रामेश्वर खनालको राजिनामाको भित्री पाटो

अन्ततः एक निर्भिक राष्ट्र सेवकले कालो राजनीति र पैसाका सामु कायल हुने स्थिती बन्यो । राष्ट्र, राष्ट्रियता र स्वभिमानको वकालत कसरी पैसाको अगाडी खोक्रो बनेको हुन्छ भन्ने दर्बिलो उदाहरण बनेको छ रामेश्वर खनालको राजिनामा । आवरणमा जे भनिए पनि वास्तवमा उनको राजिनामा भनिए जस्तो सरल र स्पष्ट छैन । कालो धनलाई सेतो बनाउँन तथा अकुत तरिकाले सम्पती थुपार्न सक्रिय रहेकाहरुको राजनीतिक तथा सामाजिक अभिष्ट र स्वार्थ उदागाें भएको छ । राजनीतिक सिद्धान्त र देशको कानुनलाई एकापट्टि पारेर व्याक्तिगत स्वार्थका लागि राष्ट्रघाती जुनसुकै कदम उठाउँन सक्ने भरतमोहन अधिकारी तथा चौधरी घरानियाँ जस्ताको वास्तविक अनुहार पनि पर्दाफास भएको छ । सायद, यो काण्डको सकारात्मक पक्ष हो यो । यसले राजस्व असुलीमा जुन किसिमको तरङ ल्याएको छ, यसले पक्कै पनि धेरै प्रश्न र सत्यहरुको उजागर गर्नेछ । अब यहाँ अनेक यस्ता प्रमाणहरु सामुन्ने आएका छन् जसलाई रामेश्वर खनालको राजिनामा मात्रले सम्बोधन गर्न सक्दैन । अब यी सबुतहरु यसरी सतहमा आएका छन् कि यसलाई रोक्न अधिकारीहरु र चौधरीहरुले रोक्न सक्नेछैनन् । कही न कहीबाट यी प्रश्नहरुको जवाफ आउँने पर्छ ।
कस्ता थिए रामेश्वर खनाल ?
रामेश्वर खनाल निजामती कर्मचारी मात्र होइनन् । उनले मन्त्रालयको सचिव पदमा रहेर गर्न चाहेका र गर्न अगाडी बढाएका कामहरु हेर्दा उनलाई एक सच्चा राष्ट्रसेवक मान्न सकिन्छ । यसका लागि उनको एउटा अन्तर्वाता हेरौँ ।
एसएलसीपछि मलाई काठमाडौं आएर आईएस्सी पढ्ने चाहना थियो । तर घरको आर्थिक अवस्था कमजोर भएकाले म तानसेनमै कमर्स पढ्न थालेँ । क्याम्पस तह राम्रै अंक ल्याएर पास पनि गरेँ । ममा पढाइप्रति सानैदेखि निष्ठा थियो । त्यो निष्ठाको उद्देश्य म अरूभन्दा पढाइमा अगाडि हुनुपर्छ भन्नेमात्र थियो । तर कामप्रतिको निष्ठा प्रतिस्पर्धामा अरूभन्दा अगाडि हुनुमात्र रहेनछ । कामप्रतिको निष्ठाको महत्त्व मैले भारत सरकारको छात्रवृत्तिमा भारतमा पढ्न जाँदा त्यहाँका एक गुरुको कामबाट बुझ्न पाएँ । उनी विदाको समय पनि सेवाग्राहीका निम्ति काम गर्थे । कतिपय सेवाग्राही खुसी भएर उनलाई भोज खान बोलाउँथे । तर गुरु कामप्रति यति निष्ठावान थिए कि भोज खान बोलाइएको समय कामै गर्न रुचाउँथे र थप मानिसलाई सन्तुष्टि दिन्थे ।
