यो आन्दोलन, सपना र मेरा नजर

-प्रा.डा. अभि सुवेदी-
आन्दोलन सपनाधारीहरूले अनुशासनमा रहेर आफ्नो निश्चित उद्देश्यप्राप्तिका लागि सहरी क्षेत्रमा सञ्चालन गर्ने दबाबमूलक गतिविधि हो। तर, आन्दोलन दिशाहीन र हिंसापूर्ण गतिविधि भने होइन। मूलतः आन्दोलन सहर र सकडमै हुन्छ। आन्दोलनको पनि विभिन्न रूप हुन्छन् र यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । एउटा मान्छेभित्रै पनि आन्दोलन भइरहेको हुन्छ । एउटा मान्छेले आफ्नै जीवन भोगाइमा घटित कुनै घटना या दुर्घटनाको कारण असहमति महसुस गर्छ । ऊभित्रका चेतनाबीच अन्तरविरोध पैदा हुन्छ । सामूहिक रूपमा आन्दोलित हुनुका धेरै कारण हुन सक्छन् । तर, समग्रमा कुनै समूहले जब आफ्नो समाज या देशमा आफ्नो समूह दमित र सीमान्तकृत भएको बोध गर्छ, त्यस देशको सत्ता या सरकारसँग असहमति उत्पन्न हुन्छ । त्यसवेला त्यो दमित समूह आन्दोलित हुन पुग्छ ।
अहिले एकीकृत नेकपा माओवादीले सडकमा जे गरिरहेको छ, यो पनि आन्दोलन हो । किनभने, उनीहरू निश्चित अनुशासनभित्र रहेर आफ्नो उद्देश्यप्राप्तिका लागि लडिरहेका छन् । यो दिशाहीन र ध्वंसपूर्ण पनि छैन। किन आन्दोलन गरिरहेका छन् ? यसमा उनीहरूले प्रस्ट विचार अगाडि सारेका छन् । कसैलाई उनीहरूको तर्क सही लाग्ला, कसैलाई गलत । तर, हामीले नागरिक भएर हेर्दा उनीहरूसँग आन्दोलनका केही बलिया आधार छन् भन्ने लाग्छ । सेनापति प्रकरणमा राष्ट्रपतिले चालेका कदमपछि बनेको सरकार जनताप्रति अनुत्तरदायी भएकै हो । सरकारले शान्तिप्रक्रिया र संविधान बनाउनुभन्दा पनि सत्तालाई बढी ध्यान दियो । जिम्मेवार मन्त्रीहरूले गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडे । विदेशी शक्तिको हस्तक्षेप बढेर गयो । यस अवस्थामा माओवादीले ‘नागरिक सर्वोच्चता’ र ‘राष्ट्रिय स्वाधीनता’को विषयमा उठाएका मुद्दाको आधार त्यति कमजोर देखिँदैन । यी कुराको समीक्षा गर्दा उनीहरूसँग आन्दोलन गर्ने आधार देखिन्छ । तर, आन्दोलनको जुन विधि माओवादीले अपनाए, त्योचाहिँ ठीक भएन । आन्दोलनका सजिला अन्य विकल्प पनि थिए । त्यसलाई प्रयोग गरेको भए देश, जनता र स्वयं माओवादीकै लागि पनि राम्रो हुन सक्थ्यो । आन्दोलनको आधार बलियो भए पनि विधि सही भएन भने त्यसको परिणाम गलत आउन सक्छ । अहिलको विधि प्रयोग गरेर आन्दोलन गर्नु निकै हतारो भयो ।मे १ देखि सुरु आन्दोलनमा प्रत्येक दिन म सडकतिर गइरहेको छु । कुनै राजनीतिक उद्देश्यसाथ आन्दोलनकारी भएर होइन, आन्दोलनको विषयमा जानकारी लिन गएको हुँ । आन्दोलन कसरी भइरहेको छ ? सहभागी कहाँ/कहाँबाट छन् ? तिनका सपना कस्ता छन् ? यिनै जिज्ञासा बोकेर ठमेल, सुन्धारा, कलंकी क्षेत्रको आन्दोलनमा हेर्न गएँ । धेरै सहभागीसँग कुराकानी गरेँ । अहिले म एउटा निष्कर्षमा पुगेको छु- यो आमहडतालले आन्दोलनको नयाँ मानक स्थापना गरेको छ । आन्दोलनका पुराना मान्यता भत्काइदिएको छ । यो आन्दोलन सहर र सडककेन्दि्रत छ । तर, यी सबै गाउँबाट आएका मान्छे छन् । सुकिलो सडकमा गाउँले जमात उर्लिएको छ । धेरै अनुहार उदास छन् । बाहिरबाट यस्सो हेर्दा ती अनुहार थकित र निर्दोष देखिन्छन् । तर, विचारले प्रतिबद्ध छन् । उनीहरूको अठोट भयानक छ । आफ्नो कुरा नहिच्किचाई अरूसामु राख्न सक्छन् । यस्तो आन्दोलन युरोप र भारतमै पनि नभएको होइन । तर, त्यहाँ गाउँदेखि आन्दोलनकारी सहर पस्दा गाउँकै समस्या लिएर जान्थे । भारतमा गाउँले किसान आन्दोलन गर्न दिल्ली पुगे । तर, गाउँकै समस्या राखे । युरोपतिर पनि गाउँबाट आन्दोलन गर्न आन्दोलनकारी सहर गए । तर, उनीहरूले पनि गाउँकै समस्या बोले । गाउँबाट यता पसेका उनीहरूले गाउँको समस्या या मागबारे बोलेका छैनन् । अहिलेको देशको राजनीतिक माग नै गाउँलेको पनि माग बनेको छ । देशको चिन्ता छ, तिनलाई । मैलै कुराकानी गरेका धेरै सहभागी काभ्रे, सिन्धुपाल्चोक, गोरखालगायतका जिल्लाको ग्रामीण भेगबाट आएका थिए ।

