स्वाभीमान, हार र जितहरु !

—हरिहर शर्मा—

तिहारको बेला थियो, हामी साथीहरु मिलेर तास खेल्दै थियौँ । खेल्दै जाँदा खेलले रमाइलोभन्दा पनि प्रतिस्पर्धा र जितहारको रुप लिन लागिसकेको थियो । ‘’फ्लास’ खेल्दै गरेका हामीमध्ये कतिको गोजी भरिँदै थियो भने कति खलास हुँदै थिएँ । मेरो हालत पनि खस्कँदै गइरहेको थियो । त्यत्तिकैमा मलाई ठूलो ‘दाउ पर्‍यो । खासै स्तरीय तास नआएको अभिनय गर्दै म लगातार चल्दै गएँ । त्यो दाउको अन्तमा म र एकजना अर्को साथी मात्र बाँकी रह्यौँ । चल्दै जाँदा थाहा भयो, मसँग त ‘’सो’ गर्नका लागि समेत पैसा बचेनछ ।

दाउ खानेमा म ढुक्क थिएँ, त्यति राम्रो तास थियो । त्यसैले अर्को एकजना साथीसँग ‘’सो’ गर्नका लागि पैसा मागेँ । तर उसले जितेको पैसामध्ये आधा आफूले पाउनुपर्ने सर्त राख्यो ।
आफ्नै साथीले यस्तो सर्त राख्दा मलाई धेरै नै बेमज्जा लाग्यो । जितेको पैसा आधा उसलाई दिँदा पनि केही फरक पर्नेवाला थिएन, दाउ त्यति ठूलो थियो । तर मेरो स्वाभीमानले मानेन । मैले केही नबोली तास हापिदिएँ र चुपचाप त्यहाँबाट उठेँ । ‘‘ऐ…जोक पो गरेको त !’ भन्दै मेरो साथी मलाई फकाउन वरसम्म आयो । म एकोहोरो हिड्दै गएँ ।

‘जुवा कभी किसिका ना हुवा’, अपेक्षाविपरित साथीको ‘’स्वार्थी’ व्यवहारको शिकार भएको त्यो बखत मलाई वुवाले भन्नुभएको यो भनाइ याद आयो । घरमा रमाइलो गर्नका लागि तास खेल्दा ‘’कहिले पनि जुवा नखेल्नु है’ भन्दै वुवा सधैँ यसो भन्नुहुन्थ्यो । त्यो दिनको घटनाले म मा ठूलो प्रभाव पार्‍यो, नकारात्मक र सकारात्मक दुवै । त्यो घटनापछि मैले एकजना साथी गुमाएँ । खुशीको कुरा, मैले त्यसपछि कहिले पनि जुवा खेलिनँ । दसैँतिहारको बेलामा घरपरिवारमा सीमित भएर कहिलेकाही खेलिने तासको कुरा बेग्लै !

*** *** ***

यो घटना वर्षौ पहिलेको हो । स्वाभीमानका कारण जितेर पनि हार खेपेको अतितलाई स्वाभीमानकै कारण हारिएको वर्तमानको एक अर्को घटनाले स्मरण गर्न बाध्य पार्‍यो । घटना मेरो एकजना साथीको साँचो अनुभव हो । उसले हातमै लागिसकेको सफलतालाई आफ्नै स्वाभीमानका कारण गुमाएको थियो । केही समय अगाडि एउटा राम्रो ठाउँमा जागिर खाने उद्देश्यले उसले परीक्षा दिएको थियो । लिखितमा पास भइसकेपछि अन्तर्वार्ताका लागि उसले ‘’पर्याप्त’ भनसुनमा लाग्नुपर्ने बुझेछ । भनसुनसँगै नगदनारायण पनि चाहिने रे !

जागिर खानका लागि घुसस्वरुप दिनुपर्ने रकम ठूलो थियो । तर त्यो रकम जागिर पाइसकेपछि हुने आम्दानीको तुलनामा नगण्य थियो । परिवारका सबै सदस्य सकारात्मक रहेछन् । पढेलेखेको जवान छोरो घरमा विना काम बसेको देख्दा मेरा साथीका बुवाआमालाई धेरै पीर थियो । वहाँहरु पैसा दिन तयार हुनुभयो । जागिर पाउने वित्तिकै उसको विवाह गर्ने सोचमा हुनुहुन्थ्यो वहाँहरु । तर ऊ थियो एक, सबैका सपनामा पानी फाल्ने, अरुहरुकै शब्दमा बेकम्मा मान्छे ! उसले कुनै हालतमा घुस दिएर जागिर नखाने अडान राख्यो ।