तिनै गुरुको संगतले मेरो कामप्रतिको निष्ठा अझ प्रगाढ तुल्याइदियो । क्रमशः म काममा मात्रै विश्वास गर्ने हुँदै गएँ । म कर्ममा सिंगो जीवन सार्थक बनाउने शक्ति देख्छु । मान्छे खुसीका लागि डिस्को जान्छन्, मधुशाला जान्छन्, तर म त्यस्ता सम्पूर्ण खुसी र सन्तुष्टि आफ्नो जिम्मेवारी सम्पन्न गर्दा पाउँछु । अर्थ मन्त्रालयको सचिव जोकोही भए पनि दैनिक १०(१२ घन्टा काम गर्नुपर्छ । कामको चाप भएको बेला शनिबार पनि म अफिसमै हुन्छु । यसरी काम गर्दा मलाई कहिल्यै दिक्क लाग्दैन । कामप्रतिको निष्ठाले मानिसलाई अम्मली नै बनाइदिन्छ । जसरी अम्मलीलाई अम्मल लिएपछि आनन्द आउँछ । मलाई पनि काम सकेपछि त्यस्तै आनन्द आउँछ ।
जुन काम गर्दा म आनन्दित हुन्छु, त्यही कामले अर्कोलाई काम गर्न सजिलो पारेको हुन्छ । म मार्फत सजिलै काम भएपछि काम गराउनेहरू पनि अवश्य खुसी हुन्छन् । कामप्रतिको निष्ठाकै कारण इमानदारी र परिश्रम मेरा लत बनेका छन् । यदाकदा इमानदारी र मिहेनतले के पाइस् भन्नेहरू पनि भेटिन्छन् । कति आफन्तले बोलाएको बेला जान सक्दिन । उनीहरू काममात्र आफ्नो देख्छस् भनेर गुनासो पनि गर्छन् । तर जति नै गुनासो आए पनि म आफ्नो जिम्मेवारीलाई भन्दा अरू कुरालाई पहिलो प्राथमिकतामा राख्न सक्दिन । मिहेनत र इमानदारी मेरा नजिकका आफन्त हुन् । यी कुरा मेरोलागि पहिले सास्ती थिए, अहिले आदत बनेका छन् । सुरुमा बोझझैं लाग्थे भने अहिले आनन्दको स्रोत अनि सुरुमा बन्धन ठानिन्थे भने अहिले प्रतिष्ठाको आधार बनेका छन् ।
म कार्यालय समयभन्दा बढी काम गर्छु, तर त्यसबापत कसैबाट आर्थिक सहयोगको आस गर्दिन । मलाई सरकारले दिएको तलब कामका लागिमात्र नभई जिम्मेवारी पूरा गर्नका लागि हो । निजी रूपमा मलाई पूरा विश्वास छ कि जिम्मेवारी पूरा गर्ने मेरो शैलीले पक्कै राम्रो प्रभाव पार्छ । निष्ठावान भएर काम गर्दा आफ्नो दक्षता पनि बढ्छ ।
मैले करिब तीस वर्ष सरकारी सेवामा काम गर्दा धेरै इमानदार, मिहेनती कर्मचारी भेटेको छु । मिहेनती कर्मचारीको संख्या वास्तवमै धेरै छ । उनीहरूको चर्चा हुँदैन, अनि उनीहरू चर्चा रुचाउँदैनन् पनि । किनकि उनीहरू मजस्तै काममै रमाउँछन् ।
म हरेकको समृद्धि र प्रगति सम्बद्ध व्यक्तिको कामप्रतिको निष्ठामा देख्छु । काम गर्दा अरूको जस्तै म पनि समस्या भेट्छु । अनि समाधानका लागि प्रयास गर्दा अवरोध पनि उत्तिकै आउँछन् । धमिला व्यवहारले मलाई पनि धमिल्याउन खोज्छन् । तर मलाई धमिलिन डर लाग्छ । डराएर बाँच्नुभन्दा रमाएर बाँच्नुमा मजा छ । मेरो कामले, मिहेनतले मलाई रमाइलो बनाउँछ । समस्या र अवरोधहरू क्रमशः आफैं पाखा लाग्छन् । मलाई लाग्छ, कामप्रतिको निष्ठा नै समग्र समृद्धि र प्रगतिको पर्याय हो । त्यसैले म सँधै कामप्रति झुकाव राख्छु । काम नै मेरो जिन्दगी हो, काम नै मेरो विश्वास हो । यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ूमेरो जिन्दगी मेरो विश्वासू बाट साभार गरिएको हो ।
राजिनामा पछि एक्लै भए त खनाल ?
