देशप्रेम : बलभद्र कुँवरको विनिर्माण – निबन्ध

“तपाईलाई त देशको माया साह्रै धेरै लाग्छ नि !” एकजना भाउजुले भन्नु भयो ।

साथीको कोठामा आयोजना गरिएको सानो पार्टीमा सरिक हुन गएको थिएँ । कुरै कुरामा देशका कुरा निस्के । देशका के भनौँ, राजनीतिका कुरा निस्किए । नेताका कुरा निस्किए । सबैले बोलिरहेका ठाउँमा मैले पनि केहि थान बोली थपथाप पारेँ ।

म ‘सामाजिक साइट’ तिर पनि व्यक्तिगत कुरा भन्दा सामाजिक कुरा बढि गर्न मन पराउँछु । जमघटमा पनि लगभग त्यस्तै हो । हाम्रा कुराका सामाजिक बिषयहरुमा राजनीतिक भन्दा नजिक र सजिलो अर्को केहि हुदैन । टाढा अनि अस्पष्ट देखिने धमिला कुराहरु नियाल्ने फुर्सद म जस्तो स्तरका मान्छेलाई सजिलै मिल्दैन । सजिलोको लागि पनि म त्यहि नजिकका कुरा बढि गर्छु । मेरो बसिबियाँलो पनि त्यही हो ।

यसैले भाउजुले ठान्नु भयो सायद, मलाई अरुलाई भन्दा देशको माया अलिक बढि नै लाग्छ । तर देशको माया गर्नु र फगत: नेताका र राजनीतिक कुरा गर्नुमा कति फरक छ ।

भाउजुले ठट्टै ठट्टामा भन्नु भयो होला भनेर मैले भाउजुको प्रश्न वास्ता गरिनँ । गफले अर्कै बिषय समातिसकेको थियो । भाउजुलाई हेरेँ, उहाँ त जवाफ पर्खिए झै मैतिर हेर्दै हुनुहुँदो रहेछ ।

मैले के जवाफ दिने ?

देश भने पछि मरिहत्ते गर्छु भन्दिउँ ? मैले अहिले टेकिरहेको जमिन त आफ्नो देशको होइन फेरि । म अहिले नर्बेको राजधानी ओस्लोमा बस्छु । किन छोडिस् त त्यस्तो माया लाग्ने देश भन्ने अर्को प्रश्न जोडिएला । देशको माया गर्दिनँ भन्दिउँ ? शरिर मात्रै यहाँ छ, मन त ‘प्लेन’ नै चढेको थिएन । ‘एयरपोर्ट’को ढोकैबाट फर्कियो सायद । तर त्यो फर्किएको देशको लागि थियो कि घर परिवार, इष्टमित्र वा मायालुको लागि थियो ? अथवा, ‘ल अफ इनर्सिया’ यहाँ पनि लागू भयो ? परिवर्तन समात्न नसकेर मन जहाँको त्यही अडियो र म सरक्क हिडिदिएँ । मन त्यही लडिरह्यो, कुदिरहेको बाहन एक्कासी रोकिदा उभिएको मान्छेको शरिरमात्रै अगाडी धकेलिदा मान्छे लडे जस्तो ।

म जान्दिनँ ।

प्रश्न गर्न असाध्यै सजिलो छ, सजिलो गरि प्रश्न गरिदिने हो भने । तर ति सजिला प्रश्नहरुले जवाफ दिनेलाई भने निकै गाह्रो बनाइ दिन्छन् । खासमा सजिला प्रश्नहरुको विशेषता नै यही हो । सजिला प्रश्नहरु यति गजबका हुन्छन् कि परिक्षामा तिनै प्रश्नलाई कहिले २ नम्बर आउँने गरि र कहिले ५ नम्बर आउँने गरि र कहिले १० नम्बर आउँने गरि सोध्न सकिन्छ । समस्या त जवाफ लेख्नेलाई पर्ने हो । कति लेख्ने र कहाँबाट सुरु गर्ने र कहाँ लगेर सकिदिने ।

