एउटा चराको प्वाँख

-ध्रुब सापकोटा-
राजकुमार ब्यूँझेर पनि उठेको छैन । सिरकले गुटुमुटिएर ओछ्यानमा नै पल्टिरहेको छ । अघिसम्म ओछ्यानको भित्तापट्टि श्रीमती थिई । हत्तारिएर उठी । सुट लगाई । ऐनामा हेरी । आकर्षक देखिई ।

“कस्तो मिलेको ? तिम्रो शरीरको नापो लिएर सिएजस्तो” । राजकुमारको प्रतिक्रिया ।

“जडौरी हो ।” श्रीमतीको भनाइ ।

“यसलाई जडौरी मरिगए कसैले भन्दैन ।” लोग्नेले आफ्नो मनको शङ्का कसैमार्फत् व्यक्त गर्‍यो ।

“सत्य त्यही हो ।” श्रीमतीले भनी ।

“अब सत्य पनि सन्देहको घेरामा पर्न थालेको छ । के भएको होला ?” राजकुमारले भन्यो ।

“छलफल गर्न हामीसँग पूरै रात छ । अहिले म गएँ ।” श्रीमतीले भनी ।

“हुन्छ ।” राजकुमारले भन्यो ।

“आज म आउन ढिला हुन्छ ।” श्रीमतीले जनाउ दिई ।

“किन ?” लोग्ने बोल्यो ।

“लुगा धुनु छ । त्यो घरमा लुगा धेरै हुन्छन् ।” श्रीमतीले व्याख्या गरी ।

“त्यसकारण तिमीले सुट लगाएकी ।” लोग्नेले थप्यो ।

“सुट त त्यहाँ पुगेपछि फुकाल्ने ।” श्रीमतीले प्रष्ट पारी ।

श्रीमतीलाई हतार भइसकेको थियो । बाहिरबाट नै ढोका बन्द गरी । श्रीमती ऊभन्दा बीस वर्ष कान्छी छे । ऊ अहिले पचास वर्षको छ । श्रीमती तीस वर्षकी छे । राम्री छे, निकै राम्री । बैँसले त्यसलाई निखारेको छ । हिजो बेलुका राजकुमारले श्रीमतीको हात समातेको थियो । श्रीमतीका हातका औँलाहरू ढाडिएका थिए । तिनीहरू आफ्नो स्वभाविक स्थितिमा थिएनन् । श्रीमतीले हात हटाइन । लोग्नेले हेरोस् नै भन्ने थियो । लोग्नेले बुझोस् नै भन्ने थियो ।

“फुटेका रहेनछन् ।” राजकुमारले भन्यो ।

“जुनसुकै बेलामा फुट्न सक्छन् । हरेक दिन पानीमा नचली निर्वाह हुँदैन ।” श्रीमतीले भनी ।

“एक दिन पनि काम रोक्न नमिल्ने । कस्तो काम पाइएछ ।” राजकुमारले भन्यो ।

“यो छोडे अर्को काम पाइँदैन ।” श्रीमतीले भनी ।

“मेरो काम भयो भने त तिमीले कहिल्यै काम गर्न पर्दैन ।” राजकुमारले फकायो । श्रीमतीले कुनै प्रतिक्रिया जनाइन । राजकुमारले आँैलाहरू छोडेर श्रीमतीको शरीर मुसार्न थालेको थियो । यसमा पनि श्रीमतीको स्वीकृति थियो । यसबाट राजकुमारले अर्को नयाँ कुरा पनि पत्तो लगायो । श्रीमतीको नितम्ब चीसो थियो । ढाडिएको ।

“एउटा कुरा भनौँ ?” चीसो नितम्बले राजकुमारलाई प्रश्न गर्न वाध्य बनायो ।

“भन न ।” श्रीमतीले स्वीकृति दिई ।

“काम नहुँदा अहिले म बेकम्मा देखिएको छु । एउटै मात्र काम होस्, म कोहीभन्दा कम हुन्न ।” राजकुमारले मनको कुरा पोख्यो ।

“मलाई त अर्काको घरमा भाँडा माज्दा र लुगा धुँदा दिक्क लाग्यो । बरू कतै पाले बन्न पाए हुन्थ्यो ।” श्रीमतीले भनी ।