रामेश्वर खनालले फेसबुकमा लेखे जस्तो स्वतन्त्रता नै मुल्यवान हुन्छ । उनले त्यही बन्धन रहित स्वतन्त्रताको चाहना गरेका छन् । सायद आमनागरिक सरह भएर यसबारे उनी बोल्न चाहन्छन् । आजसम्मको परिस्थिती नियाल्दा यसमा उनी सफल हुँदै गरेको महसुस हुन्छ । उनी अब एक्ला छैनन् । सत्यका पक्षमा उनको समुहमा मिसिनेको संख्या थपिदो छ ।
के भन्छन् उनका बारेमा आमनागरिकहरु ?
उनको बारेमा खास गरि रामेश्वर खनालको राजिनामा प्रकरणबारे नागरिकको धारणाको प्रतिनिधि लेख यहाँ प्रस्तुत गर्दैछु । यो लेख ओम थापाले लेखेका हुन् । यसलाई अनलाईनखबर डट कमबाट लिइएको छ ।
भरतमोहन अधिकारी अर्थमन्त्रीका रुपमा एमालेका ‘च्वाइस’ होइनन्, यी नेपाल उद्योग परिसंघका अध्यक्ष तथा चौधरी समूहका अध्यक्ष विनोद चौधरीका ‘च्वाइस’ हुन्। तिनै चौधरी जो एमालेको तर्फबाट संविधानसभामा सदस्य समेत छन्। अर्थमन्त्रीका रुपमा भरतमोहन अधिकारीलाई प्रस्तुत गर्न चौधरीले निक्कै पापड बेलेका थिए जतिबेला माधव नेपालविरुद्ध माओवादी सडकमा आन्दोलनरत थियो, त्यतिवेला चौधरीले एमाले र माओवादी मिलाउने रणनीतिमा गृहकार्य थालेका थिए। उनको त्यतिवेला देखिको चाहना थियो, अर्थमन्त्रालयको जिम्मेवारी भरतमोहन अधिकारीलाई। उनले दलगत आस्थाका लागि हैन राजनीतिक पहुँचका आधारमा व्यापार फैलाउन अधिकारीलाई माथि उठाउन खोजेका थिए।

तत्कालिन प्रधानमन्त्री नेपाल विरुद्धको अभियानमा लागेका खनाल र प्रचण्डलाई सँगै राखेर दर्जनौं पटक विनोदले डिनर मिटिङ गरेका थिए । थुप्रै पटक सहमतिको मस्यौदाहरु पनि तयार पारिएको थियो । भलै ती सबै सहमतिका मस्यौदाहरु पछि च्यातिए, डस्टिवनमा फालिए ।
त्यतिवेलादेखि खनाल र प्रचण्डबीचको सेतुका रुपमा काम गर्ने जिम्मेवारी चौधरीले अधिकारीलाई लगाएका थिए । देखाउनका लागि अधिकारी एमालेका नेता हुन् तर यि तिनै अधिकारी हुन जो लामो समयदेखि चौधरीका सल्लाहाकारको भूमिकामा समेत छन् । अधिकारी चौधरीका त्यस्ता सल्लाहकार हुन्, जो चौधरीको विजनेश फैलाउन यथार्थमा सल्लाह दिने होइन, त्यसलाई सरकारी र एमालेको संयन्त्रबाट पार लगाउन ‘मिडलम्यान’को भूमिका निर्वाह गर्ने सल्लाहकार हुन् । अधिकारीले चौधरी समूहबाट यहि काम गरेवापत नियमित ‘तलव’ समेत बुझ्छन्। भरतमोहन अधिकारी उपप्रधानमन्त्री तथा अर्थमन्त्री भएपछि सबैभन्दा पहिले विनोद चौधरी फुलमाला लिएर पुगेका थिए । त्यसको भोलिपल्ट देशभर सञ्जाल भएको उद्योगी व्यापारीको छाता संगठन नेपाल उद्योग वाणिज्य संघले अर्थमन्त्रीसँग भेटका लागि समय माग्दा समेत अधिकारीले समय दिएनन् ।