सिन्धुलीबाट आएका एकजना युवालाई सोधे, ‘भाइ, तिमी किन आ’को ? उनले बडो गर्वका साथ भने, ‘जनताको अधिकार स्थापित गर्न आएको दाइ । माधव नेपालले राजीनामा नदिएसम्म हामी घर फर्किंदैनाँै ।’ उनको बुझाइमा माधवकुमार नेपालले राजीनामा दिएपछि माओवादीको नेतृत्वमा सरकार बन्छ । माओवादीको नेतृत्वमा सरकार बन्नु जनताको अधिकार स्थापित हुनु हो भन्छन् उनी । यसपछि गरिब जनताको सबै दुःख बढारिनेछ । काभ्रेबाट आएका अर्का वृद्धले पनि प्रधानमन्त्रीले राजीनामा नदिएसम्म घर नफर्किने बताए । वास्तवमा उनीहरू निकै दुःखी देखिन्थे । तर, आफ्नो दुःखभन्दा प्रधानमन्त्रीको राजीनामा महत्त्वपूर्ण रहेछ, उनीहरूलाई । गाउँबाट आएका ती मान्छेका साँच्चै ज्यूँदा सपना रहेछन् । फेरि उत्तिकै प्रतिबद्ध पनि । ती आन्दोलनकारी माओवादीको एजेन्डाप्रति प्रतिबद्ध मात्रै छैनन् । त्यो एजेन्डाभित्र गह्रुंगो सपना पनि देखेका छन् । माओवादीका ती एजेन्डा पूरा हँुदा, हाम्रा यी-यी समस्या समाधान होलान् भन्ने सपना तिनले देखेका छन् । आन्दोलनकारीको तत्कालीन राजनीतिक सपना माओवादीले भनेजस्तै अहिलेको सरकार ढाल्ने र माओवादीको नेतृत्वमा सरकार बनाउने नै हो । उनीहरूले देखेको सामाजिक सपना ‘वर्गहीन समाजको निर्माण’ नै हो । धनी, गरिब र साना, ठूला केही नभएको समाज निर्माण हुन्छ भन्नेमा उनीहरू विश्वस्त छन् । आन्दोलनकारीले आँखामा सजाएको अर्को ठूलो सपना आर्थिक पक्षसँग गाँसिएको छ । उनीहरूलाई लागेको छ, ‘माओवादीको हातमा सत्ता सञ्चालनको चाबी पुग्यो भने रातारात समृद्ध भइन्छ र, सबैखाले दुःख ढलेर जान्छ ।’ वास्तवमा यी सपना उनीहरू आफँैले देखेका होइनन्, माओवादीले देखाएका हुन् । र, उनीहरू त्यसकै पछाडि कुदिरहेछन् ।