“अहिले दोमन नगर । जे छ त्यसमा रमाऊ । राम्रा दिन आउँदैछन् ।” राजकुमारले तर्क दियो । राजकुमारले श्रीमतीलाई सान्त्वना दिन खोज्यो ।

“राम्रा दिनको पर्खाइमा वर्षौं बिते । अब कहिले आउने हुन् ती दिन ?” श्रीमतीले उल्टै प्रश्न गरी ।

तिनीहरू टुङ्गोमा कहिल्यै नपुगिने लामा गनगन गरेका थिए । यी गनगन शरीरसँग खेल्ने बहानाजस्तो भयो । श्रीमती सक्रिय थिई । यसबाट राजकुमार झन् उत्साहित भयो । श्रीमतीको प्रोत्साहनका कारण यो काममा ऊ असफल भएन । उसका लागि यो उपलब्धिमूलक रह्यो ।

सात बज्यो । ओछ्यानबाट उठ्यो । ओछ्यानमा ऊ प्रायःजसो नाङ्गै सुत्ने गर्थ्यो । नाङ्गै उठ्यो । कोठामा कोही छैन । लाज एक्लोमा एक्लिन्छ । यो उसलाई थाहा छ । एक वर्ष पुरानो कमिज लगायो । दुई वर्ष पुरानो पैन्ट लगायो । श्रीमतीले मध्यरातमा उठेर हप्ताको एक दिन आउने पानी थापेर जोगाउ गरेकी थिई । त्यो जोगाउ गरेर वाल्टीमा राखेको पानी मगमा राख्यो र मगबाट नै मुख धोयो । मुख पुछ्यो । ऐनामा अनुहार हेर्‍यो । कपाल कोर्‍यो । ढोकामा ताल्चा लगाएर बाहिर निस्कियो ।

राजकुमार बसेको घर नजिकै एउटा होटेल थियो । त्यो होटेलमा उसले बिहानको चिया खाने गरेको थियो । होटेलमा पस्यो । चेतना होटेलको टेबिल पुछपाछ गर्दै थिई । चेतनाले ग्यास बालेकी थिइन् ।

“आज किन ढिलो बैनी ?” राजकुमारको प्रश्न थियो ।

“छिटो आएर पनि के गर्नु छ र ? कोही आएर गए भन्ने छैन ।” चेतनाले भनी ।

“तिनीहरू आउने बेला भएन र ?” राजकुमारको जिज्ञासा थियो ।

“के ठेगान छ र तिनीहरूको पनि । बूढाहरू । कहिले कता जान्छन्, कहिले कता ।” चेतनाको जवाफ थियो ।

“बूढाहरू परिवर्तनका पक्षधर हुँदैनन् । हत्तपत्त ठाउँ फेर्दैनन् ।” राजकुमारले विश्वस्त बनाउने प्रयास गर्‍यो ।

“हेरौँ ।” चेतना अलमलिएको देखियो ।

“कोही त आउलान् नि । मसानघाट भएपछि मूर्दा अवश्य आउँछ ।” राजकुमारले आफूलाई पूरै माइनस गर्‍यो । कोहीमा पनि आफूलाई राखेन । आफ्नो हैसियत कोहीसम्म पनि देखाएन ।

चेतनाले ग्याँसको चुलो बालिन् । बूढाहरू चिया खाँदैनन् । दूध खान्छन् । तिनीहरूका लागि दूध बसालिन् ।

“चिया पनि बनाउने हो कि बैनी ?” राजकुमारले भन्यो ।

“बनाउने त हो तर ।” चेतनाले आग्लो लगाइन् ।

“तर के ?” राजकुमारले बुझेर पनि अज्ञानता देखायो ।

“बुहुनी भएको छैन ।” चेतनाले भनिन् । चेतनाको यो शब्दले यसलाई घोच्यो । घाउ बनायो ।

“तिमीले पनि चिया खाने होला ।” राजकुमारले त्यति मात्र भन्यो ।

“तिमीलाई पनि तलतल लाग्यो होला ।” राजकुमारले भन्यो ।

“लागेको छ । पहिले त यो व्यापारलाई सोच्नुपर्‍यो ।” चेतनाले भनिन् ।

“त्यो त हो ।” राजकुमारले इन्कार गर्न सकेन ।

“बुहुनी नभै खान्न ।” चेतना झन् खुलिन् । राजकुमारको मुखमा काठको किला ठोकियो । फुत्त निस्केर जाने आँट पनि गरेन । बसौँ भने कति समय बस्ने ? मूर्दा कुरेर बसेको मलामीजस्तो ।

