सम्झना – पुराना दिनको !

तस्विर साभार : गुगल इमेज

-हरिहर शर्मा-
‘थ्याङ्क गड !’
एउटी युवती खुशीले उन्मुक्त हुँदै कराइन्, ‘एट लिस्ट फाइभ मिनेट जाम भइजाओस् ।’ बस प्याक थियो । दुईजना बस्ने सिटमा उनीसँगै बसेका अरु दुईजनाले उनको खुशीमा साथ दिए । तीनैजना प्लस–टु पढ्ने नौजवान थिए । जुन कुरा तिनको फर्मल ड्रेसले बताउँथ्यो । पुतलीसडकबाट कोटेश्वर जाने क्रममा बस वानेश्वरमा जाममा परेको थियो । साँझ छिप्पिदै गर्दा, हिउँदका छोटा दिन, सबैलाई घर पुग्न हतार थियो । बस जाममा पर्दा खुशी हुने र कम्तीमा पाँच मिनेट जाममा परियोस् भनी कामना गर्ने ती युवतीको भनाइले धेरैलाई अचम्मित बनायो होला । मलाई भने त्यो अभिव्यक्ति अस्वभाविक लागेन । किनभने, प्लस–टु सकेको दसक पुग्न लागेको भएपनि, मलाई प्लस–टु उमेरको मनोभाव राम्ररी थाहा थियो । र, म एक्लै मुस्कुराएँ ।

मैले झल्यास आफ्नो ‘प्लस–टु’ उमेर सम्झेँ । कुकुरको पुच्छर बाङ्गिएको देख्दा पनि हाँसो उठ्ने त्यो उमेरको माया लागेर आयो । बसको एउटै सिटमा बसेका उनीहरु (दुईटा केटी र एउटा केटा) को लोभलाग्दो दैनिकीदेखि थोरै ईष्र्या पनि लाग्यो । म खिन्न भएँ एकछिन त, आफूसँग त्यस्तो निस्फिक्री–उमेर बाँकी नरहेकोमा । थाहै नपाई धेरै छिटो वितिजाने समयको स्वभाव मलाई कत्ति मन परेन । ईष्या र खिन्नतामिश्रित मनोभाव बोकी छिनमै म फ्ल्यासब्याकमा पुगेँ चलचित्रमाझैँ । मेरो मन–मस्तिष्कमा आफ्नो प्लस–टु उमेरका घटनाक्रमहरु खेल्न थालेँ । भाडा उठाउँदै आएको कण्डक्टरको आवाजसँगै म वर्तमानमा पछारिएँ । भाडा तिर्दा भन्न मन लाग्यो, ‘भाइ मसँग पनि कार्ड छ है !’ तर म त ‘बुढो’ पो भइसकेछु ! के गर्नु, भिजिटिङ कार्डले बसभाडामा छुट पाइँदो रहेनछ ! त्यतिखेर मलाई जागिरे हुनुभन्दा विद्यार्थी हुनुमै आकर्षण लाग्यो ।

साँच्चै रमाइला थिए ती दिनहरु । कलेज सुरु भएको केही दिनमै ३० जना व्यक्तिको अपरिचित हुल ‘आफ्नो’ भएको थियो । सरले ‘प्रोपर्टिज अफ ट्रयाङ्गल’ पढाइरहँदा त्यसलाई त्रिकोणात्मक व्यक्ति–सम्बन्धमा लिङ्क गर्दाका क्षणहरु धेरै प्यारा थिए । इलेक्ट्रिसिटी पढाउने सरको पाइण्टको फस्नर खुला भएको खबर पहिलो बेञ्चबाट लाष्ट बेञ्चसम्म कागजको टुक्रामा लेखिएर पुग्दा ठूलो हाँसो उठेको थियो । विचरा सर लाजले भुतुक्कै ! पहिलेका नेपाली पढाउने सरले विद्यार्थीको उद्दण्डता थेग्न नसकेर मगाइएकी मोमिला (साहित्यकार) म्याडमको पढाउने शैली र गुणस्तर तथा विद्यार्थी नियन्त्रणको रणनीति उत्तिकै आकर्षक थियो । मोमिला म्याडमको पढाउने शैलीको प्रशंसा आज पनि गर्छु म, जब वहाँलाई भेट्छु । यस्ता सबै याद स्मरणीय छन् । जति प्रयास गरेपनि क्लासमा कहिल्यै पहिलो हुन सकिएन, सधैँ दोस्रोको दोस्रै; यो कुराले भने बिझाइरहन्छ ।

