धरहराभन्दा अग्लो र आइफिल टावरजस्तो बन्छ रे गणतन्त्र स्तम्भ !

ganatantra stambha photoओहो ! हेर्दा मात्रै पनि कति सुन्दर । अझ नेपालमा बन्छ रे भनेको सुन्दै पनि कानलाई रमाइलो लाग्ने । यस्तो मनमोहक बन्छ रे गणतन्त्र स्तम्भ । बाबुराम भट्टराईले आज कीर्तिपुरको गाम्खेलमा गणतन्त्र स्तम्भको शिलान्यास गर्दै भने, ‘यो गणतन्त्र स्तम्भ फ्रान्सको आइफिल टावरजस्तो हुनेछ’ अनि यसको उचाई अहिलेको धरहराभन्दा नि निकै अग्लो हुने रै छ ।

लगभग एक महिना अघि मात्र नारायणहिटी संग्राहलयमा गणतन्त्र स्मारकको शिलान्यास गरेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई त्यसको एक महिनापछि कीर्तिपुरमा फेरि शिलान्यास गर्न भ्याएछन् भन्ने नसोच्नु होला । अस्ति नै बाबुरामले शिलान्यास गरेको नारायणहिटीको चै गणतन्त्र स्मारक हो, आज शिलान्यास गरेको चै गणतन्त्र स्तम्भ रहेछ । हुन त यो गणतन्त्र स्तम्भले पनि बन्नु अगाडी नै निकै चक्कर लगाइसकेको छ । सबैभन्दा पहिले प्रचण्डले प्रधानमन्त्री भएका बेला यसलाई नारायणहिटीमै बनाउँने घोषणा गरेका थिए । तर त्यसपछि बनेका सरकारले स्तम्भ बनाउँने भन्दै निर्माण स्थान फेर्दै शिलान्यास गर्दै गर्न थाले । माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि नारायणहिटीमा ठाउँ सानो हुने भन्दै कति न ठुलो ठाउँ रोजे, रत्नपार्क । उनले रत्नपार्कमा शिलान्यासको ढुंगो गाड्नसम्म भ्याए । तर फेरि उही त हो रत्नपार्क, भिडभाँड । साँघुरो हुने भो भन्दै यसलाई ललितपुरको गुसिंगालमा बनाउने निर्णय गरियो । त्यहाँ पनि किन हो भएन । अनि फेरि तिनकुनेमा बनाउँने निर्णय भो । त्यहाँ पनि नबन्ने भन्दै अहिलेका प्रधानमन्त्रीले राजसंस्थाको सुरुवात भएकै ठाम्मा राजसंस्था अन्त्यको स्तम्भ भन्दै कीर्तिपुरमा शिलान्यास गरेका हुन् ।

कीर्तिपुरमा बन्ने भनिएको गणतन्त्र स्तम्भ धरहरा (६१.८७ मिटर) भन्दा लगभग ३३ मिटर अग्लो ९४ मिटरको हुने रहेछ । यसले करिब ५३ रोपनी जग्गा ओगट्ने रहेछ । यसको निर्माणमा मात्रै करिब १ अर्ब २१ करोड रुपैयाँ लगानी गरिने बताइएको छ । यो ९४ मिटर अग्लो टावरमा दुईवटा (वास्तवमा तीनवटा) भ्यू प्वाईन्टहरु हुन्छन् रे । २७ मिटरमा पहिलो र ६३ मिटरमा दोस्रो भ्यू प्वाईन्ट । त्यस्तै ८३ मिटरमा अर्को भ्यू प्वाईन्ट राखिने भए पनि त्योसम्म सर्वसाधारण जान नपाउँने रे । सबै भ्यू प्वाईन्टमा जानको लागि लिफ्ट राख्ने योजना गरिएको रहेछ । ती भ्युप्वाइन्टबाट एकै पटकमा १५० जनाले दृष्यवलोकन गर्न सक्छन् ।

स्तम्भको तल दुई वटा ग्यालरी पनि बनाइन्छ । पहिलो ग्यालरीमा नेपालका पर्व र साँस्कृति पर्वको बारेमा जानकारीमुलक सामग्री र दोस्रोमा चाहिं २००७ सालदेखि अहिलेसम्मका राजनीतिक घटनाक्रम सम्झाउने खालका सामग्री राखिन्छ । यो स्तम्भमा भुमिगत पार्किङको सुविधा पनि उपलब्ध हुनेछ ।