ऊ चाहन्थ्यो, ‘म जागिर खाउँ ।’ तर चाहन्नथ्यो, जागिरले उलाई खाओस् । हाम्रो देशमा त्यस्तै त हुने गरेको छ । बेरोजगारहरु सात/आठ हजारमा आफ्नो क्षमता, समय र स्वाभीमानलाई बेच्न तयार हुन्छन् । (दोस्रो विकल्प पनि त हुँदैन !) तर ऊ भने तयार भएन । ऊ बाँच्न चाहन्थ्यो किनकि ऊ जिउन चाहन्थ्यो । अर्थपूर्ण जीवन जिउनका लागि जीवन बाँच्न पनि जरुरी हुन्छ । तर जीवन जिउनुसँग ऊ कुनै सम्झौता गर्न चाहन्नथ्यो, जीवन बाँच्ने नाममा । उसको विचारमा जीवन बाँच्नु र जिउनु फरक–फरक कुरा हुन् ।

उसको अडानले परिवार मात्र होईन, आफन्तजन पनि रिसाए । ‘’कि आफै सक्नु, कि अरुले भनेको मान्नु’ भन्नेजस्ता तिखा वचन पनि उसले सह्यो, फगत स्वाभीमानका नाममा । त्यति ठूलो प्रतिभा भएको मान्छे त थिएन ऊ । तर डिस्टिङ्सन र प्रथम श्रेणीको सदावहार विद्यार्थी थियो । यसरी भनसुन र घुसविना जागिर नपाउने स्थितिले उसलाई आफ्नै प्रतिभामाथि शरम गर्नुपर्ने अवस्थामा पुर्‍यायो । यो घटनाको धेरै दिनसम्म त ऊ आफ्नो कोठाबाट बाहिर निस्केन । घरमा खाना खाने बेलामा समेत ऊ कसैसँग बोल्दैनथ्यो ।

ऊ गुम्सिएर बस्न थाल्यो । उसलाई लाग्न थाल्यो, परिवार, आफन्त र समाजले स्वाभीमानको भाषा बुझ्दैन । यसरी स्वाभीमान र हारको दोसाँधमा रहेका बेला उसलाई उसको साथीको फोन आयो । उसको साथी परीक्षाको तयारीमा रहेकाले उनीहरु लामो समय सम्पर्कविहीन भएका रहेछन् । फोनमा उसले आफू गुम्सिरहेको र उनलाई भेट्न चाहेको कुरा सुनायो । उनी राजी भइन् । मन र विचार मिल्ने भएकाले उनीहरु नजिक थिए । यो निकटता मित्रतामा सीमित थिएन । तिनी नै थिइन् उसकी आमाको (हुनेवाला) बुहारी ! ऊ उनीसँग सबैकुरा सेयर गर्न सक्थ्यो । तर त्यो दिन उसलाई कुरा गर्न असहज भइरह्यो । कतै उनले पनि आफूलाई नबुझ्ने हुन् कि भन्ने डर लागिरह्यो उसलाई । आखिर अप्ठेरो मानीमानी उसले सबै कुरा बतायो ।

सुरुमा उनी उसँग रिसाइन्, कुरा गर्न हच्किएकोमा । उनीहरु नजिकै बसेका थिए । उनी अरु नजिक आइन् । प्रेमपूर्वक उसको काँधमा हात राख्दै भनिन्, ‘आइ एम प्राउड अफ यू, म तिम्रो साथ छु ।’ उनले यसो भन्दा उसलाई संसार जितेको अनुभूति भयो । जागिरका लागि प्रयास गर्ने तर भनसुनका पछि नलाग्ने उसको दृढता अरु मजबुत भयो । उसले गम्भीर भएर भन्यो, ‘मलाई विश्वास छ, कुनै दिन योग्यताकै भरमा जागिर पाउनेछु म ।’ यो कुरामा सहमति जनाउँदै उनी उसको काँधमा ढल्किइन । उ धेरै खुशी थियो । किनभने जीवनमा उसले दुईटा बहुमूल्य कुरा पाएको थियो । एक स्वाभीमान र दोस्रो, स्वाभीमानको अर्थ बुझ्ने साथी !

4 comments to स्वाभीमान, हार र जितहरु !

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

7 Users Online