आमा गुमाएको एक वर्षपछि

-नरेन्द्र रौले-
एक पटक लामो सास फेरेर सोच्दैछु, ‘यो समय कति चाँडै बित्दो रहेछ ।’ ल्यापटपलाई नजिक तानेर किबोर्डमा औंलाहरु राख्दैछु । केही लेख्न खोज्ने मेरा यिं औंलाहरु रोकिदैछन् । पटक, पटक । मनले भन्छ, ‘केही लेख न नरेन्द्र । लेख ।’ तर त्यही मन फेरी एकोहोरो हुदैछ । आज म निकै बेर टोलाईरहेको छु । मलाई सम्हालिन गाह्रो भईरहेछ यतिबेला ।

मनमा सम्झनाका छालहरु उर्लिरहेका छन् । बर्खे झरी झैं अबिरल, अबिरल । कसरी रोक्न सक्नु मैले ? ठीक एक वर्ष अघि असार १७ गते मेरा लागी नमीठो खबर बोकेर आएको थियो । राजधानी बाहिर यात्राका लागी हिंड्दा बाटैमा सुनेको त्यो खबरले मलाई भनिनसक्नु मर्माहत बनाएको थियो । किनकि, त्यो दिन मैले जन्म दिने आमालाई सधैंका लागी गुमाएको थिएँ । सम्झनाका एल्बमहरु पल्टाउदै जादा अनगिन्ती कहानीहरु छन् । अबिरल दर्किरहेको झरी, बाटाका पहिरा, एक्लो यात्रा, भोकभोकै मैले सुदुरपश्चिम पहाडि गाउ पुग्दाको पीडा झल्झली सम्झिरहेको छु । नराम्ररी यो घटनाले मलाई चिमोटिरहेको छ । झस्काइदिएको छ, एकपटक फेरी ।

समय निकै बेगवान् छ । कसैलाई कुर्दैन । आज त्यो घटना भएको एक वर्ष पुगिसकेछ । बगिरहने समय संगै जीवनमा केही उथलपुथल ल्याईदिएको छ । मेरो बाटो, मेरो यात्रा, मेरो उद्देश्य, मेरो जीवनमा केही फेरबदल ल्याइदिएको छ । लुटिएका छन् मेरा खुसि र अबसरहरु । थपिएका छन् जिम्मेवारी र कर्तब्यहरु । भत्काइदिएको छ केही सोच र भ्रमहरु । फराकिलो बनाइदिएको छ, मेरो बुझाई र सपनाहरु । यस्तै धेरै धेरै कुराहरु । मैले सम्झिरहेको छु, राजकुमार बानियाले कतै लेख्नु भएका लाईनहरु जीवन भनेको श्रीमति र आमा जस्ता गहिरा नाता वरीपरि घुम्दो रहेछ । निकै छोएको थियो मलाई, यो अभिब्यक्तिले । हो, म पुरै सहमत छु । जीवनमा आमा र श्रीमति भन्दा नजिकको र आत्मिय नाता अरु हुदैन । कुनैबेला अरु कोही ब्यक्ति पि्रय लाग्ला । तर निश्चित समय पछि त्यो भ्रम पनि टुटेर जाने सम्भाबना बढी हुन्छ । किनकि निश्चित स्वार्थ राखेर गाँसिएका सम्बन्धहरु, निश्चित समय पछि बिलाएर जान्छन् । यसमा कुनै शंका छैन । तर आफुलाई जन्म दिने आमा र चोखो प्रेम गर्ने श्रीमति संगको सम्बन्ध सयौं जुनि सम्म सधैं उस्तै रहन्छ । जस्तो सुरुमा हुन्छ । पवित्र माया, प्रेम, विश्वास दिने आमाको नाता मैले गुमाईसकेको छु । के साँच्चै राजकुमार दाईले लेख्नुभए जस्तै पवित्र माया, प्रेम श्रीमतिले पनि दिन्छन् होला ? मैले त्यो नाता गाँस्ने अबसर अझैं पाएको छैन ।

