मोफसलको नजरमा राजधानीको रात्रिबस

तस्विर साभार : नागरिकन्युज

- बुटवलकै कुरा गर्दा पनि रात्रिबस चल्नुलाई बुटवलले समाचार मान्दैन ।
– ट्राफिक चौकदेखि चौरहासम्म रातभर पसल खुलाउँन कुनै अभियान चलाउँनु पर्दैन ।
– औद्योगिक क्षेत्रका उद्योगहरु रात्रिकालिन सिफ्ट सञ्चालन गर्न प्रहरीहरु गार्ड बस्नु पर्दैन ।
– बुटवलको बाटो सफा गर्न प्रधानमन्त्रीले कुचो बोकेर सफा गर्न सिकाउँनु पर्दैन ।
– जितगढीकिल्ला र फूलबारीमा फूल रोप्न दातृनिकायको ढोका ढक्ढकाउँनु पर्दैन ।
पुरा लेख पढ्न भित्र आउँनुहोस्

केही दिनयता देशको राजधानी काठमाण्डौंमा रात्रि मेट्रो बस चल्ने बिषयले यति ठुलो चर्चा र आनन्द दिएको छ कि, सामान्य भाषामा वर्णन गर्न पनि कठिन छ । यो बिषयलाई देशका प्रमुख छापा र विद्युतिय माध्यमले उच्च प्राथमिकता दिएका छन् भने उपत्यकावासीले पनि अभिरुचीपुर्वक समाचारमा ध्यान पुर्‍याएका छन् । राजधानीमा रात्रि मेट्रो चल्ने हल्ला हुन थालेको दुई बर्ष बितेको छ । प्रतिक्षाको लामो र कठिन समय पार गर्दै शुक्रबार भदौको पहिलो दिन साँच्चै राजधानीवासीले रात्रि बस देख्न र चढ्न पाए । सायद इतिहासका पानामा समेत भदौ एक गतेले राम्रै स्थान पाउँन सक्ला ।

राजधानीमा रात्रि बस चल्नु निश्चय नै नयाँ खबर हो । नयाँ खबरले सञ्चारमाध्यममा उचित स्थान पाउँनु अस्वाभाविक होइन । यस अर्थमा सञ्चारमाध्यमले अनिवार्य कर्तव्य निर्वाहमात्र गरेका हुन् । तर यो बिषयले यति ठुलो स्थान पाउँनु राजधानीको पछौटे मानसिकता र अवस्थाको जीवन्त अभिव्यक्ति हो । राजधानी भनेको कुनै पनि राज्यको प्रशासनिक, राजनीतिक, शैक्षिक, सुरक्षा लगायत समग्र क्षेत्रको नीति निर्माण गर्ने र नेतृत्व गर्ने स्थान हो । त्यही स्थानले राती ८ बजेदेखि ११ बजेसम्म बस चल्ने भयो भन्ने खबर थाहा पाउँदा एक प्रकारको दिपावली र खुसीयाली गर्छ भने यो भन्दा ठुलो बिडम्बना अरु के होला ?

०६८ सालमा भएको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार नेपालको कुल जनसंख्या २ करोड ६६ लाख मध्ये राजधानीमै झण्डै ४० लाख बस्ने अनुमान छ । यो गणनाले अहिले पनि नेपालको सहरी क्षेत्रमा १४ दशमलव ६२ र ग्रामिण क्षेत्रमा ८५ दशमलव ३८ प्रतिशत जनता बसोबास गर्छन् । राजधानी काठमाण्डौ सहरहरुको पनि सहर हो ।

नगरपालिकाको पनि पिता हो । त्यसै त यसलाई महानगरपालिका पनि भनिन्छ । जो आफैमा सकारात्मक सन्देश, विकाश र सफलताको संवाहक पनि हुनु पर्ने हो । तर राजधानी रात्रि बस चलाउँदा गर्व गर्छ र समाचार बनाउँछ । त्यहाँका नागरिक राति ८ बजेपछि बस चढ्न पाउँदा रमाउँछन् । राजधानीवासीले मेट्रो रेल चढ्न पाएको भए निश्चय नै त्यो देशका सबै सहरका बासिन्दाका लागि प्रेरणा र उत्साहको बिषय हुन्थ्यो । यो खबरको लाभ सबैलाई हुन्थ्यो ।

