइदिदा थ्यांक्यु सम्म पनि भनिन । आज डबल थेन्क यु, बाइ द वे – म स्मिता” ।
“होइन थेन्कयु भन्नु पर्दैन, इट्स ओके ।”

म आफु बाटो लागे, घर छेलिएपछि चुरोट निकाले र जलाए । उसको अनुहार आँखामा आइरह्यो । घर फर्किदा उसको ढोका हेरेको बन्द नै थियो, मात्र पर्दा झुन्डिरहेको थियो ।

म फाइनान्समा काम गर्थे – उनको मेरो घरबाट निक्लने समय र आइ पुग्ने समय उस्तै । थोरबहुत बोलचाल हुन्थ्यो ।

शनिबारको दिन थियो । घरमै थिएँ म । उ पनि सायद घरमै थिइ । फेसबुकमा सर्च मारेर एड गरे, रिक्वेस्ट पठाको २ सेकेण्डमा एसेप्ट भो ।

“ओहो, हाउ फास्ट ।” मैले लेखेँ ।

“म पनि अनलाइन थिए नि त, घरबेटी साप ।” उसले इमोजी थप्दै लेखि ।

“के को घरबेटी नि । यो घरकी बुहारी तिमी नै त हौ ।” तर म्यासेजमा चै लेखे- घरबेटी रे हाहा, यस्तो भन्न नपाई । यो तपाईको पनि घर हो ।

“के रे ? नहसाउनु न ।” उसले कुरा बुझि क्यारे ।

मुख खोलेँ, “आज शनिबार राम्रो टाइमपास हुने भो ।” थप रमाइलो कुरा गर्न टाइप गर्दै थिएँ । उतैबाट आयो म्यासेज, “म बिजी छु । पछि कुरा गरुम् है ।Have fun.” फेरि पनि लास्टमा इमोजी आयो ।

मैले मन नराम्रो पार्दै ओके मात्रै लेखेँ ।

साँझमा म छतमा लुकेर चुरोट पिइरहेको थिएँ । उ अगाडी आइपुगिछ । म तर्सिएर हातको चुरोट फुत्तै फ्यालेँ । उ खितितिति हाँसी ।

“तपाई पो । म त बाबाआमा होला भनेर ।” मैले भनेँ ।

“ए लुकी लुकी पो डढेलो लगाउँदै ?” उसले व्यंग्य गरि ।

म फिस्स हासेँ मात्रै ।

सुकाएका लुगा उठाएर उ हिड्न लागेकी थिइ । मैले भने “छतबाट हेर्दा त शहर पनि कति राम्रो देखिन्छ ।” अँ भन्दै मेरो नजिक आएर उभिइ । उ त्यो तपाईको अस्पताल, उ त्यो फिल्म हल भन्दै मैले ठाउँहरु चिनाउँन थालेँ । “तपाई कता कता घुम्नु भको छ ?” मैले सोधे

“मैले त यहाँबाट एउटै ठाउँमात्रै चिनेँ ।” उसले भनि ।

“कुन ?” मैले सोधे ।

“पानी ट्यांकी ।” उसले नगरपालिकाको पानी ट्यांकी तिर देखाउँदै हासी ।

हामी निकै बेर के के यस्तै गफ गरेर बसिरह्यौ ।

फेसबुकमा हाम्रो च्याटिङ बाक्लिन थाल्यो । एकदिन फेसबुकमै उसले नयाँ फिल्म आएको रहेछ भनि । मैले हेर्न जाने हो भनेर सोधे । उसले हुन्छ भनि ।

त्यो दिन फिल्म सँगै हेरियो । रेस्टुरेन्टमा सँगै खाइयो । आमाले थाहा पाउँनु हुन्छ भनेर उसलाई पठाएर केहि बेरमा म घर फर्के । उसले ढोका खुल्लै राखेकी रहिछ । पक्कै मेरै लागि थियो खुल्ला ढोका । ढोकाबाट चिहाएर हेरेको खाना पकाउँदै रहिछ । म नदेखिकनै माथि गए ।

