जादुगर सर

कुरा आजभन्दा १४-१५ बर्ष अगाडीको हो । म त्यसबेला कक्षा २/३ मा पढ्थेँ । मेरो उमेर पनि ६/७ बर्षको हुँदो हो । एकदिन म १० रुपैयाँ बोकेर स्कुल गएको थिएँ । तर दुर्भाग्य टिफिनभन्दा अगाडी पढाइ भइरहेको समयमा नै कक्षाकोठाभित्रैबाट मेरो पैसा हरायो । त्यो उमेरमा हातमा १ रुपैयाँ हुँदा त अरु भुराहरुको अगाडी कुबेर झै गनिन्थ्यो र त्यति पैसाले २-४ वटा भुरालाई दिनभरी पछि लगाउँन काफी हुन्थ्यो भने दश रुपैयाँ त निकै ठुलो कुरा भयो । म हराएको पैसा सम्झदै रुन थालेँ ।

त्यसबेला मेरो कक्षाकोठामा आदरणिय गुरु भद्रमान घिमिरे हुनुहुन्थ्यो । म रोएको देखेर उहाँ मेरो नजिक आउँनुभयो र एकदमै मायालु स्वरमा भन्नुभयो – ‘हाम्लो गलेतलाई के भयो ? किन लोको ?’ सानोमा मेरो बोली तोते हुनाले सरले सायद जिस्काएर मलाई हसाउँन मेरो आवाजको नक्कल गर्दै भन्नुभयो । सरको मायालु स्वर सुनेपछि त के चाहियो, म भक्कानिएर रुन थालेँ । र, सरलाई पैसा हराएको कुरा सुनाएँ ।

सरले अलि ठुलो स्वरमा भन्नुभयो – ‘गणेशको पैसा खसेछ, कसले राखिदिएको छ, दिइहाल त ।’ सरको कुरा सुनेर कक्षाभरीका भुराहरु उभिइ उभिइ मलाई हेर्न थाले । अब सरले भेट्टाइदिनुहुन्छ भनेर म ढुक्क भएँ । रुवाइ रोकिए पनि हिक्क हिक्क आइरहेको थियो । तर अचम्म कसैले पैसाको कुरै गरेनन् । तब सरले बडो रवाफका साथ भन्नुभयो – ‘तिमीहरुलाई थाहा छैन होला, मलाई जादु पनि आउँछ । अस्ति पनि स्कुलमा एउटा कलम हराएको थियो । उसले फिर्ता गर्न मानेन अनि मैले मन्त्र मात्रै के पढेको थिएँ, त्यसको भुडी प्वाट्टै । त्यसैले मैले मन्त्र पढ्नुभन्दा अगाडी नै खुरुक्क पैसा दिइहाल त । बरु उसको नाम म कसैलाई सुनाउँदिन ।’ तर सरले यति भनिसक्दा पनि कसैले पैसा फिर्ता गरेन ।

सरले रिसाए झै गरेर मलाई भन्नुभो – ‘जा गणेश ! सिसौको पात लिएर आइज । अस्तिको जस्तो नगरी भएन ।’ सरले यति भन्ने बित्तिकै कक्षाकोठामा खैलाबैला मच्चियो । हामी भुराहरुलाई लाग्यो अब त सरले साँच्चै नै कसैको भुडी पड्काउँने हुनु भयो । अब मलाई पैसा पाउँने भन्दा पनि भुडी पड्केको हेर्न हतारो भयो । यसैले बाहिरबाट हतार हतार सिसौको पात लगेर सरलाई दिएँ । सरले पात हातमा लिनु भो र जान्ने धामीले मन्त्र फुकेजस्तो गर्दै मन्त्र फुकेर बाङ्गो मुख पारेर तिन पटक पातमा फुक्नु भो ।

अनि सरले त्यो पात ढोका बाहिर राख्नुभयो । यतिबेला हामी सारा भुराहरु भुडी पड्केको हेर्न चनाखो भएर हेरेर बसेका थियौ‌ । सरले हामी तिर फर्किएर ठुलो स्वरमा भन्नुभयो – ‘ल अब सबैले पालैपालो पातमा थुक्दै बाहिर जाओ । तिमीहरुलाई राम्रो भन्दा भएन । अब जसले गणेशको पैसा बोकेको छ, त्यसको भुडी कस्तरी पड्किन्छ भनेँ ।’ ‘लु ! अब सकिएछ ।’ हामी सबैलाई यस्तै लाग्यो । एकआपसका मुख हेर्न थाल्यौं । म भने भुडी पड्केको नजिकैबाट हेर्न पात भए ठाउँमा गएँ ।

लाइनमा बसेर सबैले पालैपालो त्यो पातमा थुक्दै बाहिर जान थाले । धेरै भुराहरुको पालो पछि एउटा सानो केटो कालोनिलो भइ उभिएको थियो । उ विस्तारै पाइला सार्दै थियो । ‘ल अब थुक् ।’ उसको पालो आएपछि सरले उसलाई भन्नुभयो । उ के थुक्थ्यो । सरलाई च्याप्प समाएर क्वाँ क्वाँ रुन पो थाल्यो । सरले त्यसलाई अँगालो हालेर लिएर हिड्नु भो । हामी त हेरेका हेरै भयौं । छक्क पर्नु, न त मेरो पैसा भेटियो, न त कसैको भुडी नै पड्कियो । सरले के गरेको होला भन्दै म सरको पछि लागेँ ।

सरले त्यो केटोबाट पैसा लिएर मलाई दिनु भो । मेरो दश रुपैयाँ अलिकति कुच्चिएको बाहेक उस्तै थियो । मलाई १० रुपैयाँ पाएको भन्दा पनि भुडी पड्किएको हेर्न नपाएकोमा खल्लो लाग्यो । सरले त्यो केटोलाई भन्नु भयो – ‘अरुको पैसा लान्छस् अब ? झन्डै तेरो भुडी पड्किएको थियो ।’ उसले रुदै भन्यो – ‘लान्न ।’ सरले सबैतिर फर्किएर भन्नु भयो – ‘पैसा अर्कै कक्षाको केटाले लगेको रहेछ । अहिले दियो ।’

यसरी सरले बिना पिटाइ मेरो पैसा फिर्ता गरिदिनु भयो ।

भद्रमान घिमिरे सर लगायत जीवनमा स्कुल, कलेज पढाउँने र साना भन्दा साना ज्ञान दिने सबै गुरुहरुलाई नमन् गर्दछु ।

3 comments to जादुगर सर

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

7 Users Online