म सम्झिन्छु, सजिला प्रश्नहरुले मैले निकै पटक सरहरुलाई हायलकायल पारेको छु । कक्षामा सरले भर्खर इतिहास पढाइसक्नु भएको थियो । बलभद्र कुँवर, अमरसिंह थापा, नालापानीको युद्ध, अंग्रेज, तिब्बत यस्तै धेरै धेरै शब्दहरु र अन्तिममा देशप्रेम । सबै विद्यार्थीहरु रोमाञ्चित भइ गोर्खालीका पराक्रम सुनेर बसेका छन् । मलाई भने नजानिदो सकसक सँधैको । म उभिएर सोध्छु, बलभद्र कुँवर र अमरसिंह थापाहरु बिना तलब देशप्रेम भन्दै देशका लागि लड्थे कि तलब पनि लिन्थे ? तलब कम भयो भनेर गनगन गर्थे कि गर्दैनन् थिए ? तलब नै नपाएका भए के गर्थे होलान् ? तलब नपाए युद्ध नै नलड्ने भए तिनको बहादुरी देशका लागि थियो कि तलबका लागि ? नालापानीको युद्धमा महिलाहरुले किन छोराछोरी घरमै छोडेर नआएका ? छोराछोरीको माया भन्दा धेरै लाग्छ देशको माया ? कक्षा सकेर निस्किन हतार गर्दै गरेका सरको अनुहार दुरुस्तै त्यस्तै भयो, जस्तो भाउजुको प्रश्नले मेरो अनुहार भयो होला । उभिएर एकछिन मेरो अनुहारमा घोरिएर सर निस्कनु भयो ।

यति लामो समय खाली छोडेर मैले गरेको प्रश्नहरु जवाफ खोज्दै आज म तिरै सोझिएका छन् । आज, व्यक्तिगत वा सामाजिक कारणहरुले विदेशीएको मलाई बलभद्र कुँवर र अमरसिंह थापाहरुले तलब या त्यस्तै केहि लिएर मात्र युद्ध लडे होलान् भन्ने ठोकुवा गर्न गाह्रो पर्दैन । बलभद्रहरु केवल तलबकै लागि मात्रै युद्ध लडेका थिए भनेर कुनै इतिहासविदले प्रमाणित गरिदिए पनि मेरो मनमा बलभद्रप्रतिको सम्मान घट्दैन । नालापानीको युद्धमा किन छोराछोरी साथै लिएर महिलाहरु युद्ध लडे भन्ने जवाफ त सायद मैले पहिले नै पाएँ, जब पहाडमा चिप्लेभिरको टुप्पामा पिठ्युमा नानी बाधेका आमाहरु खर काट्दै गरेको देखेथेँ । जब अघिल्तिर नानी र पछिल्तिर दुइ दिन लाइन लागेर पाएको पाँच किलो चामलको पोको बाँधेर तुइनमा झुन्डिदै गरेकी अर्की आमा देखेथेँ । के वास्तविकता र रोमाञ्चकताको यो खाडलले देखाउँन सक्दैन होला, देशप्रेम र एयरपोर्टमा लाम लागेका म जस्ता युवाहरुको फरक ?

यो उत्तर आधुनिक समाजमा प्रबिधीले साँघुर्याएर विश्वलाई सानो गाउँ बनाइदियो । तर यहि उत्तर आधुनिक समाजको महत्वकांक्षाले घरलाई तन्काएर देश बनाइदियो । घर चलाउँनु देश चलाउँनु भन्दा कम गाह्रो छ र ? विश्व बैंकका ठुला किताबहरुमा अर्थतन्त्रका रेखाचित्रहरु म बुझ्दिनँ । भ्रष्टाचारले थिलथिलो भएको देशमा किन खोलिएका उद्योगहरु बिक्री हुन्छन् र नयाँ खोल्न सकिदैन, म थाहा पाउदिनँ । हाम्रो स्वास्थ्य, शिक्षा र पुरै हामी कसरी प्रयोगशालाको भ्यागुतो जस्तो बनेका हौँ, थाहा छैन । बरु यी सबै भन्दा प्रस्ट देख्छु, मेरो आफ्नो साहुको रिन र त्यसको अकासिदो ब्याज । कलेजो बिरामी भए उपचार गर्न मृगौला बेच्नु पर्ने स्थिती । पढिसकेको भोलीपल्ट देखि बेरोजगार भइने कोराज्ञान । बाली लगाउँदा, हुर्काउँदा र उठाउँदा लागेको रिन तिर्न देखिने अर्को बर्षको बाली सप्रिने सपना ।