त्यसपछि क्रमश: हामी सँगै हुन थाल्यौँ । च्याटमा पनि उत्तिकै व्यस्त हुन थाल्यौँ ।

दुइ महिना पछाडी होला ।

एकदिन आँटैले च्याटमा लभ यु को स्टिकर पठाएको थिएँ । उता बाट लभ यु‍ टु लेखेरै आयो ।

“हैट, के पठाउँछे यो केटी” आफैलाई विश्वास भएन । च्याटमा सोध्न पनि मन लागेन । के कुरो रहेछ टुंगो गर्न सामान्य हुदै उसको कोठामा पुगेँ ।

म भित्र पुग्ने बित्तिकै उसले ढोका लगाइ र खुसी हुँदै भनि, “पार्टी गर्ने हो ?”

“किन ?” मैले अचम्म मान्दै सोधेँ ।

“हाम्रो लभ परेकोमा ।” उसले हास्दै मलाई हेर्दै भनि ।

मैले आफुलाई रोक्नै सकिनँ । उसको दुवै गालामा हात राख्दै उसलाई आफुतिर तानेँ । उ सहजै निहुरिदिइ । मैले निधारमा चुम्बन गरेँ । उसले मलाई अंगालोमा कसी । मैले उसलाई पटक पटक आइ लभ यु भने । उसले जवाफमा उति नै पटक आइलभ यु टु भनिरहि । मैले बाहिरबाट खाना लिएर आएँ । उसले मैले सँगै उसकै कोठामा मिठो चाउमिन खाएर हाम्रो लभ परेको पार्टी गर्यौँ ।

त्यसपछि आमा बाबालाई झुक्याएर म उसको कोठामा गइरहेँ । उ पनि केहि बहानामा मलाई भेट्न आइरहन थाली । हामी हाम्रा बाबाआमाले थाहा पाउँलान् भनेर एकदमै सजग थियौँ ।

हामीले लभ परेको पार्टी गरेको २ महिना पछि हुनु पर्छ । एकदिन बाबाले भन्नु भयो, “ तल्लो फ्ल्याट पुरै लिने मान्छे आका छन , ति नानीलाई अर्कै तिर सर भन्नु पर्‍यो ।”

म झस्किएँ । केहि बोलिन ।

आमाले मेरो मुख तिर हेर्नु भो र हाँस्दै भन्नु भो “ति नानीलाई अर्कै तिर चाँही होइन, माथि तिर चाँही सर भन्नु पर्ला ।”

आमाको कुरा सुनेर म त तिन छक्क परेँ । “आमालाई कसरी थाहा भयो” मनमा सोचेँ ।

आमाले मलाई जिस्काउदै भन्नुभो “मलाई सबै थाहा छ । राम्री केटीसँग परेको छस् । छिट्टै बिहा गर्नु पर्छ । उसलाई भनेर कहिले माग्न जानु भन्ने टुंगो गर् लठुवा ।” आमाले लठुवा पनि कति मिठो गरेर भन्न सक्नु हुन्छ । म खुसी र अचम्ममा केहि बोल्नै सकिनँ ।

घरमा डेरा बस्न आएकी उ आज त्यही घरकी बुहारी छ । उसँग म एकदमै खुसी छु । एकाबिहानै म उठ्न अल्छि गर्छु र उसले बनाएको चिया त्यसै चिसो हुन्छ । उसले चिया चिसो भएको थाहा छैन भनेर सोध्दा उहि पहिलो भेटमा उसले सोधेको सम्झन्छु, “दाई यता तिर कतै कोठा खाली भएको थाहा छैन तपाईलाई ?”

परिकल्पना र कथा Bikram Acharya र पटकथा लेखन म, एउटा कथा पुरा गर्यौँ । कस्तो भयो कुन्नी ?

One Comment

  1. mangal daydreamer says:

    dherai ramailo 🙂 felt like a chapter from a good Novel !!!

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)