‘आफ्नोपनको सन्दर्भमा’

-घनेन्द्र ओझा-
आफूसँग जे चीज छैन अथवा जुन कुरा हराउँदै गएको हुन्छ, त्यसप्रति मोह जाग्नु मानवीय स्वभाव हो । आजका युवतीहरु हेर्नुस् न कति जना सारीचोलो लगाउन लालायित देखिन्छन् ? झन्डै दुई दशक अघि नेपाली समाज आधुनिकीकरणको चरणमा प्रवेश गरेको हो, सामाजिक, सांस्कृतिक रुपमा । आधुनिकता (कताकती स्वेच्छाचारिता पनि हो कि) अतिविकसित र सभ्यतासम्पन्न युरोप, अमेरिकामा जस्तो हजुरबा हजुरआमाले आँखा छोप्ने गरीका पहिरनसम्म भने पुगिसकेको छैन ।

युवती मात्र किन हाम्रा युवकहरु कतिले लगाउलान् दौरा सुरुवाल ? कतिका शिरमा छन् पाल्पाली वा भादगाउँले टोपी ? आधा दर्जन ठाउँमा प्वाल पारिएका जिन्स पाइन्ट र टालटुल पारिएका टिर्सट अधिकांश युवाका नियमित पहिरन मानिन थालेका छन् । अलिक स्तरीयता खोज्नेले टाई-सुट लगाउँछन् । आजको हाम्रो समाज यस्ता सामाजिक, सांस्कृतिक, मानवीय जीवनका हरेक कुरामा परिवर्तनको पक्षमा देखिन्छ । पुरातन संस्कार र सामाजिक मूल्यमान्यता र धारणामा परिवर्तनको चाहना राखिरहेको छ नेपाली जीवन ।

साहित्यकै कुरा गरौँ, आज नेपाली माटोमा धेरै साहित्यिक विधाहरु प्रचलनमा छन् । हाइकु छ । चोका छ । ताङ्का छ । मुक्तक त अलिक पुरानै भयो । यी सबै विधाको आआफ्नै अस्तित्व र महत्त्व छ । कुनै पनि विधाको आफ्नै शैली, पन र प्रस्तुति हुन्छ, त्यसलाई कसैले पनि कुनै एक आधारमा बेवास्ता गर्न सक्दैन । तर हाम्रोमा ‘मवाद’को प्रभावले होला, वा अन्य विधा र विषयप्रतिको आग्रही हेराइले पनि हुन सक्छ, कविता, कथा, निबन्ध, नाटक, गीत… बाहेक अन्यलाई साहित्य नै होइन भन्ने कि त तिनीहरुको स्वतन्त्र र छुट्टै अस्तित्व नदेख्ने चलन छ ।

त्यसो त हामीले आफ्नो मौलिकता क्रमशः गुमाउँदै गएका छौँ, धेरै कुराहरुमा । संस्कृति, कला, साहित्य, संगीत कुनैमा पनि मौलिकता पूर्ण रुपमा पाउन सकिँदैन । लोकगीतमा आधुनिक संगीत र वाद्ययन्त्रको मिश्रण स्वाभाविक आवश्यकता भइसकेको छ भने कलामा नयाँनयाँ रुप, सौर्न्दर्य र बान्कीको खोजी गर्ने चलनले बाहृय कलालाई क्रमशः आत्मसात् गर्दै गएको छ । संस्कृति त झनै चौपट छ । अधिकांश सहरी समाजमा धेरै परम्परा, परम्परागत चाडपर्व मनाउने तरिका निकै धेरै फेरिइसकेको छ । सहरी समाज दसैँ तिहारसँगै क्रिसमस र न्यू इयर मनाउन थालेको छ । कृष्णाष्टमी सहरी समाजलाई थाहा छैन, ऊ भ्यालेन्टाइन डेमा मस्त हुन्छ । यसरी नै हाक्पारे, रोइला, ख्याली, संगीनी, बालन अहिलेको पुस्तालाई त्यति ख्याल नहोला, तर बब मार्ली, माइकल ज्याक्सन, ब्रिटनी स्पेयर्स, आडम्स इत्यादिका अधिकांश गीत यिनलाई कण्ठ छन् । आफ्ना मौलिक लोकगीत सुनाउँदा ‘हृया झ्याउ’, भन्ने यो पुस्ता रक, पप, ज्याजमा मस्त छ । अनि कहाँ खोज्नु मौलिकता ? केमा खोज्नु मौलिकता ? कसरी खोज्नु मौलिकता ?

हाम्रा आदरणीय विद्वानहरु पुरातन सोचाइ र अध्ययनबाट नयाँ पिँढीलाई गाली गरिरहेका छन् । उनीहरुले एकपटक नयाँ पिँढीका चाहना, समाज, संस्कृति, गीतसंगीतप्रतिको अध्ययन, रुचि आदिलाई गहिरिएर बुझ्ने चेष्टा गरिदिए नयाँ पिँढी र पुराना पिँढीबीचको दूरी केही घट्ने थियो कि !