चिया खाने ग्राहक नआए पनि उसलाई त्यति चिन्ता थिएन । ती बूढाहरू आएपछि उसको सबै चिन्ता समाप्त हुन्थ्यो । ती बूढाहरूले यो होटेलमा कहिले पनि उधारो खाएको उसले देखेकी छैन । कहिलेकाहीँ तिनीहरूसँग ठूला नोट हुन्छन् । हजारका । कहिलेकाहीँ सयसयका चाङ । सयका नोटको चाङ देखेका समयमा उसले हिम्मत गरेर एउटा बूढोसँग मागेको थियो” पाँच सय होला हजुर ?

“छन् त छ । धेरै छ तर मैले कसैलाई पनि सापट दिने गरेको छैन । लिने पनि गरेको छैन ।” त्यो बूढोले खरो जवाफ दियो । त्यो मागको परिणाम भने राम्रै निस्कियो । त्यो बूढोले राजकुमारलाई एक गिलास दूध आफ्नो तर्फबाट प्रस्ताव गर्‍यो । अहिले पनि तिनीहरूमध्ये एउटाले चियाको प्रस्ताव गर्नसक्छ । नगर्न पनि सक्छ, सम्भावना आधा छ । तिनीहरू आइपुगेका छैनन् । प्रेस मालिक आँखा मिच्दै आयो ।

“आज रातभर काम गरियो । थकाई लागेको छ । निद्रा लागेको छ । मीठो एक कप चिया ख्वाउनोस् ।” प्रेस मालिकले भन्यो । पहिलो ग्राहक आएकोमा राजकुमार आशावादी भएको थियो ।

“बत्ती आएको समयमा प्रेस चलाउन पर्‍यो । राति मात्र बत्ती आउने पाली भएपछि कसो गर्ने ? काम नगरे प्रेसको ऋण कहाँबाट तिर्ने ? घर व्यवहार कसरी चलाउने ?” प्रेस मालिकको गुनासो थियो ।

“अनि कामदार पनि बोलाएको ?” राजकुमारले प्रश्न गर्‍यो ।

“चाहिने कामदार त बोलाउनै पर्‍यो नि ।” प्रेस मालिकले जवाफ दियो ।

प्रेस मालिकले चिया खायो । मालिकलाई चिया दिएपछि बुहुनीको अल्झो हट्यो । राजकुमारको सामुन्नेमा पनि चिया आयो । चेतनाले अहिलेसम्म चिया नखाई बसेकी थिइन् । चेतनाको हातमा पनि चियाको कप थियो । प्रेस मालिक गफमा अल्झेन । हिँड्यो ।

“दाइ । तपाईंलाई थाहा छ, तपाईंले मलाई कति तिर्न बाँकी छ ?” चेतनाले प्रश्न गरिन् ।

“कति भयो ?” राजकुमारले थाहा नपाएको अभिनय गर्‍यो ।

“हिजोसम्मको चौध हजार । आजको एक कपको जोड्दा चौध हजार दस रुपियाँ ।” चेतनाले हिसाब बुझाइन् ।

“ठीक छ । हिसाब राम्ररी राख्नु । म पैसा हुनासाथ तिम्रो पहिले तिर्छु ।” चेतनाले बुझ्नेगरी राजकुमारले जवाफ दियो ।

“तपाईंसँग कहिले पैसा हुन्छ, त्यो मलाई थाहा छैन । मलाई भने अहिले नै अप्ठ्यारो छ । तपाईंलाई थाहा नै छ, मेरो लोग्ने पचास डिग्रीको गर्मीमा काम गरिरहेको छ । उसै त मान्छे रोगी छ । मान्छे बाँचेर आउँछ कि लास आउँछ ? केही भन्न सकिँदैन । उसले पैसा नपठाएको चार महिना भैसक्यो । उसले पठाएको पैसाले छोराहरू पढिरहेका छन् । यो होटेलको आयस्ताबाट त घरभाडा र खाना खर्च मात्र भ्याउँछ । बीचबीचमा बिरामी हुइँन्छ । मलाई कति गार्‍हो छ ।” चेतनाको विलौना लामै थियो ।

