जहाँ, जेलभित्रैबाट सभासदले तलब माग्न पाउँछन् !

shyam sundar gupta photo

फोटो साभार : कान्तिपुर

जहाँ
हिउँ परेको रातमा
जून, धरतीलाई भेट्न
हिमकणहरूको साथमा
मुस्कुराउँदै ओह्रालो झर्छ,
र धरतीलाई सर्वाङ्ग हाँसेको पाएर
झन् बढी मुस्कुराएर
आकाशमा फर्कने गर्छ,…
भुपि शेरचनले कुनैबेला नेपालको प्रकृतिको तारिफ गर्दै लेखेथे । आज उनी ज्युँदा भए नेपालीको अझ खासगरि सभासद तथा नेताहरुको प्रवृतिको बारेमा अर्को कविता लेख्ने थिए होलान् ।
जहाँ
लोकतन्त्रका कुरा गर्दै
नेता, बहिदारलाई भेट्न
आसेपासेहरुका साथमा
निर्लज्ज हुँदै बानेश्वर पुग्छ,
र नियममा प्वाल देखेर
झन् बढी मुस्कुराउँदै
मुखै नदेखाएको बैठकको
भत्ता थापी जेल फर्कने गर्छ,…..
सन्दर्भ, जेलमा रहेका श्यामसुन्दर गुप्ताले जेलबाटै संसद सचिवालयसँग तलब मागेको घटनासँग सम्बन्धित हो । व्यापारी पवन सांघाइको अपहरण अभियोगमा जेल परेका गुप्ताले संसद सचिवालयका कर्मचारीलाई फोन गरेर आफ्नो तलब बैकमा जम्मा गर्न दबाब दिएछन् ।

अपराधी सभासद गुप्ताले पुसमा नै माघको पनि तलब बुझिसकेका रहेछन् । उनलाई अब फागुन देखिको तलब चाहिएको रहेछ । एउटा सभासदलाई तलब, पीए, घरभाडा, टेलिफोन, पानी, बिजुली गर्दै लगभग ६० हजार मासिक तलब दिइन्छ । अझ भत्ताको त हिसाबै छैन । यीनै गुप्ताले पहिले सभासद नै नभएको बेलाको सम्म बैठक भत्ता समेत लगेका रहेछन् । अनि अहिले तलब खोज्न कुन आइतबार भयो र !

सुन्दै उदेक लाग्ने ।

जो अपहरण जस्तो अभियोगमा जेल परेको छ उसको सभासद पद निलम्बनमा सम्म परेको छैन । अझ, उ हाँकाहाँकी संसद सचिवालयमा फोन गरेर बैंकमा आफ्नो सेवा सुविधाको रकम जम्मा गराइदिन आदेश दिन्छ । दु:खको कुरा, यो कानुन सम्मत् होइन भनेर भन्न पनि नसकिने रहेछ । संसद सुविधासम्बन्धी ऐनमा अभियोग लागेर पनि सभासदबाट निलम्बित नभएका सभासदहरुलाई सेवा सुविधा दिने कि नदिने भनेर केही लेखिएकै रहेनछ । देख्नु भो हाम्रा टाउकेहरुको चलाखी । उनीहरुलाई पहिलै थाहा थियो यस्ता कुरामा जाकिने भनेका उनीहरु नै हुन् भनेर । किनभने साना मसिनाको त निलम्बन हुने बित्तिकै सबैकुरा सकिहाल्छ । तर उनीहरु त विशेष नागरिक, आफै परिन्छ भनेरै नियम र ऐनमा प्वालै प्वाल राखेका छन्, केहि परिहाले फुत्त बाहिर निस्किनका लागि अनेक प्वाल छन् । यसैले त भष्ट्राचारमा डिस्काउन्ट, जेल परे पनि तलब भत्ता जस्ता कुराहरु राखेका छन् ।

नत्र त सभासदै नभएको बेलाको बैठक भत्ता लाने र दिने दुबैलाई कारबाही हुनु पर्ने होइन ? जेल परेपछि स्वत: निलम्बनमा पर्नु पर्ने होइन र ? जेलमा परेको तँ अपराधीलाई ईऽऽऽ तलब भन्नु पर्ने होइन र ? तर हुँदैन । कानुन बनाउँने उनीहरु नै हुन् आफैलाई के को कानुन लाउँथे र ! उही कानुनमा प्वालै त हो ।

पहिले पनि लगेका रहेछन् तलब अरुले

-राहदानी बेचेर जेल परेका मधेसी जनअधिकार फोरमका सभासद शिवपुजन रायले पनि जेलबाट छुटेपछि एकै पटक जेलमा रहदा समयको तलबभत्ता लगेका रहेछन् ।

-लामो समय फरार भएका माओवादी सभासद गुणाखर बस्यालले पनि एकै पटक फरार भएको समयको तलबभत्ता लगेका रहेछन् ।

4 comments to जहाँ, जेलभित्रैबाट सभासदले तलब माग्न पाउँछन् !

  • प्रल्हाद बिक

    यो दलित तथा पिछडिएका वर्गहरुलाई हेपेको मात्रै हो । हैन भने अरु पार्टीकाहरुले पनि त लिएकै हुन् । अरु पार्टीका सभासदहरु लाइृ पनि त अदालतले कारवाही गर्न भनेको छ तर ति चै किन पर्दैनन् र खाली यस्तै दलित पिछडिएका र मधेसी मात्रै घानमा पर्छन् । अरुले लिन हुन्छ भने गुप्ताले पनि लिन हुन्छ । यो दास राख्ने मानसिकता हटाउँनै पर्छ ।

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • Aryan Shrestha

    लाज पचेको लबस्तरो पो रहेछ यो गुप्ता त /

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • अनन्त पोखरेल

    पुर्र्याइदिउँ जेलमै तलब नत्र अर्कैलाई अपहरण गर्ला फेरि

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

  • थेत्तरो मान्छे रहेछ छि

    कमेन्ट कस्तो लाग्यो ?: Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

4 Users Online