सुन्दा त निकै भव्य हुने देखिन्छ गणत्नत्र स्तम्भ । सरकार फेरिए पिच्छे स्थान फेर्दै शिलान्यास भ्याउँने परिपाटी तोडियो भने र स्तम्भ बन्न पायो भने राष्ट्रियमात्रै होइन, अन्तराष्ट्रिय रुपमा नै नेपालको शान बढ्ला । १ अर्ब २१ करोड लगानी बन्ने यो स्तम्भ हेरेर जसोतसो प्लेनको टिकट पाएर खेत बेचेर उपचार गर्न काठमाण्डौ आइपुगेका कर्णालीवासी मात्र होइन, पुलबिनाका खोलामा ज्यानको बाजी राख्दै तुइनमा तर्नेहरु, सिटामोलसम्म खान पाएर ज्यान बचेकाहरु, घरमा चर्पी बनाउँने पैसा नभएर बारीका कान्लामा छेलिनेहरु, देशमा उद्योग नभएर विदेशमा उमेर बेच्नेहरु पनि मख्ख पर्लान् । एक पटक त कसो नचड्लान् र तिनीहरु यो स्तम्भमा । हैन त !

7 comments to धरहराभन्दा अग्लो र आइफिल टावरजस्तो बन्छ रे गणतन्त्र स्तम्भ !

  • Mohan Pandit

    मलाइ भने यो गणतन्त्र स्मारक र स्तम्भहरु बनाउँने कुरा ठिक लागेन / के गणतन्त्र यसरी हो संस्थागत हुने / त्यतिका बजेटबरु कतै सही र आवश्यक ठाउँमा प्रयोग गर्ने हो भने नागरिकलाइ गणतन्त्रको सरकारले यति गर्र्यो भन्ने त हुन्थ्यो / न त यसले कुनै रोजगारी बढाउँछ / न त शान नै/ त्यति उचाइमा पुगेर जमिनमा हेर्दा पेट्रोलको लाइन र दुब्लाएका नागरिक देखिएला/ अनि यत्राको शान/

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • Rishi Pathak Gauriprem

    बरु यस गणतंत्र स्तम्भ लाई (गणतंत्र टावर) को नाम दिएर काठमांडू भन्दा पर्यटकिय स्थल पोखराको फेवाताल को बिचमा उदघाटन गरे धेरै राम्रो हुने थियो किनकी पोखरा पर्यटन को मुख्य केंद्र हो! नेपाल मा पनी केही शानका धरोहर बन्ने हो भने पर्यटन लाई आकर्षित गर्न सकिने थियो जस्तै: भारतको आगरामा ताजमहल अनि दुबई मा बुर्ज अल अरब होटल (जून समुन्द्र को बिचमा) अनि दुबईमा भएको बुर्ज खलीफा टावर भए झै पर्यटकलाई आकर्षित गरी रहेको छ तेसरी नै नेपालमा पनी पोखरा को फेवाताल को बिच मा गणतंत्र टावर बनाएर नेपालको नाम बिश्वा सामु चिनाउनु पर्दछ!

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • Jivan Ghimire

    के को यो नखरा पारेर बस्छौ । भोका पेट जनताका कसरी भर्ने सोच न बरु

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • मनोहर गौतम

    खै के खै के बाबुराम पनि

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • Maya Pradhan

    मुखमा माड छैन कोनिकेलाई घिउ

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • लिला

    वाइयात वाइयात र केवल वाइयात

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • kranti

    भीमसेन थापाले धरहरा बनाउन लगाउदा कति पैसा खर्च भएको थियो होला ? त्यतिबेला त्यो पैसा स्कुल या अस्पताल (उतिबेला बैद्यखाना) नबनाएर किन त्यो धरहरा बनाको होला ? त्यो पनि २-२ वटा | एउटा ९० सालको भूकम्पले भत्कैदियो र पो |
    मानदेवले चागुनारायण बनाएर के भयो ? के त्यसले त्यो बेला जनतालाई भात खान दियो? भक्तपुरका मल्ल राजाहरुले त्यत्रा दर्बार हरु बिना पैसा बनाएहोलान ? केशर महल, स्वप्न बगैचा पनि पैसा खर्च नगरी बनेको होइन होला | के त्यो बेला नेपाल धनि थियो? के त्यो बेला जनतालाई सबै आबस्यकताहरु पुगेको थियो होला ?
    आज हामि जे जस्ता भौतिक संरचनालाई इतिहासका धरोहर र सम्पदा भनेर गर्ब गर्छौं र बिदेशीहरुलाई देखाउछौं, ती सबै बनाउदा पैसा खर्च भएकै हुन् , जनताको गास काटिएकै हुन् | तर ती केहि नभएको भए आज हामीले इतिहास किताबमा मात्रै पढ्ने स्वस्थानीको कथा जस्तो हुन्थ्यो | देखाउन त झन् केहि भए पो देखाउने ? इतिहास रच्नुपर्छ, जगेर्ना गर्नुपर्छ, इतिहासलाइ सम्मान गर्नुपर्छ अनि भोलिको पिढीलाई देखाउन केहि छोडेर जानु पनि पर्छ |
    बिचार आफ्नो आफ्नो –

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

4 Users Online