मौलिकता भन्नु पन हो । आफ्नो अझ भनुँ आफ्नै पन, जो अरुमा हुँदैन । तर हामीसँग अब मौलिकता वा आफ्नो पन नै कहाँ छ र ? अरु त अरु मैले बोल्ने शब्दमा थोरै अंग्रेजी, थोरै हिन्दी र थोरै नेपाली छ । मैले लगाउने कपडामा नेपालीपनको नामोनिशान छैन । मैले खाने खानासम्म त दाल भात नै छ, तर खाजामा मकै भटमास या फापर रोटी वा गहुँ, कोदो कहाँ हुनु, पश्चिमा परिकार छ, पिज्जा, मः मः(उत्तरबाट आएको) छ, या यस्तैयस्तै । मैले हेर्ने सिनेमा रा वन, अवतार, …यस्तैयस्तै । मैले देख्ने सपना, जापान, अमेरिका, अष्ट्रेलिया, क्यानाडा वा यस्तैयस्तै । मैले रोज्ने साथी जोन, फिलिप, लिन्डा, एलेक्स, जोफर, क्यारिन आदिआदि ।

समयले ल्याएको परिवर्तनसँगै मानिसले आफूलाई परिवर्तन गर्न सकेन भने वा बदलिँदो परिस्थितिमा आफूलाई परिवर्तित गर्न सकेन भने यो अर्बौँ मान्छेको भीडमा जाबो एउटा मान्छे कता हराउँछ हराउँछ । त्यसैले पनि आजको पुस्ता परिवर्तनसँगै रमाउन चाहन्छ, आफूलाई अप टु डेट राख्न चाहन्छ । आजको पुस्ता हरेक चिजलाई आत्मसात् गर्न सक्छ, अनुकूलित हुन सक्छ । यही भएर परिवर्तनप्रति लालायित हुन्छ । परम्परा र शास्त्रीय मूल्य, मान्यता र पद्धतिलाई परिष्कार गर्न चाहन्छ । विश्वपरिवेशसँग जुध्न चाहन्छ । आफूलाई एक ठाउँ वा संस्कृतिले मात्र चिनाउन चाहँदैन । विश्वग्रामको अवधारणा आइसकेको सन्दर्भमा विश्वग्रामकै एक सबल सदस्यका रुपमा आफूलाई स्थापित गर्न चाहन्छ । तर हाम्रो सामाजिक बुझाइ यसभन्दा भिन्न छ । यही भूगोल, यही माटो, यही समाज, यही संस्कारमा रुमलिन भन्छ समाज । सामाजिक बुझाइमा व्यापक परिवर्तन नआई न त सामाजिक, न त आर्थिक या अन्य परिवर्तन नै सम्भव छ ।

यहाँनेर भन्न खोजिएको आशयमा अन्य अर्थ नलागोस् भन्ने चाहन्छु । यी सबै सन्दर्भहरुमा आग्रह होइन अनुरोध प्रस्तुत गर्न चाहेको हुँ । अति रुढ वा अति आधुनिक पनि अहिलेको समाजले अझ भनुँ आजको मानिस (‘परम्परागत सोच’ को पुस्ता र ‘आधुनिक सोच’को नयाँ पुस्ता) ले पचाउन सक्दैन । त्यसो त समाजविकासको क्रम पनि त रोक्न सक्दैन । यसकारण निष्कर्षमा भन्नुपर्ने कुरा के हो भने आजको समय सबै कुराहरुमा मिश्रणको समय भएको छ । कला, साहित्य, विज्ञान, संस्कृति, शिक्षा, संगीत यी सबै कुरामा मिश्रण छ र यही विविधताभित्र आफ्नो पहिचान खोज्नुमा बुद्धिमानी हुनेछ भन्ने लाग्छ । कुनै पनि एउटा कुरालाई मात्र मान्नु वा स्वीकार गर्नु असम्भवप्रायः छ, विविध मत र विविध सामाजिक, सांस्कृतिक मूल्यमान्यतालाई सम्मान गर्दै आफ्ना मत बनाउन (परिष्कार गर्न पनि) जरुरी छ । खानामा जाऊँ न, हाम्रा दैनिक भोजनमा दाल, भात, गुन्द्रुक, ढिँडो छ कि छैन ? जरुर छ, तर विपन्न, गरिब परिवारमा । सहरीया र सम्पन्न परिवार विदेशी स्वादका परिकारमा रमाएका छन् ।

उल्लिखित सन्दर्भलाई कोट्याउनुको कारण छ । हामीकहाँ आफ्नो पनको सन्दर्भ आजभोलि निकै उठ्ने गरेको छ । आफ्नो पन वा मौलिकता । मौलिकता भन्नु निजी वा आफूसँग मात्र भएको कुरा हो । अरु भन्दा भिन्न वा छुट्टै पहिचान भएको । मौलिकताको प्रश्न उठिरहनुमा माथि उल्लेख गरिएको ‘हराउँदै गएको वा आफूसँग नरहेको चीजप्रतिको मोह’ले भूमिका खेलेको हो कि भन्ने लाग्छ । तर के हामी अब यी दिनहरुमा मौलिकताको प्रश्नमा अल्झिएर समय र मानवीय चेतनाको विकासको गतिलाई स्थिर बनाउन वा रोक्न सकूँला र !

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

7 Users Online

सातामा धेरै पढिएको