‘आज गीता आउँदै छिन’

-विश्वराज अधिकारी-
श्याम दाइ कहाँ म साँझमा पुगेको थिए। हुन त फोनमा कुरा गर्दा वहाँले भन्नु भएको थियो ‘सानो भाइ, मिल्छ भने दिउँसो नै आउन, है। शनिवार त के फुर्सत नै होला नि, अफिस हुने त कुरै भएन, होइन त? अँ रातिको खाना यतै खाने गरी आउनु नि।’ तैपनि म साँझ पुगेको थियो। म पुगेको थिएँ तेजारथटोल, बीरगंज।

म पुगे पछि श्याम दाइको खुसीको मात्रा झनै बढेको थियो। त्यो दिन अरु दिन भन्दा अलि बढी नै खुसी देखिनु भएको थियो वहाँ। त्यति बढी खुसी हुनुको कारण मैले बुझ्न सकेको थिन। हुन त मैले वहाँको त्यस्तो खुसीमा कुनै ठूलो नै कारण होला भनी संका गरि नै हाल्नु पर्ने स्थिति पनि थिएन। मलाइ श्याम दाइको बानी थाहा थियो। दुखी तुल्याउने सानो कुराले पनि ज्यादै दुखी हुने अनि सुखी तुल्याउने सानो कुराले खुसी पनि उत्तिकै हुने वहाँको बानी मेरो लागि नौलो थिएन। साहित्यकार मान्छेमा त्यस्तो विशेषता हुनु स्वभाविक पनि थियो। तर वहाँको भावुकता भने कहिले काहिँ अलि बढी भएर पोखिन पुग्थ्यो।

एक चोटी त्यस्तै भएको मैले आफ्नै आँखाले देखेको थिएँ। एक चोटीको कुरा हो वहाँले आफूले लेखेको एउटा कथा सुनाउनु भयो मलाई, आफ्नो कोठामा लगेर। कथा ज्यादै दुखान्त थियो। कथा सकिने बित्तिकै मैले भने- श्याम दाइ, मानिसको जिन्दगीमा यस्तो पनि हुन सक्छ र? मेरो प्रश्नको जबाफमा वहाँले भन्नु भयो- किन न हुनु, यो यथार्थ घटना हो। मैले कुनै एक घटनालाई केवल कथाको रुपमा प्रस्तुत गरेको मात्र हो। म त केवल एउटा माध्यम मात्र हो, त्यो घटेको घटेको घटना प्रस्तुत गर्ने। तिमी कल्पना समेत गर्न सक्तैनौ कतिसम्म कष्टकर जिवन बिताउन मान्छेहरु बाध्य छन। त्यति मात्र हो र? मानिसहरु अकाल मृत्यु वरण गर्न समेत विवश छन, यो समाजमा। मेरो कथामा उल्लेखित ती युवतीको मृत्यु सामुहिक बलत्कारद्वारा भएको थियो, कथामा भनिए जस्तै।’ यति भनेर श्याम दाइ रुन थाल्नु भयो।

श्याम दाइ एक्लै बस्नु हुन्थ्यो डेरा लिएर। छोरा वहाँसँग थिएन। छोरा हजुरबा हजुरआमासँग बस्थ्यो, बर्दिबास। श्याम दाइको श्रीमती, गीता भाउजुको कुरा चाँहि नगरौ।

श्याम दाइले अनेक कुराहरु पकाउनु भएको थियो, जाँगर उठाएर, मलाई खान बोलाउनु भएको त्यो दिन । आलुको तरुआ बनाउनु भएको थियो। भन्टा, कोभी, लौकाको पनि तरुआ बनाउनु भएको थियो। त्यति मात्र हो, केराको समेत। माछा तार्नु भएको थियो। माछा पनि, बोआरी। पाक्दै गरेको भातले त कोठा नै मग मग पारेको थियो। भान्सा भरि छरिएको सुगन्ध नाकमा परे पछि जसले पनि भन्न सक्थ्यो बासमति चामल पाक्दै गरेको, त्यहाँ। खान पिनको अति सौकिन श्याम दाइले पकाउनमा पनि उत्तिकै कुशलता पाप्त गर्नु भएको थियो।

