रातो भोटो -कथा

-राजेश नताशं-
“बाबा हजुरको ‘वेडिङ्ग एनिवर्सरी’मा यै सुट लगाइस्योस् है !”

“हुन्छ छोरी । बरु मम्मी पो के लगाउँछिन् नि ?”

“ह्या, उहाँको टेन्सन किन लिइसिन्छ ? मैले अघि नै चुज गरिदिएकी छु ।”

छोरी अनुकृति हाम्रो निक्कै ख्याल राख्छिन् । हरेक क्रियाकलापहरूमा हामीलाई निर्देशित गर्छिन् । जब–जब हाम्रो विवाहको वर्षगाँठ आइपुग्छ तब यिनले विगतका सम्झनाहरू ताजा गरिदिन्छिन् । विगत दोहोरिन्छ सुखान्त चलचित्र बनेर । अनि सम्झनाहरूका ओइरो लाग्छन् यी मानसपटलमा । यसकारण विगतको सान्निध्यता वर्तमानमा रहँदा विगतलाई कहिल्यै भुल्न नसकिने रहेछ ।

अनुकृति हाम्रा लागि अमूल्य उपहार, कहिल्यै नमागेको वरदान जसलाई हामीले कदापि मागेका थिएनौ । अर्थात् एउटा अमूल्य प्राप्ति अनुकृति । ईश्वरले हाम्रो हातमा थमाइदिए । मैले निःसन्देह ग्रहण गरेँ । हामीलाई के थाहा र उनीसँगै यत्रा खुशीहरू ओइरो लाग्छन् भनेर ।

म विगत सम्झिदै वर्तमानसँग समीक्षा गरिरहेको हुन्छु । उनी दराजमा पट्याएर राखिएका लुगाफाटाहरू खोतल्न थाल्छिन् । आफ्नो सबैभन्दा पुरानो रातो भोटो निकालेरे सुम्सुमाउन थाल्छिन् । त्यो रातो भोटोले हाम्रो विगत फेरि चलायमान गरिदिन्छ । फेरि नाच्न थाल्छन् मानसपटलमा सम्झनाका रिलहरू ।

बस हिँड्न थालिसकेको थियो । म हतार–हतार गर्दै बसमा चढेँ । सायद बिहानीको ४ बजेको हुनुपर्छ । अँध्यारोको साम्राज्य हटेको थिएन । बसभित्र जेरो वाटको बत्ती बलिरहेको थियो जसको प्रकाशले मान्छेको अनुहार चिन्न पनि मुश्किल पथ्र्यो । अरू केही वास्ता नगरी म आफ्नो सिट खोज्न थाले, टिकटमा सिट नं. ७ लेखिएको रहेछ ।

सिटको झ्यालपट्टि कोही गर्लाम्म मजेँत्रो ओढेर सुतेजस्तो लाग्यो । यता बसको म्यूजिक सिस्टममा पुरानो सुमधुर हिन्दी गीत ‘आ ! कहि दूर चले जाए हम…’ झङ्कृत भइरहेको थियो । मेरो प्रिय गीत जसलाई धेरै समयपछि सुनेको थिएँ, किशोरअवस्थामा खुब गुन्गुनाउने गर्दथेँ । म सुस्तरी बसको सीटमा बसेँ । छेऊको मान्छेको निद्रा खल्बलाउन चाहिनँ ।
–०–०–०–

बस लहानमा रोक्यो यात्रीहरूलाई खाजा र चियापान गराउन । मेरो तन्द्रा खुलिसकेको थियो । कतिखेरै भुसुक्कै भएछु गीतको ध्वनिसँगै । अघि सीटमा देखेको मान्छेलाई हेरेँ । छोटो मिनिस्कर्ट र कालो लेगीज लगाएकी सायद १८ वर्ष नकटेकी युवती एउटा नवजात् शिशूलाई कोक्रोजस्तो ब्यागमा राखेर सुतिरहेकी थिई । बच्चा पनि उसको छातीमा टाँसिएर मस्तसँग निदाइरहेको थियो । मैले उसलाई अझ गहिरिएर हेरेँ । गोरो अनुहार, आँखीभौँ उखेलेर मसिनो बनाइएको, कानमा ठूला–ठूला टल्कने ‘इयररिङ्ग’ लगाएकी थिई । गालामा बेस्सरी दलिएको पाउडर र क्रिमको टाटो प्रस्टै देखिन्थ्यो ।