सतहमा विनोद चौधरी प्रष्ट छविमा देखिन्छन् तर उद्योगपति तथा व्यापारीका रुपमा विनोद चौधरीको ट्रयाक रेकर्ड राम्रो छैन। पछिल्लो समयमा समेत चौधरीका थुप्रै मुद्दाहरु अर्थमन्त्रालय र राष्ट्र बैंकसँग ‘फेसअफ’मा छन्। यी मुद्धामा अर्थसचिव रामेश्वर खनाल एउटा अवरोध थिए। जसलाई विनोद चौधरीले पन्छाउन लामो समयदेखि प्रयास गर्दै आएका थिए। यसपटक उनी भरतमोहन अधिकारीलाई नै अर्थमन्त्री बनाउन सफल भए। त्यसैकारण भरतमोहन अधिकारी अर्थमन्त्री भएपछि ढिलो वा छिटो अर्थसचिव खनालसँग अधिकारीको टकारब हुनेथियो नै। कालोधन्दा चलाउनेहरुको कठपुतली बन्दै एउटा निर्भिक कर्मचारीलाई अर्थमन्त्रीले ‘ह्युमिलेट’ गर्न थालेपछि खनाललाई त्यो सह्य भएन र फिल्मी शैलीमा पद छाडेर हिँडे। चौधरीले खनाललाई सहजै पन्छाए पनि झन्डै १० अर्ब रुपैयाँ राजस्व मार्ने व्यापारीको इरादालाई लुकाउन अर्थमन्त्रीलाई सहज छैन।
खनालको पछिल्लो मिसन थियो, राजस्व प्रशासनमा सुधार । यो सुधारको क्रममा २० यस्ता ठूला कम्पनी फेला परे जसले सरकारलाई अर्बौं रुपैयाँको भ्याट चुना लगाउँदै आएका थिए । यस्तै २० कम्पनीमा थियो, विनोद चौधरीका कान्छा भाई अरुण चौधरीले सञ्चालन गरेको अरुण कन्टिनेन्टल ।
चौधरीका सामु अर्को सिधा मुद्धा राष्ट्र बैंकसँग पनि जोडिएको छ, यही राष्ट्र बैंकमा खनाल बोर्ड मेम्वर छन् र त्यो पनि प्रभावशाली । तर उता विनोद चौधरी आफ्नो लगानी विदेशमा फैलाउन चाहन्छन्, जसको अनुमति राष्ट्र बैंकले दिंदैन । केही साता अधि चौधरीले भारत, थाइल्याण्ड, मलेसिया र खाडी लगायका मलुकमा अर्बौं रुपैयाँको लगानी सम्वन्धी योजनाहरु सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको योजनाका लागि कतारमा बस्ने छोराहरुले पैसा जुटाउन सक्दैनन् । त्यसका लागि उनले वैधरअवैध रुपमा नेपालबाटै पैसा लैजानुपर्दछ, वा नेपालबाटै लगानी गरेको पैसाबाट पैसा बनाउनुपर्दछ । किनकी यो मामिलामा चौधरी यस अघि फसिसकेका छन्, पाँच वर्ष अघि एभरेष्ट बैंकको टेकु शाखामा १८ करोड रुपैयाँ स्रोत नखुलेको रकम चौधरीका नाममा भेटियो। अनुसन्धान गर्दै जाँदा त्यो रकम चौधरीले भारतमा वाईवाई बिक्री गरेर ल्याएर राखेको पत्ता लाग्यो। कर र जरिवाना स्वरुप झण्डै पाँच करोड रुपैयाँ चौधरीले त्यो बेला तिरे। यो मुद्दा उठ्दा रामेश्वर खनाल अर्थमन्त्रालयकै राजस्वमा थिए।
दवावकावीचमा पनि खनालले चौधरीलाई कारवाही गराए, यही मुद्धा उठाउने र कारवाही गर्ने राजस्व अनुसन्धानका हाकिम सुरुमा अर्थमन्त्रालय तानिए त्यसपछि लोकसेवा आयोगमा फालिए । अर्कोतर्फ चौधरीको यही बैंक खाताका वारेमा गोप्य सूचना दिएका उनका एक कर्मचारी केही महिनापछि चौधरी समूहको सानेपास्थित विल्डिङबाट भुइँमा खसेर मरेको अवस्थामा भेटिए। नेपाल प्रहरीले यसलाई आत्महत्याका रुपमा सावित गर्यो, तर त्यतिवेला चौधरीको अवैध आम्दानीमा अनुसन्धान गर्ने अधिकृतहरु भने यसलाई रहस्मय मृत्युका रुपमा लिन्छन्। चौधरी हाउसमा भएको रहस्यमय हत्याको न्युज रोके बापत कतै नआए पनि यो मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ।