“बैनी ! मैले पनि घरमा पैसा राखेर यहाँ उधारो खान आएको होइन । एउटा मात्र काम मिलोस् सब बादल फाट्छ ।” राजकुमारले चेतनालाई विश्वासमा लिने प्रयास गर्‍यो ।

“एउटा कुरा भनौँ दाइ !” चेतनाको चेतना खुल्यो ।

“यो होटेल त दाइको लागि नै खोलेजस्तो भयो ।” चेतनाले पेस्तोल चलाइन् । त्यसको गोली राजकुमारको छातीमा लाग्यो । राजकुमारले छातीमा बुलेटप्रुफ ज्याकेट लगाएको थियो, छोएन । पटक्कै छोएन ।

राजकुमार चेतनाको होटेलबाट बाहिरियो । यतिखेर आठ बजेको थियो । चोकमा उभियो । यो उसको अखडा थियो । संयोगले एउटा ठूलै मान्छे भेट भयो ।

“के छ त राजकुमारजी ?” त्यो ठूलो मान्छेको प्रश्न थियो ।

“के हुनु हजुर ! दुःख पाइएको छ ।” राजकुमारले दुःखेसो पोख्यो ।

“दुःख पाउनुभएको छ ? एउटा काम गर्नोस् । सुख पाउनुहुन्छ ।” ठूलो मान्छेले भन्यो ।

“भनिबक्सिस्यो न । हजुरले भनेको काम गर्छु ।” राजकुमार तत्पर भयो

“मसँग मेरो घर हिँड्नोस् ।” ठूलो मान्छेले भन्यो ।

ठूलो मान्छेको पछि लाग्यो । ठूलै आशा पलायो । ठूलो मान्छेको घर त्यस चोकबाट धेरै टाढा थिएन । दस मिनेटमा नै तिनीहरू पुगेँ । बैठकमा चिया आयो । बिस्कुट आयो ।

“यो घर बेच्न पर्‍यो ।” ठूलो मान्छेले भन्यो ।

“घर त नयाँ छ । ठूलो पनि छ । हजुरले आफैँ बस्न बनाएको होइन ?” राजकुमारले प्रश्न थियो ।

“आफैँ बस्न बनाएको हो तर अहिले छोराहरू अमेरिकामा नै बस्ने भए । मेरी श्रीमती पनि तिनीहरूसँग बस्न गैसकेकी छिन् । मेरो पनि ठेगान भएन ।” ठूलो मान्छेले भन्यो ।

“कति मूल्य तोकिबक्सेको ?” राजकुमारले प्रश्न गर्‍यो ।

“डेढ करोड । तपाईंलाई दस लाख ।” ठूलो मान्छेले ठूलै प्रस्ताव राख्यो ।

“प्रस्ताव त राम्रै हो हजुर ।” राजकुमारले भन्यो ।

“मलाई हतार भएर । यो बेच्नका लागि बनाएको घर होइन । आफ्नै परिवार बस्न बनाएको ।” ठूलो मान्छेले भन्यो ।