कोठा भित्र पस्ने बित्तिकै मेरो मुखबाट फ्याट्ट निस्क्यो ‘बासमति चामल पाकेको जस्तो छ नि, त्यो पनि खाँटि एक नम्बर, हँ श्याम दाई? मेरो प्रश्नको उत्तरमा वहाँले भन्नु भयो ‘हो, एकदम प्योर बासमति, अनि महँगो पनि उत्तिकै। यति भनेर श्याम दाइले मेरो मुखतिर हेर्नु भयो अनि हाँस्दै भन्नु भयो ‘आज अलि अलि ड्रिंक पनि गर्नु पर्छ। तिमीलाई मन पर्ने ब्रान्ड नै ल्याएको छु नि। ओहो त्यो त सार्है महँगो पो हुँदो रहेछ। जे होस सँधै खान होइन, वर्षमा एक दुइ पटक, यस्तै खुसीको बेलामा रमाइलो गर्नका लागि त खाने हो नि। कहिले काँहि अलिकति पैसा खर्च पनि गर्नु पर्छ रमाइलो गर्नका लागि। मौरीले जस्तै मह जम्मा गर्यो गर्यो, खाने भने अरुले। त्यस्तो पनि गर्नु हुँदैन।’

श्याम दाइको कुरा सुनेर मलाइ अचम्म लाग्यो। अचम्म वहाँले पनि ड्रिंक गर्ने कुरा सुनेर लाग्यो। मैले मेरो आँखाले वहाँले बियरसम्म पनि खाएको देखेको थिन, हिव्स्कि त टाढाको कुरा हो। मेरो मनले बोइङको गतिमा कल्पना गर्न थाल्यो र कारण खोज्न थाल्यो के त्यस्तो कारण होला जसले श्याम दाइलाई यति खुसी तुल्याइ दियो। मैले मन मनै बिचार गरे श्याम दाइको प्रोमोशन भएको हुनु पर्छ, पक्कै पनि। मैले सोध्ने बिचार गरे- श्याम दाइ के कारण हो आज अरु दिन भन्दा अति नै प्रशन्न देखिनु भएको छ नि? तर के मनमा आयो प्रश्न गरिन। बरु श्याम दाइको छेउमा रहेको म बसेको कुर्सीलाई झन वहाँको नजिक पारें। म वहाँको अझै नजिक सरेकोमा वहाँले के सोँच्नु भयो म भन्न सक्तिन तर अलि प्रशन्न हुँदै भन्नु भयो ‘त्यो सित त यसो अलि सितन पनि त चाहिन्छ होला नि। तिमी त खाइ रहने मान्छे तिमीलाई थाहा होला नि?’ वहाँको त्यो भनाईको प्रतिक्रिया मैले केवल हाँसेर ब्यक्त गरें। मैले ड्रिंक गर्न छाडेको कुरा कुरा भनिन। र त्यो भनेर श्याम दाइले गरेको तयारीलाई मैले अर्थहीन तुल्याउन चाहिन पनि।