“लौ है ! खाजा खान सबैजना उत्रिऔं ।” खलासीको आवाजसँगै ऊ पनि जागी । मलाईँ अचम्म मान्दै एकटकले हेरी । मैले उसको बच्चातिर नजर लम्काएँ । मैले त्यसरी नियालेको देखेर ऊ मतिर हेर्दै मुसुक्क हाँसी । अनि लख काटेँ, “यो बच्चा यसकै रहेछ ।” ऊ ब्यागबाट दुधको बट्टा झिक्दै थिई । मचाहिँ बाहिर निस्किए खाजापान गर्न ।
–०–०–०–

“दाई, एकछिन यसलाई समाइदिनु न । म खाजा खाएर आउँछु, सार्है भोक लाग्या छ ।”

“ए, भैहाल्छ नि ।”

“थ्याङ्क यू”

“हैन ठिकै छ ।”

म खाजा खाएर बसभित्र छिर्नासाथ उसले यस्तो अनुरोध गरेकी थिई । मैले उसको बच्चा बोकेँ । ऊ हिल बजाउँदै बस बाहिर गई ।

बच्चा चिम्सा आँखाले मलाई निशब्द हेर्दै थियो । मैले टाउँको हल्लाउँदै उसलाई बोलाउन खोजेँ । सायद उसलाई बोक्न जानिन होला । मसिनो आवाज निकाल्दै रुन थाल्यो । मैले तत्कालै दूधको बोतल उसको मुखमा हालीदिएँ । ऊ चुप लागेर दूध पिउन थाल्यो ।
–०–०–०–

ऊ बसभित्र छिरेर आफ्नो बच्चालाई दूध खुवाउँदै थिई । बस जङ्गलको बाटो भएर दौडिरहेको थियो । बसका केही यात्रुहरू दिउँसै मस्त निद्रामा थिए । कोही–कोही झ्यालबाट चियाउँदै बाहिरको दृश्य हेरिरहेका थिए ।

“यो तपाईकै बच्चा हो ?”

“मेरो नभएर कस्को हुन्छ त ?”

“अनि यति सानो उमेरमा बच्चा ?”

“के सानो उमेरमा बिहे गर्नुहुँदैन भनेर कुनै शास्त्रमा लेख्या छ र ?”

“हैन त्यस्तो । स्वास्थ्यको हिसाबले जोखिम हुन्छ नि !”

“खै म हेल्दी नै छु त ।”

“मेरो प्रेम विवाह भएको हो । श्रीमान् काठमाण्डुमा हुनुहुन्छ । अहिले उहाँलाई भेट्न जान लाग्या ।”

“ए ठिकै छ । छोरा हो कि छोरी ?”

“छोरी हो ।”

ऊसँग अरू थप कुरा गर्न मन लागेन । उसको रुखोपनाले मलाई बोल्न विकर्षित गरायो । यस्तो सोचेँ, सबैलाई गोपनीयताको अधिकार हुन्छ, म किन त्यसलाई खोसूँ ? म एकाधिकारी मनस्थितिको मान्छे होइन । सबैको आफ्नै जीवन हुन्छ, त्यसै अनुकूल सबैलै जिउँछ पनि । मलाई किन चासो ? बरु औपचारिकतामा मात्र सीमित रहनु बेस ।

त्यसो त म एक विद्यार्थी थिए एउटा एनजिओको डाइरेक्टर भएर काम गर्दै आइरहेको थिएँ । बहिनीको विवाहको लागि आफ्नो घर आएको थिएँ । अफिसमा धेरै काम भएकोले मलाई काठमाण्डू जान दौडाहा भएको थियो ।
–०–०–०–

हाम्रो अन्तिम गन्तव्य काठमाण्डौं बसपार्कमा बस बिसायो । सबै यात्रुहरू उत्रिन लागे । एक त पुसको महिना, एकदमै जाडो थियो । ५ बजे नै अँध्यारो भइसकेको थियो । ऊ पनि बसबाट उत्रिन लागी । मैले उसको लगेज बोकिदिएर सहयोग गरेँ । एकदमै भारी थियो, खै के थियो कुन्नी ? सायद दाल, चामल हुदोँ हो । ऊ पनि बच्चालाई समातेर बसबाट झरी ।

“एकछिन बच्चीलाई समातिदिनुहोस् न प्लिज ?”