चौधरी यस अधि नै महालक्ष्मी सुगरमिलमा पनि फसिसकेका छन्। उनी महालक्ष्मी सुगरमिलकै मुद्दाका कारण धन्न कालोसूचीमा पर्नबाट जोगिएका थिए। तर मुद्दाले अदालत, संसदीय समिति, अर्थमन्त्रालय र राष्ट्र बैंकमा भने ठूलै उथलपुथल ल्यायो। यी प्रसङ्गमा पनि कहिं न कहिं राम्रोलाई पुरुस्कार दिन नसके पनि र खराब नियतका व्यक्तिलाई कारवाही गराउनमा रामेश्वर खनालको भूमिका भने राम्रै थियो। भन्नका लागि खनाल पुरक बजेटमा सन्तुष्ट थिएनन् भनिएको छ, पछिल्लोपटकको सहसचिवको सरुवामा सन्तुष्ट थिएनन् भनिएको छ, भ्याट छलिमा भरतमोहनसँग विवाद भएको भनिएको छ। जे भनिए पनि खनाल सानो तिनो विवाद झेल्न नसकेर बाहिरिएका होइनन् उनी एउटा लामो योजनाको शिकार बनाइएका हुन्।
किनकी हरेक कार्यसम्पादन मूल्यांकनमा १ नम्वरमा आउने रामेश्वर खनालले फरक राजनीतिक लाइनका तीन फरक मन्त्रीसँग सफलतापूर्वक काम गरेका छन्। खनाल त्यस्ता सचिव थिए जो या त मन्त्रीको राम्रो अवधारणामा आफै हिंड्थे नभए आफ्नो अवधारणमा मन्त्रीलाई ‘कन्भिन्स’ गर्थे । त्यसका उदाहरण हुन, डा। बाबुराम भट्टराई र सुरेन्द्र पाण्डे। खनालले डा। बाबुरामका एजेण्डामा काम गरे सुरेन्द्रलाई आफ्नो एजेण्डामा हिंडाए ।
पुरक बजेटको प्रसङ्गमा खनाल सन्तुष्ट थिएनन् होला तर उनलाई खास ठूलो समस्या नभएको प्रष्ट देखिन्थ्यो। त्यो कसरी भने उनैले खर्च नहुने कार्यक्रमको सूची हरेक मन्त्रालयका सचिवसँग मागेका थिए । जहाँ एमाले र माओवादीले पुरक बजेटका लागि १० अर्बको माग गरेका थिए, खनाल यस्ता कार्यक्रमबाटै २० अर्ब रुपैयाँ निकाल्न सक्थे । सहसचिव सरुवामा पनि उनी असन्तुष्ट थिए होलान तर त्यति धेरै होइन । किन भने आइतवारमात्र सहसचिवको सरुवा भएको थियो उनी मंगलवार बिहान पनि काम गर्ने मुडमा थिए । त्यसैले बिहान आफैले ८ बजे सहसचिवको बैठक बोलाएका थिए। सोमवार साँझ वा रातमै खनालले त्यस्तो दवावको सामना गर्नुपर्यो जसले आफैले डाकेको बैठकमा उपस्थित भएनन्, १० बजे कार्यालय आएका खनालले चार सहसचिव भेटे, केही सहसचिवलाई एसएमएस पठाए र सिंहदरवार गेटबाट ट्याक्सी लिएर बाहिरिए र टेलिफोन सम्पर्कबाट समेत बाहिरिए।

तपाईको विचार कस्तो छ ? यहाँ लेख्नुहोस् ।

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Online Users

10 Users Online