म हाँसि रहेकै बेलामा वहाँले फेरि भन्नु भयो ‘अलिकति सेकुआ पनि ल्याएको छु। बगेडी पनि ल्याउन खोजेको थिएँ तर के गर्नु, पाईन, बल्ल बल्ल आधा दर्जन ल्याएको छु। अँ, बरु झिंगा माछाको फ्राई अलि बढी ल्याएको छु, त्यो त सजिलै पाइयो, मागे जति। मिक्स कि खोइ के भन्छन्, त्यो भुजा पनि छ। यति भए पुग्दैन होला?’ मैले हाँस्दै भने पुग्दैन होला होइन, बरु बढी नै हुन्छ। तर मैले आफूलाई रोक्न खोज्दा खोज्दै मेरो मुखबाट फ्याट्ट निस्क्यो- श्याम दाइ किन यति खर्च गर्नु भएको, बढी भएन र भन्या? ‘कहिले काँहि राजा जस्तो भएर खर्च गर्न सक्नु पर्छ, बुझेउ सानो भाइ’ भन्दै आफूले बढी खर्च गर्नुको औचित्य पुष्टि गर्न भन्नु भयो, वहाँले। मेरा दाजुहरुले सानो भाइ भनेको हुनाले वहाँले पनि मलाई सानो भाइ नै भन्नु हुन्थ्यो। र खासमा श्याम दाइको बढी उठ बस मेरो ठूलो दाइसँग थियो। तर पनि किन हो, मेरो संघत खुब मन परेको थियो क्यारे, प्राय जसो मेरो घरमा आइ पुग्नु हुन्थ्यो मलाई भेट्न। अनि म पनि जाने गर्थ्ये वहाँलाई भेट्न कहिले डेरामा कहिले अफिस छुट्ने बेलामा, वहाँको।

एक चोटी दुई चोटी हो र, म पच्चिसौं चोटी श्याम दाइको डेरामा गइ सकेको थिए। वहाँको बस्ने तौर तरिका मात्र होइन, वहाँलाई के मन पर्छ के मन पर्दैन भन्ने कुरासम्म मोटा मोटी रुपमा सम्पूर्ण थाहा थियो मलाई, यदि मान्छेको मन भित्र त पस्न सकिँदैन नि भन्ने मान्यतालाई छाडेर कुरा गर्ने हो भने। तर त्यो दिन मैले श्याम दाइको कोठाको रुप बेग्ले किसिमको देखें। कोठा एकदमै राम्रो गरी सफा सुग्घर पारिएको थियो। तकियाका खोल, तन्ना हिंजो आज मै धोएको हो भन्ने प्रष्ट हुन्थ्यो। तल भूँइको कार्पेट मैलो भएता पनि फोहर देखिने गरी त्यसमाथि केही पनि राखिएको थिएन, सफासँग बढारिएको थियो। मैले पहिले कहिले श्याम दाइ ब्यवस्थित भएर बसेको देखेको थिन, त्यस किसिमबाट। गीता भाउजुले वहाँलाई ‘चौपट अल्छि’ भनेको कति पटक सुनेको छु मैले मेरो यी दुई कानले। त्यति मात्र हो ‘ढुंगा लडे झै लडे पछि कतै पनि हलचल न हुने, छि कस्तो अल्छी’ भन्दै गीता भाउजुले वहाँमाथि ठट्टा गरेको पनि सुनेको छु। हुन पनि कहिले काहिँ श्याम दाइले अति नै गर्नु हुन्थ्यो पनि।

पुस माघको जाडोमा, खास गरी बिहानी पख, खाट माथि बसेर, सिरक ओढे पछि खाट माथि नै वहाँका लागि चिया पुर्याउनु पर्ने। त्यतिसम्म भए ठिकै हो रे। गीता भाउजुले चुरोट पनि दिनु पर्ने, वहाँको हातमा। अनि सलाई खोजेर चुरोट सल्क्याइ दिनु पनि पर्ने। त्यति सबै गरेर पनि गीता भाउजुले कहाँ मुक्ति पाउनु र। चुरोटको खरानी झार्न स्ट्रे पनि वहाँको छेउमा राखि दिनु पर्ने। मैले त एक दुइ चोटी भनेको पनि थिए- यो त अति नै भयो श्याम दाइ। यतिसम्म अल्छि हुन त भएन नि। मेरो त्यस्तो भनाइमा वहाँले दिने प्रतिक्रिया एउटै थियो ‘सानो भाई, जिन्दगीको मजा भनेको त यै हो नि, सबै कुरा एकै ठाउँ पाउनु। यति भनेर वहाँले केही बेर हाँस्ने गरेको पनि मैले बिर्सेको छैन।