“फेरि किन नि ! मलाई हतार छ ।”

“प्लिज ! म यसको बाबालाई फोन गरेर आइहाल्छु । हामीलाई लिन आउनुहुन्छ ।”

“त्यसो भए छिटो पुगेर आऊ ।”

“खै त्यो लगेज दिनु त । एकजना आफन्तको हो, अब पुर्‍याइ दिनुपर्छ । अनि त्यहीँबाटै हजबन्डलाई फोन गर्छु ।”
–०–०–०–

साँझको साढे ७ बज्यो तर ऊ फर्किन । म बसस्ट्याण्डको विश्रामलयमा बसिरहेको थिएँ । पर्खदा–पर्खदा १० बज्यो तर पनि ऊ फर्किन । मेरो मन चिसिन थालिसकेको थियो । एउटा अनौठो घटना जस्तो लाग्दै थियो । मैले उसको हाते ब्याग खानतलासी गरेँ । ब्यागभित्र सिँगारपटारका समाग्रीहरू रहेछन् । ब्यागको भित्री गोजीमा एउटा पत्र रैछ । पत्रमा यसो भनेर लेखिएको थियो–

अपरिचित महोदय,
मलाई थाहा छैन म कस्तो पाइला चाल्न आँटिरहेकी छु । तपार्इँको काखमा रहेको बच्चा मेरो नाजायज सम्बन्धको परिणाम हो जसबाट म सधैँको लागि छुट्कारा पाउन चाहन्छु । अब म पढ्नको लागि टाढा जाँदैछु । त्यसैपनि म स्वतन्त्र हुनुपर्छ । यो बच्चीलाई जे गर्नुहुन्छ, अब तपाईको मर्जी । मेरो पापी श्रीमानको कहिल्यै भलो हुनेछैन जसले मलाई यत्रो दुःख झेल्न बाध्य गरायो । मेरो पापकर्मप्रति म लज्जित छु । कृपया मलाई खोज्ने कोशिस नगर्नुहोला ।
उही अपरिचित केटी

पत्र पढ्नासाथ म पसिनै पसिनाले भिजेँ । मेरो हृदयको धड्कन एक्कासि बढ्यो । म एक अविवाहित पुरुष, यसलाई कसरी पाल्न सक्छु ? म यसको को हुँ र ? मलाई के दायित्व ? म दोबाटोमा अल्मलिएको बटुवा जस्तो भएँ । आजकलका तन्नेरीहरू साँच्चै उत्तरआधुनिक भईसकेछन् । यो युगमा अब माया, ममता भन्ने पनि परिवर्तित भइसकेछ । अब अमर प्रेम रहेनछ, सम्झौताले डसेछ । ममता त केवल तिर्खा मेटुञ्जेलका लागि जीवित भएछ । वर्तमान र भविष्यका तीखा काँडाहरूले ममताको आकारलाई, मूल्यलाई, अस्तित्वलाई कुरुप बनाई सकेछ । मान्छे अब साँच्चै मशिन नै बनिसकेछ । चेतनालाई बोतलमा हालेर समुद्रमा बगाइदिएछ । नौं महिनासम्म गर्भमा बोकेर आखिर अन्त्यमा चट्क्कै छोडेर लापत्ता हुनु थियो भने किन पहिल्यै उसले भ्रुणहत्या गर्न सकिन ? यसरी नाटकीय रूपमा बच्चा छोड्ने योजना बनाउन सक्नेले किन यसलाई कर्म दिन सोचिन ? रोमान्सको नशाले यिनीहरूलाई अन्धो नै बनाएछ, कस्तो षड्कोणात्मक मगज । म पूर्णतः थाकेँ छद्मभेषी नियतप्रति । मेरो हृदय अग्नीकुण्डमा जलिरह्यो । यस्तो पापकर्मको भागीदार किन यो बच्ची हुने ?
–०–०–०–

“के गदै हो बाउ छोरी ? लिनुहोस् चिया”

कोठामा श्रद्धाको प्रवेश हुन्छ । उनको त्यागप्रति म सदैव कृतज्ञ छु । यदि उनी नभैदिएको भए परिवेश अर्कै हुने थियो । म त समस्या सिर्जना गर्ने पुरुष थिएँ तर उनी समस्या दूर गराउने नारी थिइन् । यिनको देन र मप्रतिको प्रेमलाई कहिल्यै भुल्नुहुँदैन ।

श्रद्धा मेरी आराध्यदेवी हुन् जसलाई म सदैव पूजा गर्छु किनकी अनुकृतिको फूलजस्तो मुस्कान रोप्ने उनी नै हुन् । ती कलिला ओठहरूमा तोतेबोलीको ध्वनि प्रसारण गराउने, मलाई जीवनको मूल्य सिकाउने, रहरहरूका बिरुवा उमाने, जीवन यात्राको लागि सपनाहरू बुन्न सिकाउने, अव्यवस्थित तृषित हृदयलाई तृप्त गराउने उनी नै हुन् अनि मायालु स्पर्शहरूद्वारा मेरो जीवन सुखमय बनाउने उनी नै हुन् । हे ! देवी तिमीसँग जन्म–जन्म सँगै रहन पाऊँ । म यही प्रार्थना गर्छु ईश्वरसँग ।
–०–०–०–

