म यसकारण जान्न क्रिकेट हेर्न मैदानमा

-नामले के फरक पर्छ र !-
क्रिकेट मलाई मन पर्छ । परिवारमा मेरो क्रिकेट प्रेमलाई अनौठो मान्दछन् । डेडीले समाचार हेर्न रिमोट मागिरहदा होस् या ममीले स्टारप्लस या सोनीका सिरियलहरु हेर्ने भन्दै च्यानल चेञ्ज गर्न कराईरहेका बेला, म क्रिकेट हेरिरहेकी हुन्छु । धेरैले भनेको सुन्छु, केटी मान्छे भएर के सारो क्रिकेट भनेर मरिहत्ते गरेकी ? तर मलाई यस्ता कुराले छुँदै छुदैन । म कसैको कुरा नसुनी क्रिकेट हेर्छु । अरु विस्तारै मेरो जिद्दीपनासँग आदी बन्दैछन्, म क्रिकेट प्रति थप क्रेजी बन्दैछु ।

क्रिकेटमा यति विघ्न क्रेजी भएपनि मैले क्रिकेट खेलिरहेको मैदानमा नै गएर भने कहिले पनि क्रिकेट हेरेको थिइन । टिभीको लाइभ हेर्दा प्रत्येक बलमा चिच्याईरहेका दर्शकले मलाई तान्ने गर्थ्यो । टिभीमा क्यामेराले देखाए भन्दा अरु तिर पनि आफ्नै आँखाले हेर्न लोभ मनमा रहिरहन्थ्यो । यो सबै कुराको अनुभव गर्ने मौका मिल्यो यसपालीको एसीसी ट्वान्टी ट्वान्टी क्रिकेटमा ।

विभिन्न कारणले अगाडीका खेलहरु टिभीमा नै हेर्न बाध्य भएँ । तर सबै कुरालाई पन्छाउँदै पहिलो पटक मैदानमा पुगेँ नेपाल र कुवेतको खेल हेर्न । तर त्यसबेला मेरो सबै रहरहरु खल्लो भए जब म मैदानमा पुगेँ अनि देखेँ आफ्नै आँखाले क्यामेराले नदेखाएको मैदानको कालो पक्ष । त्यही बेला सोचेँ अब म फेरि कहिले पनि क्रिकेट हेर्न भनेर जान्न क्रिकेट मैदानमा । मैले अब पुनः क्रिकेट हेर्न मैदानमा जान्न भन्नुका पछाडीका कारण यस्ता छन्

१. मैदान पुग्ने सडक देखि नै निर्जल्लताको अनुभव हुन थाल्यो । पुरुषहरु मैदान पुग्ने बाटोमा लामबद्ध भएर पिसाव फेरिरहेका भेटिए । त्यहाँ अर्को कुनै बाटो नहुनाले तिनै नछेलिएरै पिसाब फेरिरहेका पुरुषहरुको छेउबाट हिड्नु पर्थ्यो । लौ, ट्वाईलेट नभएको र मानिस लुक्न सक्ने अरु कुनै विकल्प नभएको त्यो ठाउँमा त्यो त केही हदसम्म बाध्यताको उपज मान्न सकिएला । तर त्यो बाटोबाट हामी हिड्दा छेउका अरु पुरुषहरुले हामी तिर हेर्दै ताली र सिठ्ठी बजाउँनुलाई के मान्ने ? मेरा खुट्टा सोही पल देखि काम्न थाले । नआउँनु पर्ने ठाउँमा आइएछ भने झै हुन थालिसकेको थियो । मन मनमा सोचेथेँ, यति नाघे पछि सबै सकिने छ । सबै कुरा सामान्य बन्ने छ । तर मलाई कहाँ थाहा थियो र, मैदान भित्रको यथार्थ ।

२. मैदान भित्र हामी छिर्दा खेलको दोस्रो ओभर चलिरहेको थियो । एक्कासी सिठ्ठी बज्न थाले । नेपालले छक्का मारेछ क्यारे यस्तै लाग्यो । तर होइन रहेछ । तत्कालै थाहा भयो सिठ्ठी त हाम्रो लागि रहेछ । सिठ्ठी मात्र होइन, पानी खाएर रित्तिएका खाली बोतलहरु, साना साना ढुंगा, माटो, कागजको पोको पुरुषको भिडबाट हामीतिर आईरहेका थिए । हामीले के गर्ने अब ? मैले केही सोचिन । साथीहरु दौडिन थाले । मैले पछ्याएँ । तर जाने कहाँ ? जता पुगे पनि उही सिठ्ठी, ताली, ढुंगा, माटो र कागजको डल्लाहरु । बल्लतल्ल एक ठाउँमा बसियो । खेल कहाँ पुग्यो मलाई पत्तो भएन । खाली त्यत्रा मानिसहरुका अगाडी भिडमा कुकुर खेदिए जस्तो खेदिएको मात्र सम्झना भयो । मन जबरजस्ती मन पर्ने खेल तिर लगाउँन थालेँ ।

३. खेलले गति लिन थाल्यो । तर हरेक रनहरुमा अश्लिता बर्षन थाल्यो । हरेक विकेटमा अपशब्द सुनिन थाले । सबैका नजरले अश्लिता बर्षेपिच्छे हामीलाई हेर्दथ्यो, मानौं कि हामी अर्के ग्रहका जन्तु हौं । अब त अझ बसिनसक्नु भएको थियो । तपाई भन्नु हुन्छ होला, उस्तै भए उठेर अन्तै गएको भए हुने नि । तर कहाँ जाने ? अर्को ठाउँमा पनि त उस्तै जमात थियो । मन त्यहाँ बस्न मान्दै मानेन । तर उठ्ने आँट आएन । फेरि उही सिठ्ठी, ताली, ढुंगा,माटो र कागजको डल्लोको झट्टी । अँह, सक्दै सकिएन । निर्लज्ज भएर बसियो । कुकुर झै खेदिदै आएर पशु झै थेत्तरो भएर बसियो । त्यती हिनताबोझ कहिलै भएको थिएन ।

थाहा छैन हाम्रो के गल्ति थियो । हामीले के गर्नु पथ्र्यो । के बिहानै देखि गएर मैदान ओगट्नु पर्थ्यो ताकि गेटबाट मैदान कसैले देख्ने गरि छिर्नै नपरोस् । या लाज पचाएर उनीहरुसँगै अपशब्द बोल्दै चिच्याउँनु पर्थ्यो । जवाफ पाउँन सकिन । मान्छेहरु हुन्छन् र मान्छेसँगै बसेर हेर्छु भनेर गएको थिएँ मैदानमा क्रिकेट हेर्न । तर त्यहाँ मान्छे नहुँदा रहेछन् । यसैले अब कहिले पनि जान्न क्रिकेट हेर्न भनेर त्यो मैदान ।

8 comments to म यसकारण जान्न क्रिकेट हेर्न मैदानमा

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

6 Users Online