त्यस्तो अल्छि मान्छेले त्यस किसिमबाट कोठा सफा सुग्घर गरेको देखेर म अचम्ममा परेको थिए, त्यस दिन। हामी कोठामा बसेर कुरा गरि रहेका थियौ। केही सम्झे झै गरी वहाँले भन्नु भयो ‘सानो भाइ, भान्सा तिर नै बस्ने हो कि, यसो अलि खान, अनि यसो अलिकति पिउन पनि सजिलो हुन्छ।’

मलै, किन श्याम दाइ, आज निकै खुसी देखिनु भएको छ, के होला यति बिदि खुसी हुने कारण भनी सोध्न खोजेको धेरै बेर भइ सकेको थियो। आफूलाई रोक्न गार्हो भइ रहेको थियो मलाई, त्यो प्रश्न सोध्नदेखि। रोक्न खोज्दा खोज्दै पनि मेरो मुखबाट फ्याट निस्क्यो- श्याम दाई, आज निकै खुसी देखिनु भएको छ नि। खुसीले आकाश माथि उड्न लाग्नु भएको छ, केवल पखेटा लाग्न मात्र बाँकी छ। कुनै ठूलो नै खुसी होला जस्तो छ, तपाँईको खुट्टा भुँईमा नभएको स्थितिलाई हेर्दा। मेरो कुरा सुनेर श्याम दाइले हाँस्दै भन्नु ‘छ, भाइ, त्यस्तै कुरा छ, अति नै खुसी हुने कुरा छ एउटा। एक किसिमले भन्ने हो भने मेरो मन भित्र खुसीको बाढी नै पसेको छ। र त्यो बाढीले मेरा मन भित्रका गर्हुंगा ढुंगाहरुलाई बगाएर कता पुर्याए कता।’ श्याम दाईको कुराले थप आश्चर्यमा पार्यो मलाई। मैले तत्काल प्रश्न गरि हाँले- श्याम दाइ, ढिलो नगरेर छिटो भन्नुस, के हो त्यस्तो कुरा जसले तपाँईलाई यति खुसी तुल्याएको छ।
श्याम दाइले खुसी हुँदै भन्नु भयो ‘आज गीता आउँदै छिन नि, यहाँ, यै डेरामा। हिँजो रक्सौलमा, बजारतिर पस्दा, भेट भएको थियो,गीतासँग। धेरै बेर, लामो कुराकानी भयो हामी बिच, करिब करिब तीन चार घण्टा जति। म सँग कुराकानी हुँदा उनी त रोइन पनि, केही बेरसम्म।’

श्याम दाइको कुरामा मैले आश्चर्य मान्दै प्रश्न गरे- होइन, गीत भाउजु र तपाँई बीच डिभोर्स पनि भइ सकेको छ। अब कसरी सम्भव होला त, तपाँईहरु फेरि सँगै बस्ने स्थिति? त्यति मात्र हो र, गीता भाउजुले माया प्रीति पनि गाँसि सक्नु भएको छ रे अर्को मान्छेसँग।

मेरो कुरा सुने पछि श्याम दाइले भन्नु भयो ‘गीताले त्यो मान्छेसँग गरेको माया जिउको माया हो र थियो, तर मनको माया त उनले मलाई गरेकी हुन र अहिले पनि गर्छिन र तयार छिन पनि, सँगै बस्न, मसँगै, त्यो मान्छेलाई छाडेर।’

यति भनेर श्याम दाइ निकै बेर हाँस्नु भयो। अनि हाँस्दै फेरि भन्नु भयो ‘यसो, खाने होइन? स्कच हो, रेड लेबल।’

10 comments to ‘आज गीता आउँदै छिन’

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

6 Users Online