कम्प्युटर ग्रुप (हाम्रो क्लास) सँग बाइलोजी ग्रुपको ग्याङफाइट हुँदाको आतङ्क र सो बारेमा क्लासका ‘ज्ञानी’ मध्येका दुईजना (म र एक जना अर्को) बाट घटनाको जानकारी लिन प्रशासनद्वारा लिइएको बयान प्लस–टु पढ्दाको सबैभन्दा यागदार घटना रह्यो मेरा लागि । ‘यो तिम्रो दोष हैन, उमेरको हो, इट्स ओके’, एउटी केटीले जिस्किने क्रममा हदै गरेपछि मैले यस्तो समेत भन्नुपरेको थियो एकदिन । मैले यसो भन्दा त्यो केटीले महसुस गरेको ग्लानी सम्झिँदा आज ‘धेरै भनेछु’ कि जस्तो लाग्छ । एकोहोरो बोर्डमा लेख्दै गर्दा, ‘ओहो डेरिभेसन नै भुलिएछ, प्य्राक्टिस पुगेनछ !’ भन्ने फिजिक्स पढाउने सरको अभिव्यक्ति मस्तिष्कमा ताजै छ । ‘ऋतिक काण्ड’ हुँदाको आक्रोस सम्झिँदा आज पनि रगत तातिन्छ । परीक्षाको अघिल्लो दिन दरवार हत्याकाण्ड हुँदा शवयात्रा हेरेर बसेको रात र भोलिपल्ट परीक्षा स्थगन भएको दिन कसरी भुल्न सकिन्थ्यो र !

दसक पुगिसकेको छैन मैले प्लस–टु सकेको । र पनि जिन्दगीको भागदौडले धेरै बुढो भइएछ जस्तो बोध भइरहेछ । अलिकति दायित्व बढ्दै जाँदा, थोरै अरुको लागि बाँच्न सुरु गर्दा जिन्दगीमा मस्तीका लागि समय निकाल्न गाह्रो हुँदोरहेछ । थाहा छ, परिपक्वता ठूलो कुरा हो । यद्यपि, परिपक्व उमेरमा चञ्चलता खुबै ‘मिस’ गरिँदो रहेछ । प्लस–टु उमेरको लोभलाग्दो समयलाई फेसबुकको नेटवर्किङले विर्साउन सक्दो रहेनछ । जिन्दगी जिउने नाममा, धेरै साथीहरु नियमित सम्पर्कबाट बाहिर गइसकेका छन् । यसरी बाहिरिनेको सूची लम्बिँदो छ । हुन त आज जो जहाँ छन्, रमाइलोमा दिन विताइरहेका होलान् । नयाँ परिवेशमा जिन्दगीलाई नयाँ नाम र पहिचान दिन सबै लागिपरेका होलान् । तथापि, ‘हातैमा जे धुलो झरेपछि त्यै सुनको फूल’ भनेझैँ आफूसँग नभएको त्यो उमेर मलाई धेरै प्रिय लाग्दैछ । मलाई आजभन्दा हिजोको माया लागिरहेछ ।

बस जाममा फसेकोमा उत्साहित भएका प्लस–टु युवाहरुले मलाई मेरो विगततिर जाने मौका दिए । अरुलाई नपच्ने उनीहरुको बोली र व्यवहारले मलाई भने भावुकतातर्फ डोर्‍यायो । बसबाट ओर्लेर घर पुगी लुगा पनि नफेरी मैले घन्काएँ गीत, ‘पुराने जिन्स और गिटार…!’ गीत मेरो फेवरेट थियो नै, सान्दर्भिक पनि !

2 comments to सम्झना – पुराना दिनको !

  • विकाश

    हा हा हा यस्ता रमाइला दिनहरु पनि थिए है जिवनमा /अहिले त यो बेकारको दोडथुपमा परियो /कहिले काही त लाग्छ उमेर जस्ताको तस्तै ठप्प भको भए पनि हुन्थ्यो /

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • रोहित लिम्बु

    इलेक्ट्रिसिटी पढाउने सरको पाइण्टको फस्नर खुला भएको खबर पहिलो बेञ्चबाट लाष्ट बेञ्चसम्म कागजको टुक्रामा लेखिएर पुग्दा ठूलो हाँसो उठेको थियो । हाम्रो पनि यस्तै भएको थियो /

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

4 Users Online