“मेरो लागि यो एक्काइसौँ प्रस्ताव हो ।” राजकुमारले भन्यो ।

“सफलताको नि ! ” ठूलो मान्छेको प्रश्न थियो ।

“शून्य ।” राजकुमारको जवाफ थियो ।

“कोसिस गर्नोस् । यो नै पहिलो हुन्छ कि के ठेगान ?” ठूलो मान्छेले आशा जगायो ।

जागेको आशासहित कोठामा पुग्यो । बेलुकाको बासी भात खायो । ओछ्यानमा पल्टियो । राजकुमार अब राजकुमार थिएन । एउटा घोडा थियो । उसकी श्रीमती अब श्रीमती थिइनन् । एउटी घोडी थिइन् । तिनीहरू एउटा विशाल मैदानमा थिए । जताततै हरियो घाँस । जता चरे पनि हुने । तिनीहरू मज्जासँग घाँस चरिरहेका । दिउँसोको समय थियो । घोडा अघायो । घाँसबाट मुख हटायो । घोडीलाई हेर्‍यो । घोडाको पौरुषता जाग्यो । बाहिर नै देखियो । त्यो नग्न पौरुषता जो कोहीको लागि पनि लोभलाग्दो थियो । त्यहाँ महिला थिएनन् । घोडी थिई । घोडीको सामुन्नेमा नग्न पौरुषतासहित घोडा हिन्हिनायो । घोडी घाँसको खोजीमा चउरमा आएकी थिई । अर्थोकका लागि होइन । घोडी भागी । घोडा पछि दगुर्‍यो । भेट्टाउन कोसिस गर्‍यो । घोडी चउरको छेउमा पुगी । घोडा पछिपछि थियो । घोडा हडबडाई । त्यस तल भीर थियो । खसी । त्यो पनि तीन फिट तल । घोडा हेरेको हेर्‍यै भयो । घोडा एक्लियो । घोडाले हिन्हिनाउन छोडेन । त्यो घोडाको हिन्हिनाहट नमज्जामा परिणत भएको थियो ।

राजकुमार अब पूरै ब्यूँझेको थियो । ऊ यो सपनाको अर्थ लगाउन असमर्थ थियो । श्रीमती आफूबाट छुट्टनि लागेको सङ्केत सपनाले गरेको बुझ्यो । सपनाले बेस्सरी घोच्यो । राजकुमारले घडी हेर्‍यो । तीन बज्न लागिसकेको थियो । लामो सुताइमा छोटो सपना देखेको थियो । छिटोछिटो लुगा लगायो । कोठामा ताल्चा लगायो । निस्कियो ।

प्रहरी थानामा पुग्दा तीन चालीस भएको थियो । प्रहरी थानामा यताउति हेर्‍यो । चिनेका कोही देखिएमा नपस्ने विचार थियो । चिनेका कोही देखिएनन् । सरासर भित्र गयो ।

“नमस्कार साब ।” उसले काउन्टरमा बसेको प्रहरीलाई भन्यो ।

“के छ राजकुमार ! आज ढिलो आयौ ।” प्रहरीले भन्यो ।

“ढिलो भए पनि हजुरहरूको आदेशको पालना गरिरहेको छु । ” राजकुमारले भन्यो ।

“हाजिरी जनाएपछि मात्र आदेशको पालना हुन्छ । प्रहरीले भन्यो ।

“त्यो त हो हजुर । त्यो पनि नहोस् नपरोस भन्न खोजेको । ” राजकुमारले भन्यो ।

“अरूले भए तिमीलाई यहीभित्र राख्थे । तिमीलाई हामीले यो छूट दिएको । हाम्रो गुन तिमीले खोइ मानेको ।” प्रहरीले धम्क्यायो ।

“म गुन बिर्सन्नँ ।” राजकुमारले भन्यो ।

“अब तिमीलाई यहीँ राख्न पर्लाजस्तो छ । ” प्रहरीले भन्यो ।

“त्यसो नभनिबक्सियोस् साब । धेरै काम छ ।” राजकुमारले भन्यो ।

“तिमीले काम छ त भन्यौ तर यस्तो काम नगर ।” प्रहरीले भन्यो ।

“मरी जाउँ हजुर । यो काम मैले गरेको होइन ।” राजकुमारले भन्यो ।

“सबै मान्छेले खासगरी टोलवासीले तिमीलाई नै शङ्का किन गर्छन् त ?” प्रहरीको प्रश्न थियो ।

“गरिब देखेर साब ।” राजकुमारले भन्यो ।

“आधार त्यही हो त ?” प्रहरीले भन्यो ।

“अरू त केही छैन । गरिबले जे पनि गर्छ भन्ने मानसिकताले काम गरिरहेको छ । कसो गरुँ ?” राजकुमारले भन्यो ।

“त्यस्तो ठाउँमा बस्न छोड ।” प्रहरीले भन्यो ।

“त्यहाँ मैले सित्तै बस्न पाएको छु । अन्तै मैले मासिक तीन हजार तिर्नुपर्ने हुन्छ ।” राजकुमारले विवशता पोख्यो ।

“तिमीले सित्तै बस्न कसरी पायौ ?” प्रहरीको प्रश्न छ ।

“घर मालिक अन्तै बस्छन् । मलाई विश्वास गरेर कुरुवा राखेका छन् । म त कुरुवा हुँ हजुर ।” राजकुमारले जानकारी दियो ।