त्यसरात करिब ११ बजेसम्म उसलाई कुरेर बसिरहेँ तर ऊ अझै पनि आइन । सडकमा मान्छेहरू पातलिँदा थिए । त्यसपछि म ट्याक्सी चढेर आफ्नो डेरा बसुन्धारा आईपुगेँ बच्चीलाई साथैमा लिएर ।

अनिर्णयका घण्टीहरूले मेरो सुक्ष्म मगजलाई भ्राइब्रेट दिइरहेका थिएँ । मैले अर्थपूर्ण निर्णय लिनै सकिरहेको थिइन । कोठामा पुगेर बच्चीलाई कसरी सुताउने केही ज्ञान थिएन । सायद् अप्ठ्यारो भयो होला रुन थालिन् । मेरो चिया खाने बानी पनि थिएन, दूध राख्दिनथेँ । अझ घरबाट भर्खर आएको थिएँ यो सम्भव पनि थिएन । बच्चा रोएको सुनेर श्रद्धा मेरो कोठामा आईपुगिन् । उनले मेरो हातमा बच्चा देखेर तीनछक्क परिन् । उनी गोरखाको पालुङ्गटारबाट पढ्न भनेर काठमाण्डौं आएकी थिइन । भर्खरै स्नातक तहमा पढ्दै थिइन् । मैले सबै घटनाक्रमहरू उनलाई बताए । उनले निसंकोच मेरो विश्वास गरिन । म निकै नै हड्बडाएको थिएँ । अनि आफ्नो कोठाबाट दूध ल्याएर बच्चीलाई तताएर दिइन् । बच्ची दूध खाएर सन्तोकले सुतिन् ।
–०–०–०–

मान्छे जन्मिदा शून्य हुन्छ । समयका गतिहरूले मान्छेलाई समस्या दिन्छ अनि त्यही समस्याहरूबाट मान्छे प्रशिक्षित हुने रहेछ । मसँग नि त्यस्तै भयो । बच्चीलाई सफा गरिदिन, नुहाइदिन, तेल लगाईदिन र लिटो बनाएर खुवाउन आफैँ सिकेँ । नजानेका कुरा श्रद्धाले सिकाइन् । बच्चीको आगमनले मेरो कोठाको स्वरुप पनि परिवर्तित भयो । कोठामा कोक्रो आईपुग्यो, हर्लिक्स र स्यार्लेक्सका बट्टाहरू थपिए, सर्वोत्तम लिटोका बट्टाहरू आईपुगे । बच्चीका लागि जामा, भोटाहरू आईपुगेँ । कुनामा दराज र सोकेस ठिङ्ग भएर उभियो, ठूलो लोबेड भित्रियो । सायद श्रद्धाको गैर हाजिरीमा यस्तो परिवर्तन सम्भव थिएन होला । उनी बच्चीको लागि सपिङ गर्न जान्थिन् । म पढाई र अफिस गएको बेला ढुक्कै उनैले अनुकृतिको ख्याल राख्थिन् । मेरो लागि खाना उनलै बनाउथिन् । बच्चीलाई समयमा लिटो र स्यार्लेक्स खुवाउथिन् । आँची गरेका थाङ्नाहरू धुन्थिन्, यसरी नै उनको दिनचर्या व्यतित हुने गर्दथ्यो ।
०–०–०–

हामी त्यो दिन असाध्यै खुशी भएका थियौ । जुनदिन अनुकृतिले मलाई बाबा र श्रद्धालाई मम्मी भनेर उच्चारण गरेकी थिइन । ममताले भरिएर हामीले अनुकृतिलाई चुमेका थियौँ । त्यसपछि म एकदमै लजाएको थिएँ किनकी यो सबै सिकाउने श्रद्धा नै थिइन् । हामी त्यो क्षणलाई जिन्दगीमा कहिल्यै पनि भुल्ने छैनौं । मलाई पहिलोपल्ट आफुले गरेको निर्णयप्रति गर्व लागेको थियो । मान्छे खुसीको लागि भौतारिहन्छ तर खुसी त हाम्रो नजिकै दौडिरहेको हुने रहेछ । बस् त्यसलाई बटुल्न जान्नुपर्‍यो।