आन्दोलनसँग उनीहरूको सपना जोडिएकाले त्यो सफल भए पनि, असफल भए पनि सपना प्रभावित हुन्छ नै । आन्दोलनको सफलता वा असफलताले बढी प्रभावित पर्ने सपनाचाहिँ राजनीतिक सपना हो । यीबाहेक आन्दोलनको सफलतासँग अन्य सपना त्यति प्रभावित बन्छजस्तो लाग्दैन । किनभने, उनीहरूको बुझाइ प्रधानमन्त्रीले राजीनामाचाहिँ तुरुन्तै दिनुपर्छ भन्ने हो । पार्टीले पनि यसरी नै प्रशिक्षित गरेर ल्याएको हुनुपर्छ, उनीहरूलाई ।

गाउँले राजनीतिक माग बोकेर आन्दोलन गर्न सहर छिर्नु यो आन्दोलनको खास विशेषता रहेको छ । यहाँनिर आन्दोलनको विनिर्माण भएको छ । उनीहरूको आन्दोलनमा सहरजस्तै रंगिन सपना जोडिएको छ । बन्दुकबाटै सत्ता पाइन्छ भनेर त्यत्तिका वर्ष सशस्त्र युद्ध गरी केही वर्षअघि मात्रै शान्तिप्रक्रियामा आएको पार्टीले त्यति अनुशासित भएर आन्दोलन गरेको छ, यसलाई महत्त्वपूर्ण पक्ष मान्नुपर्छ । अर्को कुरा, मैले धेरै आन्दोलनकारीमा भारतविरोधी मनोविज्ञान पाएँ । अहिलेको सरकारसँग जति आक्रोश छ, त्योभन्दा बढी भारतप्रति रहेछ । माओवादीले उनका कार्यकर्तामा भारतविरोधी मनोविज्ञानलाई विकसित गराएका रहेछन् । कार्यकर्तालाई यसरी भारतविरोधी गतिविधिमा उकास्दै गए वा सबैमा यस खालको मनोविज्ञान विकसित हँुदै गयो भने यसको गलत परिणाम पनि आउन सक्छ । यी कारणले दुई देशबीच युद्ध नै हुन्छ भन्ने होइन । हजारौँ नेपाली आफ्नो भविष्य खोज्दै भारत पुगेर त्यहाँ काम गरिरहेका छन्, भारतीय पनि यहाँ आएर काम गरिरहेका छन् । यस्तो खालको मनोविज्ञान विकसित हुँदै जाँदा नेपालमा भारतीय नागरिकलाई निषेध र नेपालीलाई भारतमा निषेध गर्ने वातावरण निर्माण हँुदै छ र दुई देशका नागरिकबीचको भ्रातृत्व खल्बलिन सक्छ । भारतबाट नेपाली खेदिने र नेपालबाट भारतीय खेदिने अवस्था आउन सक्छ ।

म ०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भएको थिएँ । त्यसवेलाका आन्दोलनमा सहभागीलाई नजिकैबाट हेरेको थिएँ । त्यसवेलाको आन्दोलन र अहिलेको आन्दोलनलाई तुलना गरेर हेर्दा धेरै भिन्नता पाइन्छ । त्यो सपनाको आन्दोलन थियो । यो एजेन्डाको आन्दोलन हो । यसमा सपना छैन भन्ने होइन, तर सपनाभन्दा बढी एजेन्डा छन् । त्यसवेलाका सहभागीले आन्दोलन सफल भएपछि सामन्ती युगको अन्त्य भएर नयाँ युगको सुरुवात हुन्छ र त्यो युग एकदमै स्वणिर्म हुन्छ भन्ने सपना देखेका थिए । तर, अहिलेको आन्दोलन एजेन्डाको मात्रै आन्दोलन हो । सरकार ढल्छ, अनि माओवादीको नेतृत्वमा सरकार बन्छ भन्ने आन्दोलनकारीको सपना ।