अहिले देशका प्राय: सबै सहरमा राती अबेरसम्म बस चल्नु कुनै कुरा होइन । सहर छिचोल्दै प्राय: सबै सहरमा बस रातभर चल्छन् । तिनै बसले एक सहरको वल्लो कुनाबाट पल्लो कुनामात्र होइन, एउटा सहरबाट अर्को सहरसम्म पनि पुर्‍याउँछन् । राजधानी बाहिरका ति सहरहरुमा रातभर पसल खुलेका हुन्छन् । पर्याप्त मान्छेको चहलपहल हुन्छ । तर राजधानीमा राती ९ बजेपछि खुल्ला पसल भेट्न हम्मेहम्मे पर्छ । अब चल्ने रात्रिबसले मान्छेमा व्यवसाय र उत्पादनशिलता ल्याउँछ, ल्याउँदैन, थाहा छैन । यदि व्यापार, व्यवसाय बढाउँने योजना कतै पलाएन भने यो रात्रिबसले मापसेलाई मात्र सुविधा दिनेछ ।

देशका मन्त्रीले सुभारम्म गरेको यो बससेवा कतै मापसेसेवा मात्र हुने हो कि भन्ने आशंका र भय पनि देखिन्छ । यो बससेवाका लागि सिंगो राज्य नै लागि परेको छ । काठमाण्डौ महानगरपालिकाले छ महिनाका लागिमात्रै पनि लाखौं खर्च गरेको छ । सरकारले प्रहरीको सुरक्षा दिएको छ । यो बससेवाको राष्ट्रिय र अन्तराष्ट्रिय बिषयले राजधानीको पीडा र वास्तविकता ओकलेको छ । यसले राजधानीवासी आवज जावतको समस्याले कतिसम्म निसासिएका थिए भन्ने देखाउँछ । जुन देशको सहर साँझै निदाउँछ वा निदाउँन बाध्य छन्, ति सहरमा उत्पादन र रोजगारी छैन भने ठोकुवा गरे हुन्छ ।

नेपालका राजधानीबाहेकका धेरै सहरहरुले राजधानीलाई चेतना र प्रेरणादिने अवस्था आइसकेको छ । सहर बनाउँने र बचाउँने काममा पनि अन्य सहरहरुले धेरै ठुलो तत्परता र अग्रसरता देखाएको देखिन्छ । बुटवलकै कुरा गर्दा पनि रात्रिबस चल्नुलाई बुटवलले समाचार मान्दैन । ट्राफिक चौकदेखि चौरहासम्म रातभर पसल खुलाउँन कुनै अभियान चलाउँनु पर्दैन । औद्योगिक क्षेत्रका उद्योगहरु रात्रिकालिन सिफ्ट सञ्चालन गर्न प्रहरीहरु गार्ड बस्नु पर्दैन । बुटवलको बाटो सफा गर्न प्रधानमन्त्रीले कुचो बोकेर सफा गर्न सिकाउँनु पर्दैन । जितगढीकिल्ला र फूलबारीमा फूल रोप्न दातृनिकायको ढोका ढक्ढकाउँनु पर्दैन ।
२०६९ भदौ २ गते बुटवलबाट प्रकाशित स्वाधिन दैनिकमा छापिएको केशव खनालको लेखको अंश

2 comments to मोफसलको नजरमा राजधानीको रात्रिबस

  • बीना कार्की

    हामी जस्ता केटीहरुलाई तथा महिलाहरुलाई बिशेष सुरक्षा हुनु पर्ने हो । नत्र रात्रिबस त चढिएला, घरसम्म कसरी पुग्नु नि फेरी ?

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

6 Users Online