श्रद्धा एकछिन पनि अनुकृतिलाई एक्लो छोड्न सक्दिनन् थिइन् । हरपल उसैको सामीप्यमा रहन चाहन्थिन् । विदामा घर भएका बेला पनि पटक–पटक फोन गरेर छोरीको हालचाल बुझ्थिन् । म शब्दहीन हुन्थेँ उनको ममता देखेर । श्रद्धा र उसको निर्दयी आमालाई सँगै राखेर तुलना गर्थे आकाश र जमिनको फरक पाउँथे । अनि घण्टौ सोचिरहन्थेँ उसले चालेका गलत पाइलाहरूको । एउटी चरीले पनि आफ्नो अण्डाहरूलाई लुकाएर राख्छे । हरपल ती अण्डाहरूलाई आद्र्रतामा राख्छे र त्यसबाट सुन्दर बचेराहरू निकाल्छे । अनि तिनीहरूमा पखेटा नआउञ्जेल मरिमेटेर हेरचाहमा लागीरहन्छे । मुखमा चारोहरू च्यापेर ल्याएर तिनीहरूको पेट भरिहरन्छे । तर ऊ त मान्छे थिई नि ! सृष्टिमा सबैभन्दा चेतनशील प्राणी । किन ऊ एउटी चरी बन्न सकिन ? मेरो एक्कासि रिसले पारो चढ्ने गथ्र्यो । आवेगका लप्काहरूले पोल्न थाल्थे ।
–०–०–०

मैले कहिल्यै श्रद्धालाई प्रस्ताव राखिनँ । उनीले पनि त्यसबारेमा कहिल्यै खुलेर कुरा गरिनन् । अनायासै हाम्रा भावनाहरू एक भए । हाम्रा भावनाहरूले नै एकअर्कालाई प्रस्ताव गरे, एकअर्कालाई मञ्जुरी दिए, एकअर्काको प्रेमलाई स्वीकृत गरे । हामी दुवै एकअर्काको ख्याल राख्थ्यौ । हामीले यो चालै पाएनौँ, कति खेर हाम्रा प्रेमका आँकुराहरू लागिसकेछन् ।

त्यसपश्चातः हामी त्यो कोठा छोडेर अर्कै कोठामा सर्‍यौ । हाम्रा दुई मनहरू एक भए, हाम्रा दुई तनहरू एक भए, हाम्रा दुई ओछ्यानहरू एक भए । हामी सँगसँगै बस्न थाल्यौं । हाम्रो सम्बन्ध स्वर्गमै जोडिएको थियो क्यार, आफैँ कस्सिलो भएर गाँसियो । अतः परिवारलाई सबै तथ्य कुरा बतायौँ । परिवारले हामी दुवैलाई समर्थन पनि गर्‍यो । भोलि हाम्रो विवाह भएको पाँच औँ वर्षगाँठ हुँदैछ अर्थात हाम्रो ‘वेडिङ्ग एनिवर्सरी’ ।

“एई, किन यसरी एकोहोरो हेर्नुभाको मलाई ?”

“हैर्दछु कि तिमी कति राम्री भनेर ।”

“ह्या, नजिस्काउनु न ।”

“साँच्चै नत्र मरी नै जाऊँ ।”

उनले एक्कासि मेरो मुख थुनिन् । अनि आलिंगनमा बाँधिदै मसँग समर्पित भइन् । मैले उनको सुगन्धित केशराशी सुम्सुमाउँदै छोरी अनुकृतिलाई हेरिरहेँ ।

5 comments to रातो भोटो -कथा

  • रामहरी बस्याल

    राम्रो कथा प्रस्तुत गर्नुभएकोमा लेखक र पानीफोटो धन्यवादका पात्र हुनुहुन्छ ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • रामहरी बस्याल

    राम्रो कथा प्रस्तुत गर्नुभएकोमा लेखक र पानीफोटो धन्यवादका पात्र हुनुहुन्छ ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • बद्री गौतम

    मुटु छुने कथा लाग्यो । सुरुवातमा कथाकार केही जम्न नसके पनि केही क्षणमा राम्ररी आगमन गर्छन् । अन्त्य निकै उत्कृष्ट छ । कथा लेखिरहनु होला ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • बद्री गौतम

    मुटु छुने कथा लाग्यो । सुरुवातमा कथाकार केही जम्न नसके पनि केही क्षणमा राम्ररी आगमन गर्छन् । अन्त्य निकै उत्कृष्ट छ । कथा लेखिरहनु होला ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • साधुराम श्रेष्ठ

    धन्यवाद
    यो कथा कथा मात्र नभएर हकिकत पनि हो मान्छे हरु अहिले सारै निर्दयी छन् .

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

8 Users Online