यति ठूलो मानिसको भीड भएपनि, बेलाबेला एक्लो महशुष हुन्छ । एक प्रकारको असुरक्षा फिल हुदो रहेछ । अनि खोज्दै जादा, सम्भिmदै जादा आत्मिय मान्छेको लिष्ट निकै थोरै भईदिदो रहेछ । किनकि अक्सर सम्बन्धहरु स्वार्थ, छलकपट र भ्रममा टिक्दा रहेछन् । सपना, पैसा र बलमा गाँसिदा रहेछन् । अनि म संग ? म संग निर्दोष मन बाहेक के छ र अरु ? जब खुसिका आधारहरु खोज्दै गईन्छ, नभेटिदा मन एक तमासले बरालिरहदो रहेछ । कल्पनाको गगन बिराट, बिशाल र अनन्त भईदिदो रहेछ । संसारको सबैभन्दा प्यारो नाता गुमाउनु परेपछि निश्चय नै दुखी बनायो । दुख संग जुझ्न पनि सिकायो । बिरानो ठाउमा, बिराना मान्छेहरुको भीडमा एक्लै बाँच्न पनि राम्ररी सिकायो । आफ्नो भन्ने के नै हुन्छ र संसारमा ? आफ्नै घर, आँगन भित्रका मानिसहरु पनि परि आउदा आफ्नै नहुदा रहेछन् । अनि अरु ? कमै हुन्छन्, हितैका दौतरी । त्यसैले एक्लै हुदा पनि आफ्ना खुसि र अबसरहरु खोज्न जानिसकेको छु । जीवनको बाटो पहिल्याउन थालिसकेको छु । आफ्ना लागी सबै थोक आफैले गर्नुपर्ने रहेछ । आफ्ना लागी आड, भरोसा, विश्वास, साथी भनेको आफै नै हुदो रहेछ । आफ्ना लागी खुसि, आनन्दको स्रोत पनि आफै हो जस्तो लाग्छ । यो नै सर्बोत्तम बाटो रहेछ । बाँकी सबै मनका भ्रम हुन् जस्तो लाग्छ । जुन कुनै मोडमा चोइटिएर जान्छन् । वा, बिलाएर, हराएर जालान् । जति दुख, संघर्ष गरेपनि कसका लागी गर्नु जस्तो भैदिन्छ बेलाबेला । जब आधारहरु भेटिन्नन्, देखिन्नन् । संगालेका खुसि दिने ठाउ हुन्नन् । बटुलेका खुसि साँट्ने ठाउ हुन्नन् । निरस लाग्दो रहेछ जीवन । उराठ लाग्दो रहेछ । तैपनि सोचे जस्तो कहा भैदिन्छ र ? अनि निरन्तर यात्रामा हिंड्न मन लाग्छ । जहा सबै पीडाहरु भुलेर अर्कै संसारमा पुगुँ । नितान्त निजी संसार । आफ्नै प्रकारको । सिर्जना र कल्पनाको संसार । महशुष गर्छु आमाले कति बिशाल संसार दिनु भएको हुदो रहेछ । हामी बाँचुञ्जेल त्यसको महशुष गर्दैनौ । जब महशुष गर्छौं तब हामीसंग आमा हुनुहुन्न । हामी धेरै कुरा गुमिसकेपछि मात्र पत्तो पाउछौ । साथमा हुञ्जेल महत्व दिदैनौ । आज मलाई त्यस्तै लागिरहेको छ । यतिका वर्ष यत्तिकै बिते । वर्षमा एक पटक घर जादा मुस्किलले पाँच मिनेट पनि संगै बसेर कुरा गरिन । जब धेरै कुरा सुन्ने इच्छा लाग्यो । तब आमाले सधैंका लागी संसार छोडिसक्नुभयो । अब केवल सम्झना मात्र बाँकी छ । चोखो माया, प्रेम र त्याग मात्र बाँकी छ । अब मलाई बिगत सम्झेर पीडा सिबाय केही मिल्ने छैन । बरु नियाल्नुछ भविष्यको सुनौलो यात्रा । चुम्नुछ, सुनौलो बिहानी, चुम्नु छ क्षितिज ।

यतिबेला मेरा लागी सबैभन्दा नजिक आफ्ना भाई, बहिनीहरु लागिरहेका छन् । उनीहरुको सुदुर भविष्य तर्फ मैले सोच्नु छ । मेरो खुसि उनीहरुसंगै बाँड्नुछ । त्यही बालापनमा मैले पनि खुसि खोज्नुछ । त्यसैले गाउमा पढिरहेकी सानी बहिनीलाई राजधानीको स्कुलमा भर्ना गरिसकेको छु । पहिल्यै देखी यतै पढिरहेको भाईलाई अझै राम्रो अबसर दिईरहेको छु । मेरो संघर्ष उनीहरुका लागी खर्चिएको छु । उनीहरु आआफ्नो ठाउमा स्थापित भएको दिन मलाई अपार खुसि मिल्नेछ । सायद यहि नै आमाप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
(पेसाले पत्रकार रौले ब्लग लेखनमा पनि सक्रिय छन् । उनी www.nraule.com.np मा ब्लग लेख्छन् ।)

5 comments to आमा गुमाएको एक वर्षपछि

  • अमीना श्रेष्ठ

    हो /रौलेजी जीवनमा धेरै प्यारा आफन्तहरु छुट्छन् / धेरै आत्मियताहरु बद्लिन्छन् /तर पनि यात्रा कदापी रोकिदैन र रोक्न हुन्न पनि / पछाडीका राम्रा कुराहरुलाई आदर्श या अनुभव या शक्तीका रुपमा सोच्नु पर्छ / र अगाडी बढ्नु पर्छ / तपाईको सकारात्मक सोचले निरन्तरता पाओस् शुभकामना /

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • केशब दर्नाल

    तपाईको आमालाई मेरो पनि भाव पुर्ण श्रदाञ्जली

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • Anil

    नरेन्द्रजीको यो लेख पढेर मनमा एक राम्रो महसुस भाको छ . धन्यवाद नरेन्द्रजी . अल द बेस्ट फो योर फ्युचर !!

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • Nilesh Subba

    आमाको शरिर नासिन्छ. तर आमा सँधै आमा हुन्छिन् .न उनको स्थान कसैले लिन सक्छ, न त उनको स्थानमा कसैलाई राख्न मिल्छ. उनले हिड्न सिकाइन्. बोल्न सिकाइन्. गारो सारोसँग लड्न सिकाइन्. जीवन दिइन् र जीवन बाँच्ने कला सिकाइन्. आमा अमर छिन्. किनकी आमा, आमा हुन्. आमाप्रतिको प्यारो भाव प्रति म आदर गर्छु नरेन्द्रलाई

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

    • अरुणा

      जुन पुरुषले आमालाई सम्मान गर्दैन त्यसले जीवनमा कुनै पनि प्रगति गर्न सक्दैन

      कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

6 Users Online