“तिमी त भाग्यमानी रहेछौं ।” प्रहरी भन्छ ।

“किन र साब ?” राजकुमार प्रश्न गर्छ ।

“यस्तो मौका सबैले पाउँदैनन् । यो त तिम्रा लागि ठूलो सहुलियत हो ।” प्रहरी भन्छ ।

“त्यो त हो हजुर । त्यति सहुलियतले जीवन नचल्ने रहेछ ।” राजकुमार भन्छ ।

“तिमीलाई टोलवासीले चोर नै देखेका छन् ।” प्रहरी पुराना कुरामा नै जान्छ ।

“गरिबीकै कारण मलाई दोषारोपण गरिएको छ । मेरी स्वास्नी अर्काको घरमा काम गर्ने । म बेरोजगार । यस्तो मान्छेलाई दोष लगाउन सजिलो छ ।” राजकुमारले थप्यो ।

“गरिब त यो देशको आधा जनसङ्ख्या नै छ । ती सबलाई चोरीको आरोप त लागेको छैन ।” प्रहरी केरकारमा उत्रेको छ ।

“गाउँमा त सबैले मलाई पनि आदर गर्थे ।” राजकुमार भन्छ ।

“काल आएपछि स्याल सहर पस्छ भन्थे । तिमीलाई त्यस्तै भएछ ।” प्रहरी भन्छ ।

“धनी हुन सहर पसेको । उल्टो चोरीको आरोप खेप्न परिरहेछ ।” राजकुमार भन्छ ।

राजकुमार भन्छ । गरिबका लागि चोरी गर्न पनि जायज हुने तर्क दिन्छन् चोरहरू ।” प्रहरी भन्छ ।

“हो साब ।” राजकुमार भन्छ ।

“अब त साँचो बोल राजकुमार ! कसरी चोरी गरियो ?” प्रहरी भन्छ ।

“गरिएन साब ।” राजकुमार भन्छ ।

“अघि मैले भनेका कुरा सही भनेको होइन त ?” प्रहरी भन्छ ।

“सिद्धान्ततः सही भनेको । व्यक्तिगतरूपमा भन्दा गरिब भए पनि म चोर होइन ।” राजकुमारले आफ्नो अडान छोडेको छैन ।

“अब बहस नगर । सही गर । जाऊ । ” प्रहरी भन्छ ।

“हरेक दिन हाजिरी दिन आउँदा दिक्क भैसकेँ । केही उपाय छैन हजुर ?” राजकुमार आफ्नो दिक्दारी पोख्छ ।

“उपाय छ । सजिलो छ । यो चोरी गर्ने मान्छे पत्तो लगाउनोस् । तपाईंको छुट्टी हुन्छ ।” प्रहरी तिमीबाट तपाईंमा उक्लन्छ ।

“हजुरहरूले चाहेमा सक्नुहुन्छ । मजस्तोले कसरी सक्छु ?” राजकुमार विवशतासँगै असमर्थता देखाउँछ ।

“हामी पनि विवश छौँ । चोर पत्ता नलागेसम्म तपाईंले हाजिरी दिनुपर्छ ।” प्रहरी भन्छ ।

“मेरो बिन्ती छ । साबहरूले पत्ता लगाए म यो गुन बिर्सने थिइनँ ।” राजकुमार भन्छ ।

“हाजिरी गर र जाऊ ।” प्रहरी तिमीमा ओर्लन्छ । प्रहरीको मुड परिवर्तन भएको छ ।

राजकुमार बाहिरिन्छ । एक वर्ष त बितिसकेको छ । दसौँ वर्ष यसरी नै हाजिर दिनुपर्‍यो भने के गर्ने होला ? चिन्ताले राजकुमारलाई समात्यो । भोक लागेको थियो । ऊ चोकमा आइपुग्दा अँध्यारो भैसकेको थियो । सोझै घरमा जान मन लागेन । एउटा स्थानीय भट्टीमा पस्यो । यो भट्टीमा उसले उधारो खाएको थिएन । खल्तीमा एक रुपियाँ पनि थिएन । उसले एउटा परिचित मान्छे देख्यो । दुवैका आँखा जुधे । नमस्कारको आदानप्रदान भयो । त्यो मान्छे सिग्नेचर हृविस्की खाइरहेको थियो । त्यसले बोलाएन । राजकुमार त्यो मान्छेको सामुन्ने गयो ।