अर्को महत्त्वपूर्ण पक्ष, त्यसवेलाको जनआन्दोलनमा विभिन्न पृष्ठभूमिबाट आएका मान्छेको अभूतपूर्व मिलन थियो । धेरै पृष्ठभूमिबाट आएका मान्छेको राजतन्त्र ढाल्ने एउटै साझा उद्देश्य थियो । तर, तिनीहरूले देख्ने सपनाचाहिँ भिन्न-भिन्न थियो । त्यसवेला मैले र एउटा विद्यार्थीले देख्ने सपना फरक थियो । नेता र कार्यकर्ताले देख्ने सपना थियो । राजतन्त्रपछि यस्तो हुन्छ भन्नेमा सबैको अनुमान एउटै थिएन । यो आन्दोलनमा त्यस्तो छैन । एउटै पार्टीप्रति आस्था राख्ने समूहका धेरै मान्छेको मात्रै सहभागिता छ । र, उनीहरूको सपना पनि एउटै छ । जुन पार्टीले देखाएको हो । जनआन्दोलनमा सबै स्वतःस्फूर्त सडकमा ओर्लिएका थिए । त्यसवेला सबैमा ‘हाम्रो आन्दोलन’ भन्ने लागेको थियो । यो आन्दोलनमा आफँै आएका र ‘जानैपर्छ’ भनेर आएका दुवै छन् । आफँै आएका र जानैपर्छ भनेर आएकामा फरक हुन्छ ।
यो आन्दोलनमा गरिब, किसान तथा मजदुरको उल्लेख्य सहभागिता छ । नेपालमा जनसंख्याको ठूलो हिस्सा विपन्न र शोषितले ओगटेको छ । यो वर्गमा राम्रो प्रभाव हुनु सवल पाटो हो । अर्को सवल पाटोमा, पार्टीप्रति प्रतिबद्ध युवा जमात छ । शिक्षाबाट वञ्चित र बेरोजगार युवालाई संगठित गरेर पार्टीको काममा लगाउन सफल भएको छ, माओवादी । तर, भोलि सही समायोजन गर्दै नलैजाने हो भने ती युवा स्वयं माओवादीका लागि पनि प्रत्युत्पादक बन्ने सम्भावना रहन्छ । अर्को कुरा गाउँका अशिक्षित सामान्य नागरिकलाई पनि माओवादीले राजनीतिक चेतना भरिदिएको रहेछ । दूरदराजबाट आएका अशिक्षित नागरिक पनि राजनीतिक रूपमा सचेत भेटेँ । राजनीतिक चेतना भएपछि मात्रै सपना बाँड्ने हो । उनीहरूले सचेत बनाएर सपना बाँड्न भ्याएका रहेछन् । आन्दोलनमा सहरिया र शिक्षित अनुहारको उपस्थिति निकै कम देखिन्छ । यसमा चाहिँ उनीहरू कमजोर देखिन्छन् । सहरिया शिक्षित अनुहारको उपस्थितिले आन्दोलनमा छुट्टै महत्त्व राख्छ ।

०६२/६३ को ऐतिहासिक आन्दोलनको सफलतापछि नेपाली जनताले धेरै आपेक्षा गरेका थिए । तर, नेपाली जनताको बलिदानीबाट प्राप्त भएको गणतन्त्रलाई संस्थागत गर्ने र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारी पाएका राजनीतिक दलहरूले बाटो भुले । गणतन्त्रलाई कसरी पूर्णरूपले संस्थागत गर्ने ? शान्तिप्रक्रियालाई कसरी निष्कर्षमा पुर्‍याउने ? यी समस्यालाई भन्दा कसरी सरकार बनाउने र ढाल्ने भन्ने खेलतिर लागेर मुलुक यो स्थितिमा आइपुगेको हो । सबै राजनीतिक दल यसमा जिम्मेवार छन् । यस्तो अवस्थामा सहमतीय बाटो छाडेर बहुमतीय खेलतिर लाग्नु देश र जनताका लागि ठूलो दुर्भाग्य थियो । तर, अहिले पनि निराश भइहाल्नुपर्ने अवस्था छैन । प्रमुख राजनीतिक दल र उनका नेताले दलगत र व्यक्तिगत स्वार्थलाई त्यागेर, देश र जनतालाई केन्द्रबिन्दुमा राखोर काम गर्नुपर्छ । तत्काल मुलुकलाई निकास दिन प्रधानमन्त्रीले पनि उदार भएर राजीनामा दिनुपर्छ । र, माओवादीले पनि सबै आन्दोलनका कार्यक्रम स्थगित गर्नुपर्छ । कसले जित्ने, कसले हार्ने ? यसो गरियो भने सबैले जित्नेछन्
from : naya patrika daily

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

10 Users Online