मेरो हिसाब मिल्दैन, मैले बगाएका पसिना र रगतले यहाँ बढि भाउ पाउँदैछन् कि आफ्नै देशमा पाउँथे ? बेला बेला गाउँहरु रित्ता भएका खबर सुन्छु । लाश बोक्न लोग्ने मान्छेहरुले मात्रै नपुगेर स्वास्नी मान्छेहरुले काँध थापेको फोटो समाचारमा देख्छु । मेरै घर छेउमा खड्काकी कान्छी छोरी आफै हलो बोकेर गोरु सहित खेतमा पुग्छिन् अरे । ‘लोग्ने मान्छेले जस्तै मेलो सक्छे’ भन्ने खबर पनि अब त पुरानो भइसक्यो । समाज यस्ता कुरामा बानी पर्यो ।

म जान्दिनँ, यी फेरिएका कुराहरु बाध्यताबश भए कि समयको माग नै यहि थियो ! भर्खर देश छोडेकाहरुले निकै पहिले देश छोड्नेहरुलाई गरिने सामान्य प्रश्न गर्नु भयो भाउजुले । यसरी नै केहि बर्ष पछि जब भाउजुले देश छोडेको लामो समय भइसक्छ र नयाँ आगन्तुकले यहि प्रश्न गर्छ, त्यसबेला भाउजुको जवाफ के हुन्छ होला ? म भाउजुको प्रश्नले मनमनै एकोहोरिए जस्तै नव आगन्तुकको प्रश्नले भाउजु एकोहोरिनु होला नहोला । मैले देशको ढुकुटी र टोपी बचाएको छु भन्ने तर्क सोचे जस्तै भाउजुले सोच्नु हुन्छ हुन्न । तर यति चै निश्चत छ, देशको अंश अलिकति मात्रै मनमा रहिरहदासम्म (जुन पुर्णरुपमा हट्न सम्भव नै छैन ।) पुरानाले नयाँ देख्दा चुकचुकाउँने र नयाँले पुराना देख्दा डराउँने भने भइरहनेछ । मनमा कायरताको तुष आफ्नै देश नफर्कुञ्जेल खिल जस्तै मनमा रहिरहनेछ ।

म कहिलेकाँही बलभद्र कुँवरहरु भएर सोच्छु । उनीहरुले लडेका हरेक युद्धहरु त्यसपछि विरतास्वरुप पाइने उपहारहरुले लडाउँथे भन्ने निष्कर्षमा पुग्छु । उपहार कम र बढिको अर्थ हुन्थ्यो, जितेका भागहरुमा कम र बढि लुटपाट, कम र बढि हिंसा । र सायद उनीहरुको युद्धमा बिल्कुलै फरक किसिमले देशको माया थिएन । थियो भने पनि हामीले पढ्ने गरेको जस्तो तिलस्मी र निष्काम त कुनै पनि हालतमा थिएन ।

किन किन मलाई बलभद्र कुँवरहरुको देशप्रेमको कथा र मैले विदेशबाट बाआमालाई उपचारका लागि पठाएको पैसाले देशको अर्थतन्त्र धानिएको छ भनेर लेखिएको प्रतिवेदन उस्तै लाग्छन् । मुख्य उद्देष्यलाई असरल्ल छोडेर ‘बाइप्रोडक्ट’मा रमाए जस्तो । मकैको घोगो बारीमै छोडेर ढोड मात्रै बटुलेर हिडे जस्तो । कान्लामा भएको रुद्राक्षको रुख हेरेर खोले पकाउँने दाउरा प्रसस्त देखे जस्तो ।