“हजुर म पनि खाउँ कि ?” राजकुमारले बिन्ती गर्‍यो ।

“तपाईंले पनि खानुहुन्छ भन्ने मैले कल्पना नगरेको ।” त्यसले भन्यो ।

“हजुरले सही कल्पना गरेको हो । अहिले त खण्डखातिरले खान लागेको ।” राजकुमारले भन्यो ।

“त्यस्तो के पर्‍यो ?” उसले प्रश्न गर्‍यो ।

“मैले अहिले हरेक दिन प्रहरी थानामा हाजिरी दिन जानुपरेको छ ।” राजकुमारले भन्यो ।

“किन ?” उसले प्रश्न गर्‍यो ।

“मलाई चोरीको आरोप लागेको छ ।” राजकुमारले भन्यो ।

“के चोर्नु भयो ?” उसले सोध्यो ।

“के म चोर देखिन्छु हजुर ?” राजकुमारले दुई पेग खाइसकेको थियो । भटमास, चिउरा, आलु खाइसकेको थियो ।

“मलाई थाहा छैन ।” उसले भन्यो । “हजुरले थाहा छैन किन भनेको ?” तेस्रो पेग राजकुमारले खाइसकेको थियो ।

“अनुहारले केही थाहा हुँदैन ।” उसले भन्यो ।

“मरी जाऊँ हजुर ।” राजकुमारले चौथो पेग माग्यो । एउटै घुट्को बनायो ।

“प्रहरीले किन शङ्का गर्‍यो त ?” उसले सोध्यो ।

“मलाई गरिब देखेर हजुर । चोर मान्छेले स्वास्नीलाई अर्काको घरमा भाँडा माज्न कसैले पठाउँछ ।” राजकुमारले पाँचौँ पेग लोकल स्वाट्ट पार्‍यो ।

“मलाई थाहा छैन ।” उसले भन्यो ।

“किन त्यसो भनेको ?” राजकुमारले प्रश्न गर्‍यो ।

“यो पनि त्यस्तै कुरा हो, अनि मान्छे भ्रष्ट हुँदैन ।” उसले भन्यो ।

“मेरो एउटा मात्र काम भएको भए सबको मुखमा बुझो लाग्थ्यो । आज काम हुन्छ भन्यो हुँदैन । भोलि काम हुन्छ भन्यो, हुँदैन । श्रीमतीलाई आशा देखाउँदा देखाउँदा आशा नै हास्यास्पद भयो ।” राजकुमारले भन्यो । उसले जवाफ दिएन ।

“राजकुमारजी ! अब म जान्छु । तपाईंको जम्मै तिर्छु ।” जाँदाजाँदै राजकुमारको पाँचौँ पेगको पैसा तिर्‍यो ।

दिनको अन्तिम प्रहर उसका लागि सुखद नै रह्यो । तीर्खा मेटिएको थियो । कोठामा ताल्चा झुण्डिएको थियो । खोल्यो । ओछ्यानमा पल्टियो ।

लोकलले प्रभाव देखायो । ऊ छिट्टै निदायो । श्रीमती कोठामा आइपुग्दा ऊ घुर्न लागेको थियो । तिनले उसको निद्रा र आनन्द भङ्ग गरिनन् । बिहान तिनी घरबाट निस्कँदा उज्यालो थियो । ऊ ओछ्यानमा नै थियो । अहिले अँध्यारो थियो । लोग्ने भने त्यही स्थितिमा ओछ्यानमा नै थियो । यथास्थानमा । यथास्थिति । यो यथास्थान र यथास्थिति कहिलेसम्म ? यो तिनको अनुमानभन्दा बाहिरको कुरा थियो ।

प्रथम पटक प्रकाशित : मधुपर्क २०६८ साउन

1 comment to एउटा चराको प्वाँख

  • अनीमा घोर्साने

    यो कथाको शिर्षक एउटा चराको प्वाखँ चै किन राखेको होला भन्ने कति गर्दा पनि बुझिन । कथाको प्लट र प्रस्तुति दुबै राम्रो हुँदा हुँदै पनि शिर्षक चै अर्कै कथाको परे जस्तो लाग्यो ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

9 Users Online