म दुरुस्त भन्न सक्दिन तर आजको युगमा भन्न सक्छु, तिनीहरुले आफ्नै घरलाई देश भनेका थिए र देशलाई घर । युद्ध जितेपछि पाएको उपहारमा वा लुटेको धनमा तिनले पनि देख्थे होलान् – छोराको भविष्य, प्यारीको खुसी, बाउआमाको आशिर्वाद । उसरी नै जसरी म हरेक महिनाको तलबमा कलेजो बिग्रिदा मृगौला बेच्न नपरेको देख्छु, साहुको रिनको रेखाचित्र ओरालो झरेको देख्छु, र देख्छु कोराज्ञानले उभ्याएको अनुभवको अकासिदो सिँढी, जहाँ म टुकुरटुकुर उक्लिदैछु सिंगो घर बोकेर ।

अनि सोच्छु, बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापाहरुको र मेरो देशभक्तीमा के फरक छ ? बेला बेला आफ्नै भोगाइ एउटा युद्ध जस्तो भएर आउँछ । पानीको मुहान थुनिदिएको नालापानीको युद्ध । म त्यस्ता युद्ध पटक पटक लड्छु । कहिले जितेर झन्डा फहराउँछु र कहिले हारेर हातमा नांगो खुकुरी टल्काउँदै किल्ला छोड्छु । फरक यति हो, यो युद्धमा हामीले बोल्ने ‘किवर्डहरु फेरिएका छन् । ‘हर हर महादेव’, ‘जय भद्रगाली’, ‘जय गोरखाली’ ‘सिमाना’ ‘जय पराजय’ हरुको सट्टामा हामी ‘ब्रेनड्रेन’, ‘भिसा र पर्मिट’ ‘प्रमोसन र कम्पनी’ आदिआदि भन्ने गर्छौँ । विश्व बैंकका ठुला प्रतिवेदनहरु पल्टाउँने हो भने, आधुनिक राज्यका स्वभिमान र सिमानाहरु केलाउँने हो भने, प्रोफेसर डेभिड स्टानर्डहरुका कुरा पत्याउँने हो भने, कुनै पनि देशको स्वभिमान र सिमानाहरु उसले अर्थतन्त्रले जोगाउँछ र भत्काउँछ । मुख्य उद्देष्यलाई एक छिन बिर्सेर फेरि पनि ‘बाइप्रोडक्ट’मा आधारित हुने हो भने, मैले पठाएको पैसाले देशको स्वभिमान र सिमानाहरु जोगिएका छन् । भने, म बलभद्र कुँवर जस्तै देशभक्त कसरी होइन ? भाउजु, अझै पनि चित्त बुझेन भने जानु र हेर्नु, मुठ्ठी भर्ने सपनामा आफु स्वयम् काठका बाकसमा भरिएर आउँने देशभक्तहरु । के तिनको मरण युद्धमा विरगति पाए भन्दा कम छ ? यी देशभक्त होइनन् भने म पनि देशभक्त होइन र, बलभद्रहरु पनि देशभक्त होइनन् ।

मेरो देशको माया ठुलो, अजंग र मैले उठाउँनै नसक्ने छैन । मनमा दुख्ख परेको बेला आँखा चिम्लेर आफु हिडेको देशको बाटो सम्झिदा एउटा अचम्मको शान्ती छाउँछ । म यहाँ विदेशमा हरेक दिन जसो एक पटक आँखा चिम्लेर गाउँको बजारबाट घर र घरबाट बजार पुग्छु । यहाँ पाएको हरेक महिनाको तलबलाई नेपालीमा रुपान्तर गर्न क्यालकुलेटर थिच्दा, लाग्छ, म आफ्नै जमिनमा मलजल गर्दैछु, जो म पछिको पुस्ताको समयमा फल्न र फूल्न सक्छ । मेरो देशभक्ति सजिलो छ । फूल जस्तो छ । ओइलिएर झरे पनि त्यही बोटका लागि मल बन्ने ।

र, मैले यहाँ लेखेका कुनै पनि कुरा असत्य र बनावटी छैनन् । भाउजु, सायद यहि हो, ‘देशको माया’, म भित्र बाँचिरहेको । म सँधै यसरी नै देशको मायाको कुरा गरिरहेको हुन्छु, समय समयमा शब्दहरु फेरिने मात्रै हुन् ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)